नेपाल सम्झँदै पूर्वब्रिटिस गोर्खा

नेपाल सम्झँदै पूर्वब्रिटिस गोर्खा
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध र नेपालीले त्यही देशका लागि विभिन्न अन्तर्राष्ट्रिय मोर्चामा बलिदानी गरेकाले त्यो देशको भ्रमण गर्नु स्वाभाविकै हो। बेलायतले सयौं वर्ष पुरानो गर्विलो इतिहास त बनाएको छ नै, त्यसमाथि वर्तमानमा पनि उसले विकास, समृद्धि, विज्ञान तथा प्रविधिका क्षेत्रमा धेरै ठूलो फड्को मारेको छ। मुलुकले विकास र समृद्धिका क्षेत्रमा गरेको प्रगतिसँगै त्यहाँ बसोबास गर्नेका लागि शिक्षा र स्वास्थ्य क्षेत्र लक्षित गरी उपलब्ध गराउने सेवा सुविधाका कारण धेरै देशका नागरिक बेलायतलाई कर्मथलो बनाउन लालायित हुन्छन्।

नेपालीका लागि पनि बेलायत शिक्षा तथा रोजगारीका लागि प्रमुख आकर्षक गन्तव्य हो। तर बेलायत भ्रमण र त्यहाँ भेटिएका वृद्ध पूर्वबृटिस गोर्खा सैनिक र उनीहरूका परिवारसँगको भेटपछि भने बेलायत हेर्दा जति आकर्षक छ, त्यहाँको बसाइ त्यति सहज छैन भन्ने कुरा आभास भयो। अहिले पनि कैयौं पूर्वगोर्खा सैनिकका परिवार नेपालबाट बसाइँसराइ गरेर बेलायत जान प्रयासरत छन् र गइरहेका पनि छन्। तर त्यहाँ पुगेर केही समय बसोबास गरिसकेपछि उनीहरूले सँगाल्ने अनुभव भने सुखद देखिँदैन। बेलायत भौगोलिक हिसाबले पनि निकै चिसो ठाउँ विशेषगरी वृद्ध अवस्थामा उनीहरूले त्यहाँ भोग्नु परेका कष्टकर जीवनले उनीहरूको चाहना नेपालै फर्किने र आफ्नै माटोमा प्राण त्याग्ने हुन्छ।

बेलायतका चोक, पार्क र गल्लीहरूमा भेटिने धेरै पूर्वब्रिटिस गोर्खा र उनीहरूका परिवारका वृद्ध सदस्यहरूको दैनिकी घाम झुल्केपछि बिहान उठेर लठ्ठी टेक्दै पार्कमा जाने, दिनभरि त्यही बस्ने र साँझ परेपछि त्यहाँको सरकारले उपलब्ध गराएको सरकारी भवनको कोठामा गएर आराम गर्ने हुन्छ। उनीहरूलाई बेलायत सरकारले दिने सेवासुविधामा रहेको विभेद, भाषाको समस्या र परिवारका सदस्यसँग छुट्टिएर बस्नुको पीडाले उनीहरूको जीवनलाई थप कष्टकर बनाइदिने गरेको छ। बेलायतमा भेटिएका अधिकांश पूर्वगोर्खा सैनिक तथा उनीहरूका वृद्ध परिवारले आफन्त र परिवारका सदस्य नेपालमा रहेकाले बेलायतको बसाइ निकै कष्टकर हुने गरेको अनुभव सुनाउने गर्छन्।

नेपाली गोर्खाहरूका परिवारहरूको अनुभव सुनेपछि यसबारेमा थप प्रस्ट हुन गैरआवासीय नेपालीको हकहितका लागि काम गरिरहेको संस्था एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर गोर्खा सैनिकका परिवार ब्रिटिस सरकारप्रति असन्तुष्ट रहेको बताउँछन्। ब्रिटिस सरकारले उनीहरूलाई परिवारसँग छुटाएर राखेको उनको भनाइ छ। उनी ब्रिटिस सरकारले गोर्खा सैनिकका परिवारलाई बेलायतमा जस्तै सुविधा दिएमा उनीहरू नेपालमै बस्न चाहेको पनि बताए। उनीहरूले नेपाल आउँदा एक पटकमा जम्मा २८ दिनको मात्र बिदा पाउने गरेको र एआरएनले त्यसलाई बढाएर ९० दिन बनाउन पहल गरिरहेको जानकारी गराए। त्यहाँका नेपाली गोर्खा सैनिकका परिवारलाई पनि बेलायती नागरिकसरह स्वास्थ्य सुविधा उपलब्ध गराउन पहल गरिरहेको, नेपालका सातै प्रदेशमा हेल्थ क्याम बनाउन लागेको र वृद्धवृद्धाहरूका लागि भाषाको समस्या हुने भएकाले दोभाषेको कामदेखि स्वास्थ्य समस्या गाँस, बास, कपासलगायत आधारभूत कुरामा देखिएका समस्या समाधानमा पनि पहल गरिरहेको बताए।

एनआरएन यूकेका पूर्वअध्यक्ष तथा सामाजिक कार्यमा सक्रिय योगेन क्षेत्रीले पनि नेपाली गोर्खा सैनिकका वृद्ध परिवार बाध्यताका कारणले मात्र बेलायतमा बसिरहेको बताए। उनीहरू स्वास्थ्य सेवा तथा बेलायत सरकारबाट पाउने अन्य सुविधाका लागिमात्र नेपालबाट बेलायत आएको तर त्यत्तिले मात्रै बेलायतमा जीविका चलाउन सहज नभएको उनी बताउँछन्। ‘यदि नेपालमा पनि सुविधा दिइयो भने अवश्य पनि उहाँहरू नेपालमै फर्कन चाहनुहुन्छ,’ उनी भन्दै थिए। बेलायतमा थोरै संख्यामा मात्र गोर्खा सैनिकका परिवार सबै परिवारसँगै बस्ने तर धेरैजसो परिवार वृद्ध अवस्थामा एकल रूपमा बेलायतमा बसिरहेको उनीहरूले भाषा र स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेको एनआरएनएका पूर्व तथा वर्तमान पदाधिकारी बताउँछन्। त्यसैले उनीहरूको अन्तिम चाहना नेपाल फर्केर परिवारसँग बस्ने र अन्तिम श्वास नेपालमै फेर्ने हुने गरेको उनीहरू बताउँछन्।

जीवनको महत्त्वपूर्ण समय बेलायतको माटोको रक्षाका लागि योगदान गर्ने पूर्वगोर्खा सैनिक र उनीहरूका परिवारलाई उपलब्ध गराउने सेवासुविधामा बेलायत सरकारबाट हुँदै आएको विभेद आफैंमा दुःखद् हो। पूर्व गोर्खाहरूले उठाउँदै आएका माग सम्बोधनका लागि बेलायत सरकारसँग पहल गर्ने विषयमा नेपाल सरकारले पनि पटकपटक प्रतिबद्धता जनाउँदै आएको छ। तर त्यसको समाधानका लागि न त बेलायत सरकारले चासो दिन्छ न नेपाल सरकारले नै पहल गरिदिन्छ। जसले गर्दा बेलायतमै बसेर पनि उनीहरूले सहज जीवनयापन गर्न पाइरहेका छैनन्। त्यसका लागि नेपाल सरकारले बेलायत सरकारसँग त्यहाँ रहेको पूर्वगोर्खाहरूले भोगिरहेको समस्या समाधान र उनीहरूको बाँकी जीवन सहज बनाउन पहल गर्न आवश्यक देखिन्छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.