लागुऔषधविरुद्ध मोरङको ग्रामीण क्षेत्रमा प्रहरीको ‘एक्सन’: पक्राउ पर्दै कारोबारी र दुर्व्यसनी
विराटनगर : मोरङको ग्रामीण क्षेत्रमा लागुऔषध एवं प्रतिबन्धित औषधिको कारोबार र दुर्व्यसनी रोक्न प्रहरी ‘एक्सन’मा उत्रिएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा लागुऔषधको कारोबार एवं दुव्र्यसन बढेर गएको निस्कर्षसहित प्रहरीले सक्रियता बढाएको हो ।
भारतसँगको खुला सीमाको फाइदा उठाउँदै कारोबारीले नेपालमा लागुऔषध र प्रतिबन्धित औषधि भित्राउने गरेका छन् । सुरक्षाकर्मीलाई छल्दै त्यसलाई गाउँ लगेर सेवनकर्तासम्म पुर्याउने एवं बिक्री गर्ने गरिएको पत्ता लागेको छ ।
ग्रामीण क्षेत्रमा पछिल्लो समय लागुऔषध एवं प्रतिबन्धित औषधि छ्यापछ्याप्ती फेला पर्न थालेका छन् । दुव्र्यसनीको संख्या पनि बढेर गएको छ । लागुऔषध एवं प्रतिबन्धित औषधिको सेवनका कारण ग्रामीण क्षेत्रमा अपराधिक घटनामा बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी ‘एक्सन’मा उत्रिएको हो । उत्तरी लेटाङको ग्रामीण क्षेत्रमा अहिले प्रहरीले विशेष अप्रेशन चलाइरहेको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) विकाश थपलिया अप्रेशन इन्चार्ज हुन् । औषधिजन्य वस्तुसँग जोडिएको अवैध धन्दा नियन्त्रण गर्न थपलिया नेतृत्वको टोली अहिले ग्रामीण इलाकामा केन्द्रित बनेको छ । प्रहरी सक्रियतासँगै लागुऔषध तथा प्रतिबन्धित औषधिको कारोबार र दुव्र्यसनमा संलग्न पक्राउ पर्न थालेका छन् । घरघरमा लागुऔषध तथा नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि फेला पर्ने गरेको छ ।
लागुऔषध गाँजा र प्रतिबन्धित औषधिसहित बुधबार बिहान ५ जना लेटाङबाट पक्राउ परेका छन् । इन्सपेक्टर थपलियाको टोलीले विभिन्न व्यक्तिका घर खानतलासी गर्दा लागुऔषध र प्रतिबन्धित औषधि फेला परेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले बिहान ७ बजेतिर विभिन्न घरमा छापा हानेको थियो ।
लागुऔषध र प्रतिबन्धित औषधिसहित लेटाङ नगरपालिका–८ का २० वर्षीय सुवास कार्की, २५ वर्षीय लोकेश राई, लेटाङ–९ का २० वर्षीय दिवाहाङ राई, पवन बाग्दास र २६ वर्षीय अभिषेक दर्जीलाई पक्राउ गरिएको जानकारी दाहालले दिए । उनका अनुसार सुवास र लोकेशको घरबाट प्रतिबन्धित औषधि स्पासपेन र ट्रामाडोलका १०–१० पत्ता खोल तथा १० ग्राम गाँजा बरामद भएको छ ।
दिवाहाङ र पवनको घारबाट स्पासपेन २ सय र ट्रामाडोल २ सय ट्याब्लेट तथा आधा किलोग्रामभन्दा बढी गाँजा बरामद भएको जानकारी उनले दिए । त्यस्तै,घरबाट ट्रामाडोल ४ सय ४५ र स्पासपेन ५ सय ५३ ट्याब्लेट बरामद भएपछि लेटाङ–९ का २६ वर्षीय अभिषेक दर्जीलाई पनि पक्राउ दाहालले बताए ।
गत शनिबार पनि लेटाङका २ वटा घरमा प्रहरीले छापा हानेको थियो । बिना इजाजत प्रतिबन्धित औषधि लुकाएर एवं संचय गरेर घरमा राखेको पाइएपछि लेटाङ–३ का तेजनकुमार राई पक्राउ परेका थिए । प्रतिबन्धित औषधिको कारोबारमा संलग्न लेटाङ–३ का श्यामकुमार लिम्बू फरार बनेका छन् ।
प्रतिबन्धित औषधिसहित पक्राउ परेकालाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि औषधि व्यवस्था विभागको जिम्मा लगाउने गरेको छ । लागुऔषधसहित पक्राउ परेकालाई लागुऔषध ऐनअन्तर्गत कारबाही अघि बढाउने गरिएको जानकारी डीएसपी दाहालले दिए । उनका अनुसार प्रतिबन्धित औषधि मिसाएर लागूऔषधका रूपमा प्रयोग गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ । लागुऔषधका दुव्र्यसनीले ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लागाएको हो ।
औषधिजन्य वस्तुको अवैध ओसारपसार,बिक्री तथा सेवन नियन्त्रणका लागि ग्रामीण क्षेत्र केन्द्रित अभियान चलाइएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । उनका अनुसार शून्य सहनशीलताको नीति लिएर सुरु गरिएको अभियानले ओसारपसार र कारोबार नियन्त्रण गर्न तथा समाजलाई दुव्र्यसनमुक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लागुऔषधको दुव्र्यसनले व्यक्तिगत स्वास्थ्यसँगै धन सम्पत्तिसमेत सखाप पारिहेको र अपराधिक घटना पनि बढाउने गरेको एसपी पोखरेल बताउँछन् । दुव्र्यसनले व्यक्ति,परिवार र समाजमा पारिरहेको नाकारात्मक असर रोक्न तथा लागुऔषध नियन्त्रण गर्न प्रहरी आक्रामक बनेको जानकारी उनले दिए । ‘प्रहरीले समाजका सबै तह र तप्काको सहयोग खोजिरहेको छ,’उनले भने,‘बेलैमा सबैले ध्यान नदिए लागुऔषधले निम्त्याउने सम्भावित समस्या कल्पनाभन्दा बाहिरको विषय हो ।’
अपराधिक घटनामा दुव्र्यसनीको संलग्नता हुने गरेको बताउँदै एसपी पोखरेलले दुव्र्यसन र यसको जालोमा युवापुस्ताको संलग्नता धेरै पाइने उल्लेख गरे । सञ्जाल तोड्न लागुऔषधलाई लक्षित गरेर ग्रामीण क्षेत्र केन्द्रित अभियान चलाइएको उनको भनाइ छ । कारोबार र सेवन हुने सम्भावित स्थानको पहिचान गरेर नियन्त्रणमा प्रहरीले भूमिका खेलिरहेको जानकारी पोखरेलले दिए ।