अवैध उत्खनन रोक्न अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्छ : पूर्व वनमन्त्री यादव
वीरगन्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले जिल्ला समन्वय समितिको कार्यक्षेत्रको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन्।
सोमबार वीरगन्जमा जिल्ला समन्वय समिति पर्साको चौथो जिल्ला सभालाई सम्बोधन गर्दै पूर्व वनमन्त्री समेत रहेका यादवले जिल्ला समन्वय समिति पर्साको पछिल्लो कार्यकाल समग्रमा प्रभावकारी भएको पनि बताए।
जिल्ला समन्वय समितिलाई अधिकार नदिएको गुनासोप्रति ध्यानाकर्षण भएको बताउँदै सांसद यादवले अधिकार सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
यादवले अवैध रूपमा हुने नदीजन्य वस्तुको उत्खननलाई रोक्नका लागि जिल्ला समन्वय समितिको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनले भने, 'जिल्ला समन्वय समितिले वातावरण संरक्षणका कामलाई पनि ध्यान दिन आवश्यक छ। पछिल्लो समय बढ्दै गएको जलवायु प्रदूषणको जोखिमलाई कम गर्नका लागि पनि समन्वय समितिको अहम भूमिका हुन्छ।'
उद्योगहरूलाई वातावरणमैत्री बनाउनका लागि अनुगमनलाई तीव्रता दिन उनले जिल्ला समन्वय समितिलाई सुझाव पनि दिए।
सांसद यादवले जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारले सबै स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह गरेको पनि बताए।