उपराष्ट्रपतिले गरे बुढानीलकण्ठ धर्मशालाको उद्घाटन
काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले काठमाडौंको बुढानीलकण्ठ-३ मा निर्मित धर्मशालाको उद्घाटन गरेका छन्। भारत सरकारको करिब ५ करोड अनुदान सहयोगमा सो धर्मशालाको निर्माण भएको हो।
नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत यो परियोजनाको निर्माण भएको हो। २०७२ सालको भूकम्पले क्षति पुर्याएका सम्पदाहरूको संरक्षण एवं पुनर्निर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिका बमोजिम बुढानीलकण्ठ मन्दिरको पुनर्निर्माण भएको हो।
नवनिर्मित साढे तीन तल्ले धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउने तीर्थयात्रीलाई सेवा प्रदान गर्नेछ। यस परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहिआएको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यमा नेपाल सरकारले गरेको प्रयासको कदर गर्ने रहेको भारतीय दूतावासले जनाएको छ।
समारोहमा बुढानीलकण्ठ मन्दिरका मठाधिस स्वामी निगमानन्द, सांसदहरू गगन कुमार थापा र प्रदिप पौडेल, भारतीय राजदूतावास, काठमाडौंका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा. शिवराज पण्डितलगायत सहभागी थिए।
भारत सरकारले नेपालको सात जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रविबद्धता गरेको छ। यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य सुविधा पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको छ।