सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर बाबुछोराको मृत्यु
दाङ: दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट प्रवाह हुँदा मृत्यु भएका दुवैजनाको सनाखत भएको छ। मृत्यु हुनेमा बाबुछोरा रहेको प्रहरीले जनाएको छ।
रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर ४ का ७२ वर्षीय बालराम डाँगी र उनका छोरा ४२ वर्षीय टोपलाल डाँगीको मृत्यु भएको सल्यान प्रहरीले पुष्टि गरेको छ। सोही घटनामा सल्यान छनेत्री गाउँपालिका -६ लान्तीका ३४ वर्षीय महेन्द्र ओली गम्भीर घाइते भएका छन्।
राप्ती राजमार्ग दाङअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका- ३ चोरखोलामा रा १ ख ८३४ नम्बरको गुडिरहेको बसमा ३३ केभी प्रसारण लाइनको तारले छुदा करेन्ट लागेको थियो।
१८ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको सल्यानको कपुरकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।