दलदलमा दल
राजनीति सत्तामुखी होइन, परिवर्तनमुखी बन्नुपर्छ भन्ने सत्य दलहरूले बिर्संदा नागरिकमा विस्फोट हुन थाल्यो।
राजनीतिक दल प्रजातान्त्रिक प्रणालीका मुख्य तथा अभिन्न अंग हुन्। यसका अनेकन परिभाषामध्ये निर्वाचनमा भाग लिने र जित हात पार्ने अभिप्राय राखेर गठन भएको वैचारिक शक्ति भन्नेसमेत एक हो। यस आधारमा हेर्दा चुनावमा भाग नलिने तर निर्वाचन आयोगमा दर्तामात्र भएका शक्तिहरूको हैसियत के हुने भन्ने प्रश्न उठ्न सक्छ। निर्वाचन आयोगमा झन्डै १३० दल दर्ता छन्। तीमध्ये लगभग सबैले कुनै न कुनै तहको निर्वाचनमा थोरबहुत स्थानमा प्रतिस्पर्धा गरेका होलान्। यद्यपि संसद्को निर्वाचनमा भाग लिने दलहरूमाथि मात्र चासो र सार्वजनिक सरोकार व्यक्त बढी हुने गर्छ।
अहिले अधिकांश स्थापित दल पतनोन्मुख स्थितिमा देखिन्छन्। राजनीतिक शक्ति र सफलताका लागि हिजोका स्थापित मान्यता धर्मराउँदै छन्। आफूलाई देशको सबैभन्दा ठूलो र आमजनताले रुचाएको मुख्य पार्टी भनेर प्रचारप्रसार गर्ने सबै दलको स्थिति खस्कँदै छ। संसद्मा भएका पहिलो, दोस्रो र तेस्रो कुनै पनि दलको एकजना समेत प्रत्याशी उपनिर्वाचनमा विजयी गराउन सकेनन्। नयाँ दल तथा नयाँ पात्रहरूको चामत्कारिक उदयले अब एक बहाव नै सिर्जना गर्ने देखिन्छ। हिजोसम्म जेल बसेको, यातना भोगेको, आन्दोलनको नेतृत्व गरेको, विद्रोह उठाएको कुरा सबल नेतृत्व बन्न वाञ्छनीय योग्यता मानिन्थ्यो। हामीले क्रान्ति गर्यौं, राणाशासन ढलायौं, प्रजातन्त्र ल्यायौं, गणतन्त्र स्थापित गर्यौं भन्ने दलहरूको दाबा निकै प्रभावकारी बन्थे। यी आन्दोलनमध्ये धेरै अथवा कुनै पनि आन्दोलनलाई नदेखेको, नभोगेको अथवा नजानेको पुस्ताको मतदाता संख्या अधिक भइसक्यो।
अहिलेका अधिकांश मतदातामा ती आन्दोलनको कुनै भोगाइ र प्रभाव छैन। अर्को निर्वाचनमा त गणतन्त्रको आन्दोलन पनि नदेखेको अथवा नबुझेको मतदाता नै झन्डै २५ लाख हाराहारीमा हुनेछन्। अब तत्काल नागरिकमाझ को कति लोकप्रिय छ, आफ्नो पेसा र क्षेत्रमा कति काबिल छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। आआफू संलग्न क्षेत्रमा सक्षम मानिएको र अब्बल ठहरिएको निपुण मानिस राजनीतिमा आउन् भन्ने आशा गर्छ। उनीहरूले कम्तीमा राज्यको ढुकुटीलाई आफ्नो जीवन निर्वाहका लागि दुरुपयोग गर्नु पर्दैन भन्ने मान्यता राख्छ। उनीहरू जुन क्षेत्रमा दक्ष र विज्ञ छन् उक्त क्षेत्रमा सघन प्रगति र पुनर्निर्माण गर्न सक्छन् भन्ने विश्वास बोक्छ। आममतदाताको मनोविज्ञानमा नयाँ सोच विकसित छ।
हामीकहाँ जुलुस लगाएकै र ढुंगा हानेकै कुरालाई राजनीतिक सक्रियताको मानक मान्ने भुलभुलैया बस्यो। अनि राजनीतिक अभ्यासमा रहेकै कारण सर्वज्ञान सम्पन्न हुने, नेतृत्वहरूले सबै थोक जान्ने, कसैसँग सरसल्लाह लिनुसमेत नपर्ने विचलन सुरु भयो। राजनीतिक अभ्यास युवाले गर्नुपर्छ, त्यो विज्ञता र दक्षताबाट निर्देशित रहनुपर्छ। राजनीति सत्तामुखी होइन, परिवर्तनमुखी बन्नुपर्छ भन्ने सत्य दलहरूले बिर्संदा नागरिकको निराशा बिस्तारै विस्फोट हुन थाल्यो। आधारवर्गको हितलाई शिरोपर गर्नुपर्ने अभिभारालाई नकार्दा दलहरूको अस्तित्व र अवस्थामाथि प्रश्नको आधार बन्न थाल्यो। बारम्बार परिक्षित, असफल र अनुपयोगी अनुहारहरूप्रति नागरिकमा उष्ण वितृष्णाभाव प्रस्फुटन हुन थालेको भान हुँदैछ।
अहिलेको राजनीति रिभोलुसनरी (क्रान्तिकारी) होइन, रिफर्मेटिभ (सुधारात्मक) अभ्यास र प्रयोगबाट मात्र सही बाटोमा हिँड्छ। अनुहार, दलीय अनुबन्धन, नेतृत्वको भजनकीर्तन अनि देवत्करणमा रमाउने र सत्तोसरापको बहाबमा बहनेहरूको अस्तित्व डगमगाउँदै छ। नागरिक सेवामा दत्तचित्त रहँदै नागरिक पहिलो प्राथमिकता (सिटिजन फस्ट)को अवधारणालाई अवलम्बन गर्नेहरूमात्र अनुमोदित हुने राजनीतिक चरित्र निर्माण हँुदैछ।
निर्वाचनमा टिकटचाहिँ दलले दिने हो तर मत नागरिकबाट लिनुपर्छ। अब दलले आआफूलाई बचाइराख्ने हो भने योग्य, दक्ष, युवा, योग्य व्यक्तिहरूलाई निर्वाचनमा प्रस्तुत गर्नुपर्छ। संगठन, सदस्यता, समिति, दलको प्रमुख नेता भनेरमात्र अब मत आउँदैन। सबै दल गरेर जम्माजम्मी २५ देखि ३० लाखको संख्यामा संगठित सदस्यहरू होलान्। १ करोड ८० लाख मतदातामा बाँकी १ करोड ५० लाख दलविहीन विशुद्घ मतदातामात्र हुन्। सबै दलका कार्यकर्ता अथवा संगठित सदस्यताको सम्पूर्ण योगभन्दा मतदातामात्रको अनुपात पाँच सय प्रतिशत बढी छ। उनीहरू संगठन जान्दैनन्, सदस्यता चिन्दैनन्, उम्मेदवार मन परे÷नपरे पनि मत दिनुपर्छ भन्ने दलीय ह्विपमा बाँधिदैनन्। दलको माथिल्लो तहको मान्छे उम्मेदवार भएपछि मरिमेटेर विजयी बनाउनुपर्छ भन्ने सम्झँदैनन्।
त्यस्तो उम्मेदवार पुराना अथवा नयाँ जुनसुकै दलबाट पनि हुन सक्छ। २१औं शताब्दी ‘मास बेस्ड’ राजनीतिको समय हो। राजनीतिक बहाव निर्माणमा सञ्चारको प्रभाव अधिक रहन्छ। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो पुस्तक ‘एडासिटी अफ होप’मा यसलाई राम्ररी विश्लेषण गरेका छन्। खाली एकोहोरो रटान र आत्मरति भजाएर मात्र हुँदैन। पुराना दलहरूलाई पछिल्ला निर्वाचनहरूले गतिलो सन्देश छाडेको छ।
अब दलहरू सच्चिनु पर्छ। अहिलेका शीर्ष नेतृत्वले अभिभावकीय भूमिकामात्र निर्वाह गर्नुपर्छ। सक्रिय राजनीतिमा सक्षम र युवा पुस्तालाई अगाडि सार्नुपर्छ। अहिले रहेका लगभग सबै ठूला भनिएका दलका शीर्ष नेता राजनीतिक जीवनको अन्तिम उत्तराद्र्धमा छन्। संसद् तथा पार्टीको अध्यक्षता दुवैका हिसाबले उनीहरूको यो कार्यकाल अन्तिम इनिङसमेत हो। धेरैले त स्वयं घोषणा पनि गरेका छन्। विगतकै जस्तो नेतृत्व कौशल र यथास्थितिलाई अवलम्बन गरे। अब उनीहरूको अन्त्यसँगै उनीहरूको दलको पनि अन्त्य हुने जोखिम बढ्दो छ। आआफू जाँदाजाँदै पार्टीलाई पुनर्जीवन दिन सकारात्मक र रचनात्मक अभ्यास गर्नुपर्छ।
जसरी भए पनि सरकारको अवधारणाबाट मुक्त भएर सुधार तथा सुदृढीकरणमा अर्जुनदृष्टि राख्नुपर्छ। दल तथा नेतृत्वले यसको सन्देश विचरण गर्नुपर्छ। आआफूलाई विनिर्माण गर्न विराट प्रयास लगाउनु पर्छ। दलहरू नबदलिए नागरिकले मत बदल्ने अठोट गरेको स्पष्ट देखिँदैछ। नेतृत्वले उदार हँुदै आआफू र दललाई व्यापक रूपान्तरणमा लैजानुपर्छ। त्यहाँ युवा र भिजन भएका नयाँ पुस्ताले सशक्त र सकारात्मक हस्तक्षेप गर्नुपर्छ। योग्य, दक्ष, युवा, विज्ञ, प्राविधिक तथा पेसागत अनुभवले खारिएका मानिसलाई राजनीतिमा आकर्षित गर्नुपर्छ, प्राथमिकताका साथ स्वागत गर्नुपर्छ। सक्षम मानिसको समूहलाई नै आकर्षित गर्दै सबल परिमाण दिनुपर्छ। सिद्धान्त र नारा होइन, सत्यता र नागरिकमैत्री पारा प्रदर्शन गर्नुपर्छ। दलहरूमाथिको विश्वासमा गएको पहिरोलाई रोक्ने एउटै अचुक उपाय भनेको मेरिटोक्रेसीको अवलम्बन मात्रै हो।