डा. रिजाल कुनै बेला पत्रकार थिए। समाचारवाचन गर्थे। उनको कर्मको साइनो चिकित्सकमात्र नभई गायन, गीतलेखन, संगीतकार, कथाकार, चलचित्र निर्मातासँग पनि जोडिए।
‘म कहाँ बूढो भएको छु र ?’ चाउरी पर्न लागेका गाला मुसार्दै ७५ वर्षीय डा. भोला रिजाल मुस्कुराए, ‘जवान नै छु जस्तो लाग्छ। गर्नुपर्ने काम अझै धेरै बाँकी छन्।’
न झर्किए, न रिसाए
चिकित्सकहरूमाथि बारम्बार लाग्ने आरोप हो, ‘डाक्टरहरू झर्किएर बोल्छन्।’ यो आक्षेप डा. रिजालको हकमा लागू हुँदैन। डाक्टरी पेसा नै त्यस्तो हो, जहाँ रिसाउने छुट छैन भन्ने मान्यता छ। त्यसैले उनी बिरामीसामु मुस्कुराएरै प्रस्तुत हुन्छन्। बिरामीका सुखदुःखका साथी बन्छन्। निःसन्तान दम्पतीहरू खुसीको आसमा उनीसामु पुग्छन्। व्यथाले अत्याएकाहरू चिन्तित मुहारमा उपस्थित हुन्छन्।
नेपालको पहिलो पुरुष गाइनोकोलोजिस्ट (स्त्री रोग विशेषज्ञ) हुन्, उनी। वरिष्ठ स्त्री रोग एवं आईभीएफ विशेषज्ञ रिजाल रसिक छन्। ७५ वर्षीय उनी लक्का जवान झैं जुझारु छन्। ५ बजे नै उठ्छन्। साइक्लिङ गर्छन्। मर्याकमुरुक गर्दै जिउ तन्काउँछन्। मन्दिर पुग्छन्। शिर निहुराउँछन्। त्यसपछि तुलसीको मठ (मैरो ) पुग्छन्। सूर्य भगवान्लाई जल चढाउँछन्।
‘कृष्णले गीतामार्फत अर्जुनलाई काम, क्रोध, लोभ, मोह, मद र मात्स्र्य यी ६ तŒवमाथि काबु राख्न सन्देश दिनु भएको छ। त्यो सन्देश अर्जुनका लागिमात्र होइन। सबैका लागि हो’, उनी थप्छन्।
आम चिकित्सकभन्दा फरक छ, जीवनशैली रिजालको। बिहानै परेवालाई चारा दिन्छन्। रक्की नामको कुकुरलाई खुवाएपछि करेसाबारीमा घुम्छन्। बोटबिरुवा नियाल्छन्। त्यसपछि आधा घण्टा पत्रपत्रिका पढ्छन्। देशविदेशका खबर थाहा पाउँछन्। त्यसपछि फेरि आधा घण्टा फिजियोथेरापी गर्छन्। ‘यो त मेरो सधैेंको नित्यकर्म हो।’ डा. रिजाल मुस्कुराउँदै भन्छन्।
सेतो कोटमा सजिँदै
४५ वर्षअघि राजविराजमा पोस्टिङ हुँदा उनको ढाड सट्किएको थियो। ‘दुईतिरको स्पाइनल कर्ड कम्प्रेस थियो। त्यो अप्रेसन कतै हुँदैन भनेको थियो। चुप लागें’, डा. रिजालले आफ्नै स्वास्थ्यबारे प्रष्ट्याए, ‘पाँच वर्षअघि सुखद कुरा सुनें, टर्कीमा अप्रेसन हुन्छ भन्ने। त्यहाँ अप्रेसन गरें। दुख्न त दुख्दैन तर हिँड्न र उभिन अलि अप्ठेरो छ।’ उनको नयाँ सिर्जना ‘सेतो कोट’ सार्वजनिक हुँदैछ। उनी पनि लट्ठी टेकेरै पुग्ने तयारीमा छन्। आज विमोचन हुँदैछ। चिकित्सकको कर्म, धर्म र मर्म बुझाउने गरी लेखिएको सेतो कोटमा पेसागत धर्मबारे साङ्गोपाङ्गो लेखिएको छ। जुन पुस्तकको तयारी उनले कोभिड– १९ को समयमा गरेका थिए।
न तनाव, न त थकान साथैमा राख्न थालेका छन् डा. रिजालले लट्ठी। उनी बिहानै ९ बजे ह्याम्स हस्पिटल पुग्छन्। कसैको पारिवारिक समारोह वा सार्वजनिक कार्यक्रममा टुप्लुक्क देखा पर्छन्। सहयोगी साथमा भए ठीकै छ। नभए लट्ठी जिन्दावाद। उनको जीवनशैली देखेर सहकर्मी डा. करिश्मा पाण्डे चकित पर्छिन्।
‘३५/४० वर्षअघि जँचाएका महिलाहरू फलोअपमा आउनु हुन्छ। जँचाउने छैन भने एकपटक डा. साबलाई हेर्छु/कुरा गर्छु भन्दै आएको देख्दा छक्क पर्छु’, सात वर्षदेखि सहकार्य गर्दै आएकी स्त्री रोग विशेषज्ञ डा. पाण्डे भन्छिन्, ‘उहाँ थकित (टायर्ड) भएको देखेकी छैन। बिरामी हेर्दाहेर्दै चिढचिढाहट (इरिटेसन) भएको देख्दिनँ। उहाँको शब्दकोशमा छुट्टी नै छैन जस्तो लाग्छ। लिँदै लिनुहुन्न। हामीलाई उल्टै किन छुट्टी लिने ? आफ्नो काम सकेर आउनु नि भन्दै सम्झाउनु हुन्छ।’
छोटे डाक्टरदेखि सन्तानेश्वरको उपमा
२०१४ सालतिरको कुरा हो। इटहरीको ट्यांग्रा खोलाको दक्षिणतिर गाउँमा आगलागी भयो। आगलागीबाट घाइते भएकाको शरीरमा मल्हमपट्टी लिएर दौडिए उनी। गाउँलेले ‘छोटे डाक्टर’को उपमा दिए। अहिले उनलाई सन्तानेश्वर महादेवको संज्ञा दिने पनि छन्। यी सबै स्मरण गर्दा उनी पुलकित हुन्छन्। अहिले काठमाडौंमा रहेर सेवा गरे पनि कुनै बेला मुगुको गम्थालगायत विकट भेगमा पुगेका थिए। स्वास्थ्य शिविर नै चलाएर निःसन्तान दम्पतीको मुहारमा मुस्कान ल्याउन सफल भएका थिए।
शुभप्रभातको समयका परेवादेखि कुकुरलाई आहारा दिने डा. रिजाल दिउँसो भने बिरामीको सहारा हुन्छन्। लामो समयदेखि सकस व्यहोरिरहेका महिला/पुरुषको मुहारमा खुसी ल्याउन जुट्छन्। एकदिनको घटना हो। बिहानै ९ बजे अस्पताल पुगे। शल्यक्रिया गरेर शिशु निकाल्नु पर्ने थियो। स्वस्थ्य शिशु जन्माउन केन्द्रित हुँदा ओपीडीमा पालो कुरेर बसेका बिरामीलाई केही ढिला भयो। ‘माथि दुईवटा अप्रेसन पर्यो। त्यसले गर्दा आज पर्खनु पर्यो है’, ओपीडीमा बिरामीतर्फ नजर लगाउँदै उनले क्षमायाचनाको लवजमा नम्र हुँदै बोले। पालो कुरिरहेका बिरामी ठीकै छ नि त भन्दै मुस्कुराए।
आफैंले जन्माएको ओम हस्पिटल एन्ड रिसर्च सेन्टर छोडेका छन्। यद्यपि, सबैभन्दा बढी सेयर उनैको छ। अहिले ह्याम्स अस्पतालमा सेवारत छन्। उनले यहाँ पनि टेस्टट्युब बेबी सेवा सुरु गरिसकेका छन्। कतिपयले त उनलाई सन्तानेश्वर महादेवको संज्ञा दिन्छन्। २०३९ सालतिरको कुरा हो। डाक्टरी पढ्न बंगलादेश जाँदा उनको मनमा गढेको लागेको थियो– पुरुषसँग महिलाले जँचाउन संकोच मान्ने हुन् कि ? तर त्यो अप्ठेरो अनुभूति व्यवहारमा महसुस भएन। पालो कुरेरै भए पनि गर्भवती महिलाहरू जचाउँछन्।
पत्रकार, कथाकार, संगीतकार
डा. रिजाल कुनै बेला पत्रकार थिए। समाचारवाचन गर्थे। उनको कर्मको साइनो चिकित्सकमात्र नभई गायन, गीतलेखन, संगीतकार, कथाकार, चलचित्र निर्मातासँग पनि जोडिएको छ। फिल्म निर्माणका क्रममा स्त्रीको पीडालाई जोडेको पाइन्छ।
लक्ष्मीपूजा, साथी, छोरीबुहारी चलचित्रका कथा पनि कथा निःसन्तान दम्पतीसँग जोडिएको उनी बताउँछन्। उनका भने तीन छोरा छन्। डा. कपिल, इन्जिनियर मनीष र डा. प्रलय विदेशमा छन्। नारायणगोपाल चोक नजिकै रहेको निवासमा पत्नी सरलाको साथ छ।
अरूको भएर बाँच्नु सधैं
१५ वर्षको हुँदा उनले १२ वर्षीया सरलासँग लगनगाँठो कसेका थिए। त्यसैले पत्नीको हातमा समातेर मुक्तिनाथको सिँढी उक्लेपछि फर्केर होटलमा आए। उनलाई फुर्यो,
उमेर ढल्दै जाँदा झनै माया बढ्दो रै’छ
यस्तै बेला एकअर्काको साथ चाहिँदो रै’छ
ख्वै ख्वै तिर्खा लाग्यो भन्ने बानी पर्दो रै’छ
सिरानीको पानी पनि टाढा लाग्दो रै’छ।
डा. रिजाल बेलाबखत विगत नियाल्छन्। उनको विगत चिकित्सकीय सेवामात्र होइन, संगीतका ताल र रसमा बितिरहेको छ। चार महिनापछि ७६ वर्षमा प्रवेश गर्ने उनलाई भेट्न घरमा पाहुना आइसकेका थिए। उनले गुनगुनाए ।
फूल भएर फुल्नु सधैं जीवनमा
अरूको भएर बाँच्नु सधैं जीवनमा
सधैं सबैको भलो चिताउनू
सधैं नै जीवनमा अरूलाई हँसाउनू ।
साथैमा राख्न थालेका छन् डा. भोला रिजालले लट्ठी। उनी बिहानै ९ बजे ह्याम्स हस्पिटल पुग्छन्। कसैको पारिवारिक समारोह वा सार्वजनिक कार्यक्रममा टुप्लुक्क देखा पर्छन्। सहयोगी साथमा भए ठीकै छ। नभए लट्ठी जिन्दावाद ! उनको जीवनशैली देखेर सहकर्मी डा. करिश्मा
पाण्डे चकित पर्छिन्।