डायस्पोरा दिग्भ्रम
डायस्पोरामा रहेको समाज र घर देशमा रहेको समाज समान समाज होइनन्, भलै तिनका साझा इतिहास, संस्कृति र मिथक छन्, बन्धुत्व र सम्बन्धका आयामहरू छन्।
डायस्पोराको अवधारणा नयाँ कुरा होइन, तथापि नेपालको समाजशास्त्रीय अध्ययन र साहित्य चिन्तनका सन्दर्भमा उति विमर्श भएको विषय होइन भन्ने कुरा यसबारेमा बेलाबेला उठ्ने गरेका सन्देहपूर्ण बहसहरूबाट पुष्टि हुन्छ। कान्तिपुरको कोसेलीमा एक दशकअघि प्रकाशित भएको साहित्यकार मनु ब्राजाकीको आलेखले यसलाई फेरि छलफलमा ल्याएको छ। सामाजिक सञ्जालमा कसैले यसलाई ‘अति सान्दर्भिक’ आलेख भनेका छन् भने कसैले ‘खतरनाक’ मानेका छन्। कसैले ‘डायस्पोरासम्बन्धी योभन्दा चित्त खाने आलेख पढ्न पाइएको छैन’ भनेका छन् भने कसैले ‘बिस्फोटक’ मानेका छन्।
यस आलेखलाई महत्त्वपूर्ण मान्दै नेपालबाट प्रकाशित हुने एक प्रमुख साहित्यिक अनलाइन साहित्य पोस्टले पुनः प्रकाशित गरेको छ।
ब्राजाकीका विचारहरूको पुनर्मूल्यांकन
डायस्पोरा अध्ययनको विकासशील प्रकृति र गतिशील वैश्विक बसाइँसराइको वर्तमान परिप्रेक्ष्यमा ब्राजाकीले आफ्नो आलेखमा व्यक्त गरेका विचारहरूलाई सन्तुलित तथा आलोचनात्मक छलफलको कसीमा मूल्यांकन गर्नुपर्ने देखिन्छ। उनले समयको एक विशेष बिन्दुबाट आफ्नो अनुभव, बुझाइ र कतिपय अवस्थामा अनुमानित र परिकल्पित सत्यताको आधारशिलामा उभिएर आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्। उनको दृष्टिमा डायस्पोरा भन्ने कुरा थोत्रो र प्रयोजनहीन सिद्धान्त हो जो नेपाली साहित्यमा जबर्जस्ती भित्त्याउन खोजिएको छ। उनका विचारमा यो अपमानबोधक शब्द विदेशमा बस्ने नेपालीले ग्रहण गरेर पैसाका बलमा नेपालका प्राज्ञलाई प्रयोग गरी जबर्जस्ती साहित्य र संगीतमा स्थापित गर्न खोजिरहेछन्।
ब्राजाकीले डायस्पोराका बारेमा जुन दृष्टि राखेका छन्, के त्यसमा सत्यता छ ? के उनले प्रस्तुत गरेको जस्तै हो डायस्पोरा भनेको ? के उनले आफ्नो आलेखमा प्रस्तुत गरेका दृष्टान्त, कटाक्ष र विचारहरू तर्कसंगत छन् ? यस्ता प्रश्नहरूको निरूपण गर्न खोजबिन गरेका छौं। समकालीन समाजमा ‘डायस्पोरा’ले आत्मसात् गरेको व्यापक, विस्तृत, समावेशी र बहुआयमिक अवधारणा बुझ्न हामी ब्राजाकीका विचारहरूको पुनर्मूल्यांकन गर्नुपर्छ भन्ने ठान्छौं। यसो गर्दा वर्तमान समयका डायस्पोरिक भोगाइहरूको जटिलता, विविधता र सान्दर्भिकता मूल्यांकन गर्न सकिनेछ। यसले बसाइँसराइ, वैश्वीकरण र डायस्पोरा साहित्यको विकासशील सन्दर्भलाई ध्यानमा राख्दै ब्राजाकीको आलेखमा गरिएका केही अनुमानको आलोचनात्मक विश्लेषण गर्न मद्दत गर्छ।
डायस्पोराको प्रकृति
डायस्पोराको जन्म स्थानान्तरण वा बसाइँसराइबाट हुन्छ। बसाइँ सर्ने क्रिया नयाँ होइन। नेपाल मूल थलो भएकाहरू नजिकका मुलुकहरू भारत, भुटान, बर्मातिर गएर त्यहाँ बसोबास गरेको लामो इतिहास छ। प्रथम र दोस्रो विश्व युद्धले नेपालीहरूको बसाइँसराइलाई नयाँ गन्तव्यतिर अभिमुख गरायो। त्यसपछिको बसाइँसराइका झन् नयाँ गन्तव्य र आयामहरू छन्। त्यस कारण पुराना नमुनाका नेपाली डायस्पोराका साथै विकसित हुँदै गरेका गतिशील र वैश्विक चरित्र ग्रहण गरेका उदीयमान डायस्पोरा पनि छन्। नेपाली समाजको पछिल्लो तीन दशकको समयलाई हेर्ने हो भने खाडी मुलुकहरूमा श्रम गर्न जानेदेखि, अस्ट्रेलिया, अमेरिका र युरोपेली मुलुकहरूमा शिक्षा, रोजगारी र व्यवसायका लागि अस्थायी वा स्थायी बसोबासमा जानेहरूको संख्या लाखौंलाख पुगेको छ।
पछिल्लो एक दशकमा नेपाली ऐतिहासिक पृष्ठभूमि भएका भुटानीहरू स्थायी बसोबासका लागि पाश्चात्य तथा अस्ट्रेलियाली मुलुकमा जानेको संख्यामात्रै पनि एक लाखभन्दा बढी छ। यसबाट नेपाली समाजको चलायमानता, बसाइँसराइको विस्तार र विश्वीकरणको नयाँ प्रारूप निर्माण हुँदै गएको अनुमान लगाउन सकिन्छ। बसाइँ सरिगएको यस्तो समाज मूल थलोमा जस्तो थियो उस्तै हुँदैन, रहँदैन। नेपालबाट नजिकका मुलुकमा जानेहरूमा केही हदसम्म समानान्तरता कायम रह्यो होला। गन्तव्य मुलुकमा पुगेपछि त्यस ठाउँका सांस्कृतिक, राजनीतिक, शैक्षिक र अन्य सामाजिक प्रभाव पर्न थाल्छन्। तथापि सबै कुरा एकाएक बदलिँदैन, त्यसमा लिने र दिने वा त्याग र ग्रहणका कुरा हुन्छन्। यसरी बसाइँ सरी नयाँ ठाउँमा पुगेकाहरू अघिको र वर्तमानको सामाजिक मूल्य, जीवन भोगाइ र परिवेशको तुलनात्मक यथार्थ र अनुभूतिजन्य संसारको द्वन्द्वात्मक परिस्थितिमा बाँचेका हुन्छन्।
अर्वाचीन जटिलतासम्म
‘डायस्पोरा’ शब्दको ऐतिहासिकता खोज्ने हो भने त्यो प्राचीन ग्रिक शब्द ‘डायस्पेरिन’ बाट आएको हो, जसको अर्थ ‘छर्नु’ वा ‘छरिनु’ हुन्छ। ऐतिहासिक रूपमा ‘डायस्पोरा’ शब्दले एउटा विशेष जातीय वा धार्मिक समूहहरूलाई उनीहरूको मातृभूमिबाट जबर्जस्ती विस्थापित गर्नुलाई जनाउँछ। उल्लेखनीय उदाहरण यहुदी डायस्पोरा हो, जुन बेबिलोनियन निर्वासन र पछि रोमन विजयको परिणामस्वरूप निर्मित भएको थियो। बेबिलोनियन र रोमन परिघटनाहरूले यहुदीहरूलाई विश्वका विभिन्न क्षेत्रमा छरिन बाध्य बनायो।
इतिहासभरि औपनिवेशिकता, दासत्व, राजनीतिक द्वन्द्व र आर्थिक आप्रवासनजस्ता विविध कारणले डायस्पोराहरू निर्माण भएका छन्। यसरी निर्मित हुने डायस्पोराहरूले आफ्नो (र आफ्ना पुर्खाहरूको) मातृभूमिसँग सम्बन्ध कायम राख्दै आफ्ना सांस्कृतिक, धार्मिक र सामाजिक अभ्यासहरूलाई आफूसँगै नयाँ भूमिमा लिएर जाने गरेका छन्। ब्राजाकीले डायस्पोराको विश्लेषण गर्दा यहुदीको बहिर्गमनलाई अन्तिम सत्य मानेका छन्। उनी भन्छन्, ‘यहुदीहरूको (यसै) देशविहीन, गाँस÷बासविहीन विपन्नावस्थालाई ग्रिकहरूले आफ्नो भाषामा छरिनुको अर्थमा होच्याएर डायस्पोरा भन्ने गरेका थिए र अझ युरोपभरि छरिँदा यो डायस्पोरा शब्दले होच्याउने, हियाउने, खिसी गर्ने अपमानजनक अर्थ बहन गरेको रहेछ।’
डायस्पोराको शाब्दिक अर्थ छर्नु वा छरिनु भए पनि एकाध व्यक्तिका निजी धारणाबाहेक बृहत् प्राज्ञिक छलफलमा ब्राजाकीले भने जस्तो ‘डायस्पोरा शब्दले होच्याउने, हियाउने, खिसी गर्ने अपमानजनक अर्थ बहन गरेको’ पाइँदैन। आज डायस्पोराको अर्थ विस्तारित भएको छ, व्यापक भएको छ। डायस्पोरा संकथनले अब एउटा निश्चित जातीय वा धार्मिक समुदायलाई मात्र इंगित गर्दैन। समकालीन सन्दर्भमा डायस्पोराले विविध समुदाय, यी समुदायमा निर्मित हुने अनेक सन्दर्भ र वैश्विक परिदृश्यबीचको अन्तर्सम्बन्धका साथै मानवीय भोगाइ र अनुभवहरूलाई समावेश गर्दै बृहत् प्राज्ञिक अनुसन्धानको आधार निर्माण गरेको छ।
वर्तमान सन्दर्भमा डायस्पोराहरू आतिथ्य समाजमा घुलमिल हुँदै आफ्नो मूल संस्कृतिसँग बलियो सम्बन्ध कायम राख्न प्रयत्नरत हुन्छन्। उनीहरू अन्तर्देशीय गतिविधिहरू जस्तै रेमिट्यान्स, सांस्कृतिक आदानप्रदान र आफ्नो मातृभूमि र समुदायको हितको पक्षमा वकालत गर्छन्। आजका डायस्पोराहरू जटिल तर समृद्ध अवस्था बाँचिरहेका छन्। उनीहरू एकातिर आफ्नो संस्कृति संरक्षण–संवद्र्धन गरिरहेका छन् भने अर्कोतिर बहुल संस्कृति निर्माण गरिरहेका छन्। उनीहरू एकातिर आफ्नो आतिथ्य समाजले दिएका अवसर र चुनौतीहरू आत्मसात् गर्न अभ्यस्त छन् भने अर्कोतिर आफ्नो घर देशको उन्नतिको कामनामा हराइरहेका छन्।
डायस्पोराले उत्पादन गर्ने साहित्य, कला, संगीत र अन्य सांस्कृतिक अवयवहरू यस्ता जटिलता तथा समृद्धि अभिव्यक्त गर्ने महत्त्वपूर्ण माध्यम बनेका छन्। डायस्पोराहरूले विश्वव्यापी समाज, अर्थव्यवस्था र संस्कृतिहरूलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छन्। उनीहरू आफ्ना सीप, क्षमता र उद्यमशीलतामार्फत आफ्नो आतिथ्य देशमा योगदान पु¥याउँछन् भने आफ्नो ज्ञान, कला र संस्कृति आदानप्रदानमार्फत आफ्नो मातृभूमिसँग सम्बन्ध कायम राख्छन्। अमेरिका, युरोप, अस्ट्रेलिया पुगी स्थायी बसोबास गरिरहेकाहरूले मातृभूमि (मूलथलो) नेपालतिर फर्किएर सामाजिक सेवा र मानवीय कार्यमा गरेको सहयोगलाई हेरे पुग्छ। त्यस्तै भाडाका सैनिक भनेर ब्राजाकीले गाली गरेका गोर्खा सैनिक (लाहुरे) र तिनका परिवारजनले नेपाल र नेपालीको हितका लागि गरेको लगानी र अनेकौं मानवीय सेवाका कार्यहरू हेरे पुग्छ।
यसरी समय क्रमसँगै ऐतिहासिकताको आधारमा सूत्रपात भएको ‘डायस्पोरा’को गूढ अर्थ र क्षेत्र विविध आप्रवासी समुदायको विस्तृत दायरालाई आफूमा समाहित गर्दै फराकिलो भएको छ, विकसित भएको छ। डायस्पोरा अध्ययन संसारभरिका अनेकौं विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूमा अन्वेषण–अनुसन्धानको एउटा विशेष र महत्त्वपूर्ण बहुविषयक धारका रूपमा स्थापित भएको छ। डायस्पोरा अध्ययनले चलायमान अन्तर्देशीय जनसंख्या प्रवाहको रूप, कारण, परिणाम र अनुभव–अनुभूतिहरूको अन्वेषण गर्छ। यो क्षेत्र फराकिलो छ र यसले पहिचान निर्माण, सांस्कृतिक उत्पादन, राजनीतिक परिचालन, आर्थिक विकास, सामाजिक एकीकरण र अन्तर्देशीयताजस्ता विषयको विस्तृत दायरा समेट्छ। भूमण्डलीकृत संसारको समृद्धि, विविधता र जटिलताको सही अन्वेषण गर्न प्रतिपादित डायस्पोराको अवधारणामाथि पूर्वाग्रहहीन, सन्तुलित, तर्कसंगत र आलोचनात्मक विमर्श आवश्यक छ।
डायस्पोरा र डायस्पोरिक साहित्य
डायस्पोरा मानिसहरूको अन्तर्देशीय आवागमनले सिर्जना गरेको बहुसंस्कृति हो, व्यक्तिगत तथा सामूहिक प्रवृत्ति वा चरित्र हो। यसको निर्माण संस्कृतिको, चिन्तनको संघर्षण र तुलनात्मक भोगाइ र अनुभूतिको पार्थक्यताबाट निःसृत अतीतप्रतिको सम्मोहनबाट उत्प्रेरित भएर हुने गर्छ। कतिपय अध्येताहरूमा कसलाई डायस्पोरा मान्ने भन्नेमा गहिरो अन्योल पाइन्छ। डायस्पोरा हुन मौजुदा समाज र त्यसले निर्माण गर्ने साहित्यमा निश्चित विशेषता हुन आवश्यक पर्छ। जेम्स क्लिफर्ड, जेरार्ड चालियान्ड, जिन–पियरे रागेउ, रोबिन कोहेन, भ्यान हियरलगायतका अनुसन्धाताले कुनै पनि समुदाय डायस्पोरिक प्रकृतिको हुन यी अभिलक्षण आवश्यक हुने बताएका छन्।
मूल थलोबाट बाहिरका मुलुकमा गएता पनि मातृभूमिको बारेमा साझा मिथक हुनु, यसलाई आदर्शकरण गर्नु र यसको उन्नति–प्रगति चाहनु, बलियो जातीय पहिचान हुनु, परिस्थिति अनुकूल हुनेबित्तिकै मातृभूमि फर्कन्छु भन्ने सोच हुनु, आफूलाई स्वीकार गरिएको छैन वा पूर्ण रूपमा स्वीकार गरिँदैन भन्ने सोच राख्नु र अन्य देशमा रहेका डायस्पोरा सदस्यहरूसँग ऐक्यबद्धता देखाउनु आदि अभिलक्षण मानिएका छन्। यस दृष्टिकोणका आधारमा नेपाल बाहिर बस्ने सबै नेपाली वा नेपाली पृष्ठभूमि भएका मानिस डायस्पोरा हुन् भन्ने छैन।
डायस्पोरामा हुने यिनै तमाम विषयवस्तुको केन्द्रीयतामा डायस्पोरिक साहित्य सिर्जना हुने गर्छ। विच्छेदन, पराइभाव, अस्तित्वात्मक आधारविहीनता, नोस्टाल्जिया, पहिचानको संकट, सांस्कृतिक दुविधा, ठिमाहापन, एकीकरण र पृथकीकरण अनि परसंस्कृतिग्रहणका द्वन्द्वात्मक विभीषिका आदि डायस्पोरिक साहित्यका प्रमुख विशेषता हुन्। यस अर्थमा डायस्पोरामा लेखिएको सबै साहित्य डायस्पोरिक साहित्य होइन; डायस्पोरिक साहित्य हुँदैन। उदाहरणका लागि अमेरिका बस्ने साहित्यकार नीलम कार्की निहारिकाका दुई उपन्यास ‘अर्की आइमाई’ र ‘चीरहरण’लाई लिन सकिन्छ। नारीवादी जीवनदृष्टिमा आधारित यी दुई उपन्यासमध्ये अमेरिकी नेपाली समाजको मिहिन चित्रण गरिएको ‘अर्की आइमाई’ डायस्पोरिक विशेषता भएको उपन्यास हो भने ‘चीरहरण’ महाभारतकालीन द्वापर युगको ऐनामा प्रतिविम्बित आजको हाम्रो समाजले भोग्दै गरेको ह्रासोन्मुख सामाजिक मर्यादा, नारी वस्तुकरण, शोषण र हिंसा अनि धृतराष्ट्र–सत्तामोह, शकुनि–षड्यन्त्र आदिको कुरूपताको सजीव चित्रण हो। यसरी एउटै डायस्पोरिक (?) लेखकले एउटै प्रमुख थिममा लेखेको कृति डायस्पोरिक हुन सक्छ; अर्को नहुन सक्छ। त्यसो त एउटै पुस्तकमा धेरै विषयवस्तु उजागर हुन सक्छन्, जसलाई विभिन्न साहित्यिक सिद्धान्त र दृष्टिकोणमार्फत विश्लेषण गर्न सकिन्छ।
अन्तर्देशीय स्थानान्तरणले जब व्यक्ति र समूहमा भौतिक, मानिसक र मनोवैज्ञानिक प्रभाव पर्छ, तब मूल थलोमा जस्तो थियो उस्तै साहित्य रचना हुँदैन। एकातिर लेखनमा त्यहीँको परिवेश, समाज, राजनीति र जीवन भोगाइका नवीन यथार्थहरू आउँदछन् भने अर्कोतर्फ बिर्सन नसकेको विगतको समाज, स्थान, भूगोल र संस्कृति (रीतिथिति, परम्परा, नाता, सम्बन्धन, चाडपर्वहरू आदि) को गहिरो सम्झना र विच्छेदनका भावनाहरू अभिव्यक्त हुन्छन्। यहीँबाट डायस्पोरा भन्ने कुराको प्रारम्भ हुन्छ; डायस्पोरा भन्ने कुरा स्थान (भूगोल), अनुभूति र अभिव्यक्तिगत भाव–चेतनाले निर्माण गर्छ।
साहित्यमा समाजको चित्रण हुन्छ भने समाज रूपान्तरण हुँदा साहित्यका स्थापित सिद्धान्त र मूल्यहरूकै कसीमा नवीन चरित्रको निरूपण गर्न खोजियो भने त्यो तर्कसंगत र यथार्थपरक हुँदैन। त्यसैले नयाँ दृष्टिकोण र सिद्धान्तहरूको खोजी हुन्छ। विश्वभर छरिँदै–फैलिँदै गरेको नेपाली समाज र त्यहाँ लेखिँदै गरेको साहित्यलाई यसै दृष्टिकोणबाट हेर्नु उपयुक्त हुन्छ। विश्वका विभिन्न मुलुकबाट नयाँ आतिथ्य मुलुक पुगेकाहरूबाट अनेक डायस्पोरा बनेका उदाहरण छन् चाहे त्यो अमेरिकाको चिनियाँ डायस्पोरा होस् या भारतीय, अफ्रिकी या स्केनडिनेभियन डायस्पोरा। डायस्पोरा तार्किक रूपमा आतिथ्य मुलुकमा पुगेकाहरूले आफ्नो नयाँ चिनारी स्थापित गर्न बनाएको पदावली होइन; बरु मूल थलोमा बस्ने तथा अनुसन्धान गर्नेहरूले अन्यत्र गई बसोबास गर्ने मानिसलाई कसरी पहिचान गर्ने भन्ने कुराबाट आएको हो।
सतही बुझाइ र पूर्वाग्रही सोच
डायस्पोराको चर्चा गर्दा ब्राजाकीले केही साहित्यकार, साहित्यिक कृति र डायस्पोरिक साहित्यको वर्तमान र भविष्यको सन्दर्भ पनि उठाएका छन् तर ती तथ्यपरक छैनन्। अफ्रिकी मूलकी अमेरिकी साहित्यकार चिमामान्डा अदिचीको उपन्यास ‘अमेरिकाना’को टाइम साप्ताहिकमा प्रकाशित ‘संक्षिप्त विवेचनात्मक समीक्षा’ (बुक रिभ्यु)मा समीक्षकले ‘डायस्पोरिक गन्गन् छोडेर भविष्यको मानव समाजको रूपरेखा उच्च कलात्मकसाथ कोरिएको उपन्यास’ भनेर उल्लेख गरेको आधारमा ब्राजाकी ‘अमेरिकाना’ डायस्पोरिक उपन्यास नभएको निष्कर्ष पेस गर्छन्। पत्रिकाहरूमा प्रकाशित यस्ता समीक्षाहरूलाई सामान्यतया अनुसन्धानका लागि प्राथमिक स्रोत मानिँदैन। यस्ता समीक्षाले महत्त्वपूर्ण विचार प्रवाह गरे पनि तिनीहरू व्यक्तिपरक प्रकृतिका हुन्छन् र समीक्षकको बुझाइ र विचारलाई प्रतिविम्बित गर्छन्। यी समीक्षाहरू प्रायः सामान्य पाठकका लागि लेखिएका हुन्छन् र खास प्राज्ञिक विश्लेषणलाई भन्दा पनि मनोरञ्जन वा पाठक सहभागितालाई प्राथमिकता दिन सक्छन्।
‘अमेरिकाना’मा उजागर भएका सांस्कृतिक ठिमाहापन, पहिचान र सम्बद्धताको भावना, निर्वासन र विस्थापनको अन्वेषण, जाति र नश्लवादका चिन्तन, पुख्र्यौली घर र मातृभूमिप्रतिको लालसाजस्ता प्रमुख थिमका आधारमा ब्युटी ब्राग, शेन ए म्याकोइ, सोहिला अरेबियन, विदा रहिमिनेझादलगायतका अनुसन्धाताले उक्त उपन्यासलाई एक सशक्त डायस्पोरिक उपन्यासका रूपमा विश्लेषण गरेका छन्। पुनश्च अदिची डायस्पोरिक हुनु÷नहुनु वा अमेरिकाना डायस्पोरिक हुनु÷नहुनुले खास अर्थ राख्दैन।
स्थायी रूपमा अमेरिका बसेर अंग्रेजीमा लेख्ने साहित्यकार प्रोफेसर सम्राट उपाध्यायले एउटा अन्तर्वार्तामा भनेको कुराका आधारमा ब्राजाकी भन्छन्, ‘उनी (साम्राट उपाध्याय) आफूलाई ‘इमिग्रेन्ट’ राइटर अथवा ‘डायस्पोरिक’ राइटर भनेको रुचाउँदैन रहेछन्। उनले आफ्नो परिचय प्रस्ट रूपमा यसरी दिए, ‘म अंग्रेजीमा लेख्ने नेपाली हुँ।’ तीन दशकभन्दा बढी अमेरिका बसेका अंग्रेजीका प्रोफेसर उपाध्याय स्वाँग नपारी प्रस्ट र मिठो नेपाली बोल्छन्, नेपाली गीत गुनगुनाउँछन्, आफ्ना कथा–उपन्यासमा नेपाल खोज्छन्, नेपालीलाई लेख्छन्। यसले उनी कति नेपाली हुन् स्पष्ट भइहाल्छ। उनी आफूलाई डायस्पोरिक लेखक मान्छन्÷मान्दैनन्, त्यो उनको कुरा हो तर इबिडेम प्रेसद्वारा २०२१ मा प्रकाशित ‘क्रिएटिभ लाइफ्स (इन्टरभ्यु विद कन्टेम्पोररी साउद एसियन डायस्पोरा राइटर्स)’ नामक अन्तर्वार्ता शृंखलाका सम्पादकद्वय चाँदनी लोकुगे र क्रिस रिंगरोजले सम्राट उपाध्यायलाई दक्षिण एसियाली डायस्पोराका लेखकको रूपमा प्रस्तुत गरेका छन्। ‘डायस्पोरा’, ‘नेपाली डायस्पोरा’ वा ‘दक्षिण एसियाली डायस्पोरा’जस्ता पदावलीसँग विमति हुन्थ्यो भने उपाध्यायले यस पुस्तकका लागि सायदै अन्तर्वार्ता दिन्थे।
सम्राट उपाध्यायको लेखनमा सांस्कृतिक पहिचान र डायस्पोरा प्रमुख थिमको रूपमा भेटिन्छन्। वल्र्ड लिटरेचर टुडेसँगको अन्तर्वार्तामा उपाध्यायले नेपाली डायस्पोरिक लेखकको रूपमा आफ्नो अनुभव र यसले उनको लेखनलाई कसरी प्रभाव पारेको छ भन्ने बारेमा चर्चा गरेका छन्। उपाध्याय डायस्पोरालाई एउटा ठूलो छाता मान्छन्, जसको छहारीमा धेरै कुरा अटाएका हुन्छन्। सामाजिक विज्ञान बहको वार्षिक सम्मेलनको एउटा प्यानल छलफल ‘नेपाली डायस्पोरिक आइडेन्टिटी इन दि कन्टेस्ट अफ मल्टाइकल्चरिजम’मा प्रस्तुत गरिएको पेपर ‘ट्रेसिङ कल्चरल आइडेन्टिटी इन डायस्पोरिक टेक्स्टस् अफ सम्राट उपाध्याय’मा अध्येता भाष्कर क्षत्रीले उपाध्यायका तीनवटा ग्रन्थलाई सांस्कृतिक विविधता र डायस्पोराको दृष्टिकोणबाट विश्लेषण गरेका छन्।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको एउटा शोधपत्रमा शोधार्थी लोकेन्द्र योङहाङले उपाध्यायको ‘अरेस्टिङ गड इन काठमाडौं’मा डायस्पोरिक दृष्टिकोणभित्रको पहिचानको संकटलाई ध्यानमा राख्दै नेपाली समाजको डायस्पोरिक चरित्र र पात्रहरूको गृहवियोगका बारेमा अन्वेषण गरेका छन्। ब्राजाकीकै भाषा सापटी मागेर भन्नु हो भने त शोधार्थी योङहाङ पनि ‘साहित्यलाई थाङ्ने वर्गीकरण गरेर कर्मचारी मनोवृत्तिका बुद्धिजीवी, विद्वान् र प्राडाहरूले देश र विदेशमा काम पाउने, डलर, पाउन्ड र युरोमा माम पाउने’ ध्याउन्नमा जुटेका छन् ! उपाध्याय र उनका कृतिहरूसँग सम्बन्धित यी प्राज्ञिक आलेखहरू उद्धृत गर्नुको आशय सम्राट उपाध्यायलाई जसरी भए पनि ‘डायस्पोराको दोसल्ला’ (ब्राजाकीकै भाषामा) ओढाउनु नभई एउटा कृति (वा कृतिहरू) लाई कसरी विविध दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ भनेर देखाउनु हो। कुनै कृतिमा अभिव्यञ्जित अनेक थिममध्ये एउटा थिम डायस्पोरिक हुनेबित्तिकै वा एउटा लेखकले डायस्पोरिक चिन्तनलाई आफ्नो
लेखनको प्रमुख धार बनाउनेबित्तिकै आत्तिनुको औचित्य छैन। साहित्य विश्लेषणमा प्रयुक्त हुन सक्ने अनेक सैद्धान्तिक दृष्टिकोणहरूमा डायस्पोरा एक दृष्टिकोण मात्र हो।
ब्राजाकीले डायस्पोरालाई ‘साहित्य लेखनको क्षेत्रमा एउटा सानो आन्दोलनका रूपमा उदाएर अस्ताइसकेको कथित वाद’का रूपमा बुझेका छन्। तर प्राज्ञिक जगत्मा डायस्पोरा र डायस्पोरिक साहित्य अध्ययनको क्षेत्रमा भएको विकासक्रम हेर्दा ब्राजाकीको आकलनको सत्यता स्थापित हुँदैन। ‘डायस्पोरा’ र ‘डायस्पोरिक साहित्य’जस्ता शब्दकुञ्जी प्रयोग गरेर गुगल स्कोलरमा सन् १९८० (डायस्पोरा अध्ययनमा गतिशीलता आएको समयबिन्दु) देखि सन् २०२३ सम्म अनुक्रमित प्राज्ञिक आलेखहरू (पुस्तक, विज्ञसमीक्षित जर्नल लेख आदि) को प्रविष्टि संख्या यस्तो छः १) डायस्पोराः १९८० २०००ः ८४, ३००, २०००–२०२०ः ३, ३४,०००, २०२०–२०२३ः ९०, ८००, २०२३–२०२३ः २१, ५०० र २) डायस्पोरा साहित्यः १९८०–२०००ः १६, ४००, २०००–२०२०ः २४, ६००, २०२०–२०२३ः ५२, १००, २०२३–२०२३ः १६, २००।
त्यस्तै, ब्राजाकीको आलेख प्रकाशित भएदेखि अहिलेसम्मको एक दशकको तथ्यांकमा डायस्पोरा (१,७२,००० प्रविष्टि) र डायस्पोरिक साहित्य (१६,००० प्रविष्टि) रहेको छ। उदाहरणका लागि प्रस्तुत गरिएको यो तथ्यांकले ब्राजाकीको ठहरलाई समर्थन गर्दैन।
यसरी ब्राजाकीको डायस्पोरालाई हेर्ने दृष्टिकोण पूर्वग्राहीमात्रै छैन, नीच चिन्तनबाट ग्रसित, एकलकाँटे र पक्षपाती पनि छ। आफ्नो घर देश छोडेर नयाँ मुलुकमा पुगेर पनि स्वभाषा, धर्म र संस्कृतिको संरक्षण र संवद्र्धनमा क्रियाशील हुनु, त्यसका खातिर अभियानहरू जारी राख्नु, कार्यक्रम आयोजन गर्नु, मूल थलोसँग सांस्कृतिक र भाषिक साइनो कायम राख्न साधन र स्रोतको आदानप्रदान गर्नु ब्राजाकीलाई किन असह्य भयो भन्ने अन्तर्य बुझ्न कठिन छ। एउटा व्यक्तिको प्रसंग कोट्ट्याएर त्यसलाई डायस्पोराको नमुनाका रूपमा प्रस्तुत गर्नु कति जायज हुन सक्छ ? उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकामा बसेर नेपालबाट प्राडाहरू झिकाएर, गुलियो चटाएर, अराएर, खटाएर यत्रो जोरजुलुम नेपाली र नेपाली साहित्यको ‘पहिचान’का लागि डायस्पोरा भनेर किन गर्नु प¥यो ?’ उनले अनुमान गरेजस्तो ‘डायस्पोरा’ कसैको अनुग्रहबाट प्राप्त हुने कुरा होइन; यो आफैं निर्मित हुँदै जाने कुरा हो। उनले ठम्याएजस्तै डायस्पोरा समाज र साहित्य भन्नु के अपराध हो ?
ब्राजाकी ‘डायस्पोरा’लाई गिल्ला गर्न, गाली गर्न, हिँस्याउन, होच्याउन यस्ता दृष्टान्त र अनर्गल बिम्ब प्रस्तुत गर्छन्, जसको साइनो डायस्पोरासँग छँदै छैन। मानवीय मूल्य, पेसागत मर्यादा, जातीय संवेदनशीलताको धज्जी उडाउँदै उनी लेख्छन्, ‘के हामीलाई बहादुर, कान्छा, पहाडिया, गुर्खा र लाहुरे भनेर सम्बोधन गरेको मन पर्छ ? सबैलाई थाहा छ, बहादुर भनेको दरबान हो, कान्छा र पहाडियाले भाँडा माझ्छ, गुर्खा र लाहुरे भनेको भाडाको सैनिक हो।’ डायस्पोरा भनेको कुनै निर्दिष्ट जातीय पहिचानको कुरा हुँदा पनि होइन; यो संसारभरि मूल थलोबाट बाहिर छरिएका व्यक्ति वा समूहको चरित्र हो। त्यस कारण अमेरिका वा युरोप पुगेकाहरूले आफूलाई डायस्पोरा भनिदिन नेपालबाट झिकाइएका प्राध्यापक तथा अनुसन्धाताहरूलाई गुलियो चटाउँछन् भन्ने कुराको कुनै तुक छैन।
प्राज्ञिक विमर्शको महत्त्व
ब्राजाकीले प्राज्ञिक छलफल र डायस्पोराको संकथनलाई कमजोर पार्न (कुन प्रयोजनका लागि हो), प्राध्यापकहरूलाई निम्न स्तरको गाली गरेका छन्। ब्राजाकीले आफ्नो आलेखमा ‘प्राडा’ भनेर सम्बोधन गरेका नेपाली प्राध्यापकहरूले डलर, युरो र पाउन्ड पाउने आशामा विदेशमा बस्ने नेपाली लेखकहरूले लेखेका कृतिलाई ‘डायस्पोरा’को तोक लगाउने गरेको आरोप लगाएका छन्। कतिपय अवस्थामा यस्ता कुरा भएका पनि होलान्। यद्यपि यो पूर्वाग्रही अनि घातक सामान्यीकरण (जेनेरलाइजेसन) हो। यसले प्राज्ञिक जगत्मा हुने अभ्यासलाई सही रूपमा प्रतिनिधित्व गर्न सक्दैन।
प्राज्ञिक जगत्मा आफ्नो क्षेत्रमा धेरै योगदान गरेका विज्ञ, अनुसन्धाता तथा विश्वविद्यालयका प्राध्यापकहरूलाई सोही क्षेत्रमा हुने छलफल, खोज, अन्वेषण तथा अनुसन्धानका बारेमा विमर्श गर्न (प्रमुख) वक्ताका रूपमा निमन्त्रणा गर्ने चलन छ। यस्तो कार्यले बौद्धिक आदानप्रदानलाई बढावा दिने, सांस्कृतिक विविधता प्रवद्र्धन गर्ने र प्राज्ञिक छलफलमार्फत व्यापक तथा वैकल्पिक दृष्टिकोणहरू स्थापित हुने अपेक्षा गरिन्छ। यसरी निमन्त्रणा गरिएका अतिथिलाई विशिष्ट पारिश्रमिक उपलब्ध गराउने चलन छ।
यस्तो पारिश्रमिकमा भाषण (वक्तव्य, प्रेजेन्टेसन आदि)का लागि एकमुष्ट शुल्क, हवाई भाडा, होटेल आवास, खाने खर्च आदि समावेश गरिएको हुन्छ। विदेशमा रहेका सबै नेपालीसँग आमन्त्रित वक्ताहरूलाई यति नै विशिष्ट तहको पारिश्रमिक उपलब्ध गराउन सक्ने आर्थिक क्षमता हुन्छ भन्ने छैन। अधिकांश साहित्यिक सभा–सम्मेलनहरू त आपसी समझदारी र सद्भावनामै सम्पन्न हुने गर्छन्। विदेशमा भएको कुनै साहित्यिक संस्थाले आमन्त्रित अतिथिलाई उपल्लो तहको विशिष्ट पारिश्रमिक उपलब्ध गराउने हैसियत राख्छ भने त्यो राम्रो कुरा हो। ब्राजाकीले दाबी गरेजस्तो नेपालबाट अनुसन्धानकर्ताहरू ‘झिकाएर, गुलियो चटाएर, अराएर, खटाएर’ डायस्पोराका पक्षमा लेख्न लगाइन्छ भन्ने सामान्यीकरणले वास्तविक विद्वान् खोज, बौद्धिक जिज्ञासा र साहित्यिक–सांस्कृतिक छलफलहरूको अवमूल्यन गर्छ।
यद्यपि ब्राजाकीले उठाएको एउटा सवाल महŒवपूर्ण छ; कुनै पनि प्राध्यापक–अनुसन्धाताले सस्तो लाभको मोहमा विदेशमा बस्ने जोकोहीले लेखेको जुनसुकै कृतिलाई ‘डायस्पोराको तक्मा’ भिराउनु हुँदैन। यस्तो तक्मा कालक्रममा लेखकलाई बोझ हुनेछ; कृतिको अवक्षयको कारण हुनेछ। विषय विज्ञका रूपमा जाने लेखक, प्राध्यापक–अनुसन्धाताहरूले प्राज्ञिक धर्म, लेखकीय जिम्मेवारी र नैतिक दायित्वलाई निष्ठापूर्वक निर्वाह गर्नु जरुरी हुन्छ। एउटा कुनै पनि लेखकको रचना सन्तुलित नभएर स्वार्थप्रेरित भइदियो भने त्यसले समाजलाई दिग्भ्रमित पारिदिन्छ। अतिरञ्जना र भ्रमको खेतीले नेपाली भाषा, साहित्य र संस्कृतिको वैश्विकरण, विस्तार र समृद्धिको यात्रामा तगारो लगाइदिन्छ। कुनै पनि विश्लेषकले सत्यनिष्ठा, वस्तुपरकता, पारदर्शिता, निष्पक्षता र पुनरुत्पादकताजस्ता अनुसन्धानका आधारभूत तŒवहरूमा आधारित भएर आफ्नो विश्लेषण प्रस्तुत गर्नु पर्छ।
निष्कर्ष
वर्तमान अन्तर्देशीय वा अन्तरमहादेशीय बसाइसराइको युगमा डायस्पोरा अध्ययन प्राज्ञिक बहसका दृष्टिले मात्रै होइन, व्यावहारिक दृष्टिले पनि आवश्यक ठहर्छ। आज डायस्पोराको विकास र विस्तार जसरी भएको छ, त्यसले इतिहासले कुनै कालखण्डमा निर्दिष्ट गरेको घेरालाई तोडेर नवीन यथार्थ, गतिशीलता र प्रतिमान स्थापना गर्दैछ। डायस्पोरा विश्वका अनेक ठाउँमा निर्माण भएका छन्, त्यसैको कसीमा नेपाली डायस्पोरालाई हेरिनु पर्छ। डायस्पोरालाई अपमान, निषेध, खारेजी र अतिरञ्जनाका दृष्टिले हेर्नु त्यो समाज र त्यसले सिर्जना गरेको साहित्यको अवमूल्यन हो। डायस्पोरामा रहेको समाज र घर देशमा रहेको समाज एक समान समाज होइनन्, भलै तिनका साझा इतिहास, संस्कृति र मिथक छन्, बन्धुत्व र सम्बन्धका आयामहरू छन्।
डायस्पोराका फरक यथार्थ छन्, जीवन भोगाइ र व्यवहारका फरक अनुभूति छन्। साहित्यमा माक्र्सवाद, यथार्थवाद, यौन मनोविज्ञानजस्ता दृष्टिकोण सहजरूपमा ग्रहण गर्ने तर डायस्पोरा भनेपछि हाउगुजी ठान्ने कुरा मूलथलो नेपालबाहिर बस्ने नेपाली वा नेपाली मूलका मानिसप्रतिको पूर्वग्राही दृष्टि हो। साइवर जगत्को तीव्र विकास भइरहेको दुनियाँमा नेपाली साहित्यको वैश्वीकरण, विस्तार र विविधता निर्माण गर्ने क्रममा डायस्पोरा आफैंमा एउटा फरक चिन्तनधारा हो ।