एसईईको नतिजामा सुधार, जीपीएमा देखिए विद्यार्थी अब्बल

एसईईको नतिजामा सुधार, जीपीएमा देखिए विद्यार्थी अब्बल

काठमाडौं : शैक्षिक वर्ष २०७९ माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा स्तरीकृत अंक (जीपीए)को हिसाबमा विगतको भन्दा अब्बल देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईई नतिजाअनुसार २२ हजार ४ सय ७५ जना विद्यार्थीले सर्वोत्तम अर्थात् ३.६० देखि ४.० जीपीए ल्याउन सफल भएका छन्। यसपटक कुल विद्यार्थी संख्या ४ लाख ८४ हजार ९ सय ९३ जना विद्यार्थीमध्ये ४.६३ प्रतिशतले उक्त जीपीए ल्याउन सफल भएका हुन्। जबकि गत वर्ष कुल संख्यामध्ये १.९४ प्रतिशतले उक्त जीपीए ल्याउन सफल भएका थिए। 

यसैगरी माथिल्लो जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९ जनाले प्राप्त गरेका छन्। यो कुल संख्याको ११.३६ प्रतिशत छ। यो संख्या २०७८ को नतिजामा कुल संख्याको ८.४० प्रतिशत थियो। यसपछि २.८० देखि ३.२० सम्म जीपीए ल्याउने विद्यार्थी संख्या ७२ हजार ३ सय ६२ छन्। यो कुल संख्याको १४.९२ प्रतिशत हो। सो जीपीए गत वर्षकै हाराहारीमा छ। गत वर्ष कुल विद्यार्थीको १४.१० ले सोही आधारमा स्तरीकृत अंक ल्याएका थिए। ०.८ देखि १.२ सम्म जीपीए ल्याउने २ हजार २ सय विद्यार्थी छन्। यस्तै, ३८ हजार ७ सय ७० विद्यार्थीले १.२ देखि १.६ सम्म जीपीए ल्याएका छन्। १.६ देखि २ सम्म जीपीए ल्याउने ८८ हजार ४ सय ४७, २ देखि २.४ सम्म जीपीए ल्याउने विद्यार्थी संख्या १ लाख २ हजार २ सय ९३ जना छन्। यसैगरी २.४० देखि २.८० सम्म जीपीए ल्याउने विद्यार्थी संख्या ८९ हजार ३ सय ३१ जना छन्। यो कुल संख्याको १८.४२ प्रतिशत हो। यस्तै क्रमशः १ लाख २ हजार २ सय ९३ जनाले २ देखि २.४० जीपीए ल्याउन सफल भएका छन्। यो कुल संख्याको २१.०९ प्रतिशत हो। सबैभन्दा बढी विद्यार्थीले सन्तोषजनक अर्थात् सी प्लस ल्याएका छन्। 

यस्तै, ८८ हजार ४ सय ४७ जनाले १.६० देखि २ जीपीए अर्थात् सी ग्रेड (एसेप्टेवल) प्राप्त गरेका छन्। यो कुल संख्याको १८.२४ प्रतिशत हो। यस्तै, ३८ हजार ७ सय ७० जनाले १.२० देखि १.६० सम्मको जीपीए ल्याएका छन्। यो कुल संख्याको ७.९९ प्रतिशत हो। सबैभन्दा कम अर्थात् २ हजार २ सय विद्यार्थीले ०.८० देखि १.२० जीपीए ल्याएका छन्। 

यो कुल विद्यार्थीको ०.४५ प्रतिशत हो। यो आधारभूत उपलब्धि स्तर अर्थात् डी ग्रेड हो। यसपछि १३ हजार ९ सय ९२ विद्यार्थी भने अवर्गीकृत (नट ग्रेडेड) भएका छन्। यो भनेको ३५ प्रतिशतभन्दा कम ल्याउनहरू हुन्। यो कुल संख्याको २.८९ प्रतिशत हो। 

यसपटकको एसईईमा अंग्रेजी, गणित र विज्ञानमा स्तरीकृत प्रश्न सोधिएको थियो। यस वर्ष कुल ४ लाख ८४ हजार ९ सय ९३ जना विद्यार्थीले परीक्षा दिएका छन्। गत वर्ष ४ लाख ९५ हजार ६ सय ४८ जना विद्यार्थी थिए। तुलनात्मक रूपमा यसवर्ष करिब ११ हजार कम परीक्षार्थी घटे। परीक्षार्थीको संख्या घटे पनि यसपटक माथिल्लो तहमा उत्तीर्ण हुनेको संख्या भने उल्लेखनीय भएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा बताउँछन्। 

यसअनुसार बोर्डका अध्यक्ष डा. शर्मा विद्यार्थीले माथिल्लो ग्रेड ल्याउने प्रतिशत विगतको भन्दा राम्रो भएको तर्क गर्छन्। ‘जीपीएको हिसाबले नतिजा तुलनात्मक राम्रो छ। गत वर्ष कोभिडबाट सोझै निस्केका विद्यार्थी थिए। यसपटक पठन–पाठन राम्रो भएको थियो। विद्यार्थीले मेहनत गरेको नतिजामा देखिन्छ,’ उनले भने। यसपटक बोर्डले निजी विद्यालय र सरकारी विद्यालय भनेर छुट्टाछुट्टै नतिजा निकालेको छैन। छुट्टै निकाले पछि निजी र सरकारीको उत्तीर्णबारे विवाद हुने भएकाले यसपटकदेखि यस्तो नहोस् भनेर बन्द गरेको उनले जनाए। 

उनकाअनुसार नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएका छ। यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम समूह हुन्। यसकारण पुरानो निर्देशिका (२०७२) मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ। तर, निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ। यसरी दुई विषयसम्म नन् ग्रेडिङ परे पछि ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ।

यसैक्रममा शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला योपटक ३५ नम्बर नल्याए पनि पहिलाकै हिसाबमा गर्ने कुरा लहडमा हुने होकी क्षमतामा हुने हो भन्नेमा प्रश्न गर्छन्। उनी भन्छन्, ‘क्षमतामा हुनुपर्ने तर लहडमा भइरहेको छ। लहडको निरन्तरता राख्नु हुँदैन थियो। बरु ३५ नम्बर पनि नल्याउनेले गरिखाने सीप पनि पाउनुपथ्र्यो र पढिखाने क्षमतालाई जहाँ पनि पढ्न सक्छु भन्ने हिम्मत पाउनुपथ्र्यो। यसपछि ती विद्यार्थीले आफ्नो करियर बनाउन रहर लागेको विषय जे पनि पढ्न पाउने वातावरण बनाउनुपथ्र्यो। यस्तो बनाउन सकेनौं। यसैले यसबारे शिक्षकहरूले सोच्नै पर्ने विषय हो।’ 

यस्तै, एसईई भनेर अझै पनि आतंक छ यसलाई सरल बनाइनु पने उनले सुझाव दिए। अबको माग शैक्षिक गुणस्तर सुधार गर्नुपर्नेमा समेत उनले जोड दिए। ‘समुदायले खोजेको र पाठ्यक्रमले दिन खोजेको कुरा पनि विद्यार्थीलाई दिन सकेको अवस्था छैन। यी ३ वटै कुरामा हामी चुक्यौं। यसर्थ यी सबैलाई समेट्ने गरी शिक्षक, विद्यार्थी र अभिभावकलाई कसरी तयार पार्ने भनेर सोच्न जरुरी छ। अब पनि यस्तो कुरा नसोच्ने हो भने हाम्रो शिक्षा कर्मकाण्ड ढंगको मात्रै हुन्छ। शैक्षिक स्थिति सुधार्न धेरै गाह्रो हुने देखिन्छ,’ कोइरालाले औंल्याए।

राष्ट्रिय परीक्षा बोर्डले देशव्यापी रूपमा शैक्षिक वर्ष २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ गतेदेखि चैत २९ गतेसम्म सञ्चालन गरेको थियो। परीक्षामा देशभर कुल ४ लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए। यसमध्ये छात्रको संख्या २ लाख ८२ हजार ६ सय ७४ जना थिए भने छात्राको संख्या २ लाख ४२ हजार ७ सय १२ र अन्यमा १० जना परीक्षार्थी रहेका थिए। उक्त परीक्षार्थीले २ हजार ३७ वटा विद्यालयबाट परीक्षा दिएका थिए। यसमध्ये जापानमा एउटा थियो। गत वर्षदेखि विदेशी मूलमा परीक्षा हुँदै आएकोमा यसपटक १४ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए। एसईई परीक्षामा सहभागी हुने कुल १२ हजार ८३ वटा विद्यालय थिए। उक्त विद्यालयका कुल विद्यार्थीमध्ये सामुदायिक विद्यालयबाट ३ लाख ४१ हजार ७९ जना र निजी विद्यालयबाट १ लाख ४२ हजार ३ सय १७ जना परीक्षार्थी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.