नर्कदेखि स्वर्गसम्म
अमेरिका पुगेको तीन वर्ष नबित्दै चेतन काठमाडौं फर्कियो। ऊ आउँदा एयरपोर्टको वातावरण अमेरिका जाँदाको जस्तो रौनक थिएन। चेतनलाई लिन बासुदेव र ललिता गुपचुप विमानस्थल पुगेका थिए।
‘बिदा हुने भैगयो बेला, फेरि भेट होला कि नहोला
भेट होला ...
चेतन र सुभद्रा उक्त गीतमा नाच्नुसम्म नाचे। संगीतमय थियो त्यो साँझ। उत्सवमय थियो त्यो रात। बिदाइ गर्न आउनेहरूले भरिभराउ थियो घर। बाबु बासुदेव र आमा ललिताले त्यस साँझलाई रौनकमय बनाउन कुनै कसर बाँकी राखेनन्। अबेर रातिसम्म भोजभतेर चल्यो। खाने र पिउने क्रम मजैले चल्यो। सबै नाचे। केहीले शुभकामना कविता वाँचे। छोराबुहारी अमेरिका जान लागेकामा बासुदेव र ललिताको खुट्टा भुइँमा थिएनन्। ‘नर्क छोडी स्वर्ग’ जान लागेकामा स्यावासी दिइरहेका थिए सबै।
चेतन र सुभद्रा रातको ११ बजे एयरपोर्ट जान तयार भए। उपस्थितजनले उनीहरूलाई खादा, फूल–माला पहिर्याइदिए। लगत्तै भरिभराउ पाँच ट्याक्सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ हुइँकिए। एयरपोर्ट प्रांगणमा पुगेपछि सुभद्राकी दिदीले ‘शुभयात्रा केक’ काटिन्। अनि सुरु भयो फोटो सेसन। पोजपोजका चार दर्जनभन्दा बढी तस्बिर खिचे। चेतन र सुभद्रा ‘वाईवाई’ गर्दै डिपार्चर कक्षतिर लम्किए। बिदाइ गर्न गएकाहरू पनि निवास फर्किने सुरसारमा लागे। फर्किनुअघि ललिताले चेतन र सुभद्राको बिदाइ फोटो फेसबुकमा पोस्ट गरिदिन उपस्थित सबैसँग अनुरोध गरिन्। तब सबैले बिदाइ फोटो फेसबुकमा प्रविष्ट गरे। साथै चिनेजानेका सम्पूर्णलाई सक्दो सेयर र लाइक गरिदिन बिन्ती बिसाए।
रात बित्यो। दिन सुरु भयो। बिहान उठेपछिको सबैको पहिलो काम गएरातिको पोस्टले पाएको लाइक र सेयर गणना गर्ने रह्यो। नतिजा चामत्कारिक थियो। आठ–नौ घण्टाभित्रै चेतन र सुभद्रा फेसबुकमा भाइरल भइसकेका थिए। अथवा यसो भनौं, उनीहरूको बिदाइ पोस्टले मार्क जुगरवर्गको फेसबुकमाथि जबर्र्जस्त शासन गरिसकेको थियो। मोबाइल नामको यन्त्रभित्र छोरा–बुहारीले पाएको आधुनिक माया देख्दा बासुदेव र ललिताको नाक घिरौंला जत्रो भयो।
‘म अमेरिका पुगें आमा।’ भोलिपल्ट अबेर राति चेतनले सन्देश पठायो। ललिताले बिनाविलम्व उनीहरूको तस्बिर फेसबुकमा भाइरल भएको सु–समाचार सुनाइन्। जतिजति दूरी टाढा, उतिउति स्मृति गाढा। व्यक्ति एक, प्रतिबिम्ब अनेक। कल्पना गर्न कस्ले कस्लाई रोक्न सक्छ र ? दुनियाँमा बिनाशुल्क पाइने केही चिज छ भने त्यो कल्पना नै हो।
ललिताका त्यसपछिका दिन ‘छोराबुहारीले अमेरिकामा मनग्गे पैसा कमाएको, ४० लाख ऋण चुक्ता गरी काठमाडौंमा भव्य महलमा बसेको, सानदार कारमा सहर घुमेको’ आदि कल्पनामा बिते। ललिता एक्लै छँदा चेतनकै बारेमा सोच्थिन्। त्यस्तैमा उनले चेतनलाई शिशु कक्षामा भर्ना गर्न लैजाँदाको क्षण सम्झिइन्। ‘बाबु ठूलो भएपछि के बन्ने ?’ सोधेकी थिइन् सदीक्षाले। चेतन नबोली आमाको मुखमा हेरेको थियो। ‘प्लेन चढी विदेश जाने भनन बाबु’, सिकाइन् ललिताले। ‘विदेश जाने कुन ठूलो कुरा भो र दिदी !’ सदीक्षाले प्रतिक्रिया जनाएकी थिइन्। ‘जमाना बदलियो। सोच बदलियो। अहिलेका केटाकेटी नेपाल बसेको देख्नु भएको छ र मिस ? विदेश जानु आजका युवाको फेसन जस्तै भएको छ।’ ललिताले थपेकी थिइन्।
जुन कुरा देशमा गृहयुद्ध उत्कर्षमा पुग्दाखेरीको हो। अमेरिका पुगेको एक वर्षसम्म चेतन र सुभद्राको जीवन रमाइलैसँग बित्यो। नर्सिङ विषय पढेकी हुँदा सुभद्रा अस्पतालमा नर्सको काम काम गर्थी। चेतनले भने लामो समयसम्म काम पाउन सकेन। काम मिल्ने संकेत देखिएको थियो एकताका, कोरोना महामारीका कारण त्यतिकै रोकियो। कोरोनाको रोगी भेटिनासाथ टोलै सिल गरी आवत्जावत बन्द गरिन्थ्यो। त्यतिमात्र कहाँ हो र ? रोग संक्रमणको डरले मृतकको अन्तिम संस्कारसमेत सरकार आफैंले गरिदिन्थ्यो।
यस्तै परिस्थितिबीच सदीक्षाले ‘कोरोनाग्रस्त भएको जानकारी दिँदै केही दिन अस्पतालमैं रहने’ जानकारी पठाई। साथै रोग संक्रमणको भय देखाउँदै भेटघाट गर्न नआउन चेतनलाई सचेत गराई। चेतनले त्यसै गर्यो। स्थिति पनि त्यस्तै थियो त्यतिबेला। सुभद्रा १२–१५ दिनपछि अस्पतालबाट डिस्चार्ज भई आउनुपथ्र्यो, तर आइन। तब सुभद्राको स्वास्थ्यलाई लिएर चेतनको चिन्ता बढ्न थाल्यो। ऊ सुभद्राका बारेमा हुँदो नहुँदो सोच्न थालिसकेको थियो। चेतन अन्ततः सत्य–तथ्य बुझ्न अस्पताल गयो। तर न सुभद्रा अस्पतालमा भेटिई, न त ऊ बिरामी भएको पुष्टि हुन नै सक्यो ! परिणमतः चेतन डिप्रेसनमा पुग्यो।
महिनौं यसरी नै बिते। यता, बासुदेव र ललिताले छोराबुहारीसँग बोल्न नपाएको लामो समय बितिसकेको थियो। उनीहरूले अमेरिका बस्ने अन्य व्यक्तिमार्फत चेतनको सोधखोज अघि बढाए। यस कार्यमा न्युजर्सीमै रहने नितेश नाम गरेको युवाले ठूलो मद्दत पुर्यायो। नितेश चेतनलाई खोज्दै उसको डेरासमेत पुग्यो। नितेश पुग्दा चेतन डेरामा थिएन। उसले त्यहाँ बाबु बासुदेव र आमा सुभद्रालाई सम्बोधन गरी चेतनले लेखेको डायरी भेट्टायो। उसले उक्त डायरी काठमाडौं जाने नेपालीका हात बासुदेव र ललिताकहाँ पठाइदियो।
बासुदेव र ललिताले अत्तालिँदै डायरी पढे– ‘...हामी अमेरिकाको स्वच्छन्द वातावरणमा भिज्दै गैरहेका थियौं। करिब एक वर्षसम्म हाम्रो दाम्पत्य जीवनको डुंगा राम्रै चल्यो पनि। त्यसपछि हामीबीचको सम्बन्ध बिग्रिँदै जान थाल्यो। सुभद्रा मलाई हरेक क्षण नालायक सिद्ध गर्न खोज्थी। पछि त ऊ कोरोनाग्रस्त भएको झुटो बहाना बनाएर अन्यत्रै रात बिताउन थाली। पशुलाई पो दाम्लो। मान्छेलाई ... ? ऊ भिक्टर नामको युवाकी भइसकेकी रैछे ! मेरो बुवा ! यहाँको समाज चरम उपभोक्तावादी समाज हो। यहाँ लोग्नेस्वास्नीबीचको सम्बन्ध पनि बजारबाट खरिद गरी ल्याएको लुगाको जस्तो हुने गर्छ। मन लागुञ्जेल लगायो, त्यसपछि फालिदियो ! धन ठूलो कि मन ? भन्ने हिज्जेमा धनले जित्ने गर्छ यहाँ !
प्यारी आमा !
लाउँदालाउँदैको चुरा प्याट्ट फुटेजस्तै रहेछ, मृत्यु। जीवन डुंगा कुन मोडमा दुर्घटनाग्रस्त हुन्छ, त्रिकालदर्शीले समेत भेऊ पाउन सक्दैन। सुभद्रा भिक्टरकी भएको केही समयपछिको कुरा हो। त्यस रात इन्डियाना नाइट क्लब युद्धग्रस्त मुलुक युक्रेनजस्तै थियो। १७ वर्षे सन्की युवाले एके ४७ बाट चलाएको गोली लागी एक दर्जन निर्दोष मानिस मारिए। मारिनेमा भिक्टर र ‘तराना’ नाम गरेकी युवतीसमेत सामेल थिए।
भिक्टर र तराना मारिएको समाचार संसारको कुनाकुनामा पुग्यो। कतिपय सञ्चारमाध्यमले तरानालाई भारतीय महिला भनी उद्धृत गरे। कतिपयले उसलाई पाकिस्तानी भएको बताए त अन्यले अरबी मूलकी युवती भनी न्युज बनाए। पछि थाहा भयो, सुभद्रा नै तराना थिई। भिक्टरसँग विवाह गरेपछि तराना नाम राखेकी रैछे उसले।
गएराति ममाथिसमेत गोली प्रहार भयो। म मरें। मरेको मर्र्यै हुन पनि सक्थें म। परन्तु सपना थियो र पो। म डराउनुसम्म डराएँ। अथवा यसो भनौं, डरकै कारण पुनः अर्को मृत्यु मरें। कसैले भनेको छ– काउवार्ड डाई मेनी टाइम्स बिफोर हिज डेथ !
आमा ! यस देशलाई स्वर्ग ठान्नु भ्रम रहेछ मेरो ! खासमा यो मेसिनहरूको देश हो। रोबोटहरूको सहर हो। रोबोटसँग संवेदना हुँदैन। मेसिनलाई दया, माया, करुणा र बन्धुत्वको भावनाले छुँदैन। यस देशमा जो पनि आउँछ, मेसिन बन्ने प्रशिक्षण लिन्छ। मेरो देशमा कालो ढुंगाले समेत शालिग्राम बन्ने गन्तव्य चुन्छ।
नेपालमा अव्यवस्था जरुर छ। किन्तु दया, माया, करुणा, साथै जिउने साथै मर्ने अजम्मरी फूल विश्वमा कहीँ फुल्छ भने त्यो मेरो देशमा फुल्छ। हाम्रा, हजारौं, लाखौं बाआमा, दिदीबहिनी, दाजुभाइले त्यस फूललाई गोडमेल गरी हुर्काउँछन्। ब्रह्माण्डमा स्वर्ग नामको प्रदेश कहीँ छ भने त्यो मेरो देशमैं छ। म यस नर्कबाट छिटोभन्दा छिटो मुक्त हुन चाहन्छु।’
डायरी पढिसक्दा बासुदेव र ललिताको आँखा आँसुको तलाउमा बदलिइसकेका थिए। ललिता आकाशतिर हेर्दै निकैबेर मौन रही। उसले देखी सक्रिय मनसुनी बादलले आकाशलाई घेर्दै लगिरहेको थियो। हेर्दाहेर्दै सम्पूर्ण आकाशलाई कालो बादलले ढपक्क ढाक्यो। धर्ती नै चिरा पर्ने गरी बिजुलीको लप्का खस्यो। मेघ डरलाग्दो गरी गज्र्यो। हुरीबतासको साथ मुसलधारे वर्षा भयो। दृश्य टिठलाग्दो थियो। चाहेर पनि सहयोग गर्न नसक्नु ! तमासे बनी हेरिरहनु ! ललिताले कोइलीका बचेरासँग छोरो चेतनको तुलना गरी अनि पश्चिम दिशातिर हेरिरही।
अन्ततः नितेसले चेतनलाई फेला पार्यो। चेतन त्यति बेला पागलजस्तै लाग्थ्यो। बेसुरका कुरा गर्दथ्यो। नितेशले चेतनलाई अविलम्ब काठमाडौं पठाउने तारतम्य मिलायो। यस प्रकार, अमेरिका पुगेको तीन वर्ष नबित्दै चेतन मानसिक
रोगीका रूपमा काठमाडौं फर्कियो। ऊ आउँदा एयरपोर्टको वातावरण अमेरिका जाँदाको जस्तो रौनकमय थिएन। चेतनलाई लिन बासुदेव र ललिता गुपचुप विमानस्थल पुगेका थिए।