प्रसारण लाइन नबन्दा, बिजुली आपूर्तिमा समस्या
विद्युत् उत्पादन नभएरभन्दा पनि प्रसारण लाइन नबन्दा बिजुली आपूर्तिमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
काठमाडौं : समयमै दुई प्रसारण लाइन नबन्दा विद्युत् प्रवाह अवरोध छ। वर्षायाममा विद्युत् फालाफाल हुँदा पनि बत्ती जाने, उद्योगमा नियमित आपूर्ति नहुने समस्या बढ्दो छ।
विद्युत् उत्पादन नभएरभन्दा पनि प्रसारण लाइन नबन्दा बिजुली आपूर्तिमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। हेटौंडा–ढल्केवर–इनरुवा ४ सय केभी, हेटौंडा–भरतपुर–बदघाट २२० केभी आयोजना तीन वर्षमा पूरा हुनुपर्नेमा दशकसम्म पनि निर्माण सम्पन्न भएको छैन।
लामो समयदेखि यी प्रसारण लाइन निर्माण सम्पन्न हुन नसक्दा प्रणालीमा समस्या देखिएको प्राधिकरण प्रसारण लाइन प्रमुख दीर्घायु श्रेष्ठ बताउँछन्।
अहिले पूर्व र पश्चिम जोड्ने पुरानो लाइनबाट करिब ८० मेगावाट मात्र विद्युत् प्रसार भइरहेको छ। अहिलेको नयाँ लाइन बढी क्षमताको छ। करिब तीन सय मेगावाट बिजुली प्रसार हुन सक्छ। यस्तै, ढल्केवरमा आएको बिजुलीलाई पश्चिम लैजानका लागि पनि चार सय केभीको लाइन आवश्यक छ। अहिले हेटौंडाबाट पश्चिम जाने १३२ केभीका लाइनहरू मात्र भएकोले यस क्षेत्रका उद्योगहरूमा नियमित बिजुली जान सकिरहेको छैन। एकातिर बिजुलीको नियमित आपूर्ति हुन सकेको छैन भने अर्कोतिर निजी प्रवद्र्धकको सबै उत्पादन किन्न सक्ने अवस्थामा प्राधिकरण छैन।
- ३ वर्षमा सक्नुपर्ने प्रसारण लाइन दशकमा पनि बनेनन्
- निर्माण समयमा नभएपछि ऋण लगानीकर्ता विश्व बैंक आयोजनाबाट बाहिरियो
दुवै आयोजना विश्व बैंकको ऋण र नेपाल सरकारको लगानीमा निर्माण थालिएको हो। जग्गा अधिग्रहण, मुआब्जा विवाद, वनको समस्या र मुद्दा, मामिलाका कारण तीन वर्षमा सकाउनुपर्ने आयोजना वर्षौंसम्म पनि बन्न सकेका छैनन्। विवादका कारण निर्माणको समय लम्बिएपछि ऋण लगानीकर्ता विश्व बैंकले सन् २०२१ बाट नै यी आयोजनाबाट हात झिकिसकेको छ।
विश्व बैंकले करिब १३८ मिलियन अमेरिकी डलर (करिब १६ अर्ब रुपैयाँ) सहुलियत ऋण दिएको थियो। विश्व बैंकसँगको सम्झौताअनुसार ठेक्का लागेको तीन वर्षभित्र निर्माण सम्पन्न गर्नु पथ्र्यो। हेटौंडा–ढल्केवर–इनरुवा सन् २०११ मा र हेटौंडा–भरतपुर–बर्दघाट सन् २००९ देखि ठेक्का लागेका आयोजना हुन्। तर, एक दशक बितिसक्दा पनि काम सक्नुको साटो अझै ढिलाइ भएको कारण देखाउँदै विश्व बैंकले हात झिकेका हो।
हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी
देशभित्र प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारत विद्युत् व्यापारका लागि हेटौंडा–ढल्केवर–इनरुवा प्रसारण लाइनलाई प्राथमिकतामा राखिएको छ। यस प्रसारण लाइन ठूलो क्षमताको मुख्य ट्रंकलाइन भएको आयोजना प्रमुख श्यामकुमार यादव बताउँछन्। नेपालको लागि लाइफ लाइनको रूपमा रहेको यो आयोजना मुज्जफपुर जोड्नेदेखि वीरगन्ज–विराटनगरसम्म पनि विद्युत् प्रवाहका लागि मुख्य लाइन भएको यादवले बताए।
अमेरिकी अनुदानमा बन्ने एमसीसी आयोजना पनि यही प्रसारण लाइनमा जोडिने उनी सुनाउँछन्। कुल ७ सय ९२ टावर चाहिने यो प्रसारण लाइनको काम अहिले अघि बढेको छ। विगतमा चार वर्षभन्दा बढी समयदेखि मुद्दा खेपिरहेको यो आयोजना अहिले अघि बढिरहेको प्रमुख यादव बताउँछन्। अहिले तार तान्ने काम सुरु भएको छ। १० जिल्लाबाट जाने यो प्रसारण लाइनमा सर्लाहीका ८ टावर र मकवानपुरको २५ टावरमा अझै स्थानीयको अवरोध छ। सर्लाहीको जियाजोर क्षेत्रमा आठ टावरमा स्थानीयले काम गर्न दिएका छैनन्। हेटौंडाको थाना भर्याङदेखि कुख्रेनी खोला हुँदै बेतखोल्सीसम्मका ११ टावरमा स्थानीयले अवरोध गरेका छन्। त्यसैगरी हेटौंडाको हटिया क्षेत्रमा १४ टावर निर्माणमा रहेको अवरोध पनि हट्न सकेको छैन।
स्थानीयले प्रसारण लाइनको बाटो परिवर्तन गर्न भने पनि त्यो सम्भव नभएको आयोजना प्रमुख यादव बताउँछन्। आयोजनाको ठेक्का भारतको एन्जेलिक इन्टरनेसनल र जर्मनीको एलटीडी कम्पनीको ज्वाइन्ट भेन्चरले पाएको छ। ३० महिनामा सक्नुपर्ने गरी ठेक्का लागेको यो आयोजनामा जंगल काट्ने आदेशका लागि नै करिब ६–७ वर्ष कुर्नु परेको थियो। त्यसपछि अदालती प्रक्रियाका कारण ४ वर्ष रोकिएको थियो। अब काम अघि बढेको छ।
ढल्केवरबाट इनरुवा खण्डमा कुनै अवरोध नभएकोले आगामी पाँच महिनामा चार्ज गर्ने योजना आयोजनाको छ। यसले पूर्वाञ्चल क्षेत्रमा देखिएको बिजुलीको समस्या समाधान हुने बताइएको छ। इनरुवा–हेटौंडा खण्ड पनि करिब डेढ वर्षमा सम्पन्न गर्ने योजना लिइएको छ।
हेटौंडा–भरतपुर २२० केभी २ सातामै चार्ज
हेटौंडा–भरतपुर–बर्दघाट लाइनको एउटा सर्किट चार्ज हुने प्रक्रियामा छ। अहिले प्रसारण लाइनको यो खण्डको टेस्टिङको काम अन्तिम चरणमा रहेको आयोजना प्रमुख सन्तोष साह बताउँछन्। यो खण्ड चार्ज हुनेबित्तिकै करिब १६० मेगावाट भरतपुर–हेटौंडा बिजुली प्रसारण गर्न सकिन्छ। भरतपुर–बर्दघाट खण्डको काम पनि भइरहेको छ।
दुईदेखि तीन महिनाभित्र सम्पन्न हुने भनिएको छ। यो खण्डमा दुम्कीबासको दुई टावर दुई वर्षदेखि रोकिएकोमा अब काम सुरु हुँदैछ। दुई टावरमध्ये एउटा टावर ठड्याउने काम भइसकेको छ। अर्को टावर पनि निर्माण हुँदैछ। टावर निर्माण सकिएको १५ दिनभित्र तार तान्ने काम हुन्छ। यो सकिएपछि एउटा सर्किट भरतपुरबाट बर्दघाट हुँदै हेटौंडासम्म चार्ज हुन्छ। २१ महिनामा निर्माण सक्ने गरी आयोजना ठेक्का लागेको भए पनि करिब १४ वर्ष हुँदा पनि सम्पन्न हुन सकेको छैन।