संस्कृत र पाश्चात्य साहित्यका सौन्दर्य–चिन्तनमा आएका नवीन पद्धति र प्रवृत्तिालाई केलाउने यो बृहत् समालोचनाग्रन्थ मानक बनेर आएको छ।
कुनै पनि सिर्जनाको सत् र असत् विचारलाई सम्यक् रूपमा विवेचना गर्नु नै समालोचना हो। समालोचनाले सिर्जनाको गरिमा बचाउन ठूलो भूमिका खेलेको हुन्छ। कालक्रमअनुसार सिर्जनाका गति, नीति र पद्धति परिष्कृत भएजस्तै समालोचनाका पनि विश्वसाहित्यमा विकसित भएका नवीन दृष्टिकोण, चिन्तन, पद्धति र प्रयोगहरू आइरहेपछि मात्र साहित्य र समालोचनाले विश्वसनीयता पाउँछ। यसै सन्दर्भमा २०७९ मा रत्न बृहत् नेपाली समालोचना (भाग ३) प्रकाशित भएको छ।
रत्न पुस्तक भण्डारको प्रकाशनमा समालोचकद्वय प्रा. राजेन्द्र सुवेदी र प्रा.डा. लक्ष्मणप्रसाद गौतमको सम्पादनमा तयार पारिएको रत्न बृहत् नेपाली समालोचना सैद्धान्तिक खण्ड (भाग १ र २) एक दशकअगाडि छुट्टाछुट्टै रूपमा बजारमा आइसकेका छन्। तेस्रो भागको रूपमा यसमा भने सिद्धान्त र सिद्धान्तनिष्ठ प्रायोगिक खण्ड दुवैलाई समेटिएको छ। जुन विश्वसाहित्यको अपेक्षाअनुरूप नवीन सिद्धान्त, विधि, पद्धतिको प्रयोग छ। नेपाली समालोचनाको इतिहासलाई गर्विलो बनाउन मद्दत गर्ने यस समालोचना ग्रन्थभित्र ३४ विद्वान्का लेख छन्। ग्रन्थमा ६ ओटा खण्ड छन्। ग्रन्थमा ‘विषयारम्भ’, ‘समालोचना, आधुनिक नेपाली समालोचनाको सैद्धान्तिक पृष्ठाधार’, ‘उत्तरवर्ती सैद्धान्तिक समालोचनाका अभिलक्षण र नेपालीमा उत्तरवर्ती समालोचनाको आरम्भ’, ‘उत्प्रेरणाः प्रायोगिक समालोचनाका आधारभूत मापदण्ड’ र ‘निष्कर्षण’ पाइन्छ। यसरी समालोचनाको उद्भव, सिद्धान्त, प्रायोगिक समालोचनाको विविध प्रकार र स्वरूप आदिबारेमा विशद् चर्चा गरिएको छ।
पहिलो खण्डको पूर्वीय वाङ्मय र सौन्दर्यविमर्श शीर्षकमा ‘भामहपूर्वको काव्यशास्त्रीय चिन्तन’, ‘समालोचनामा पौरत्स्य दर्शनका मानदण्ड र नेपालीमा तिनको प्रयोग’, ‘वैदिक वाङ्मयको स्वरूप र स्फोटवाद ः भाषिक’ र ‘साहित्यिक अध्ययनको उपजीव्य सिद्धान्त’ गरी चार उपशीर्षक छन्। दोस्रो खण्डमा पाश्चात्य नवीन सौन्दर्यविमर्श शीर्षकको नौओटा आलेख छन्। ती आलेखमा ‘विनिर्माणवादी समालोचनाको सिद्धान्त’, ‘डायस्पोराको सिद्धान्त’, ‘विधाविघटन र विधामिश्रण’, ‘साहित्यमा मनोविज्ञानको समकालीन सन्दर्भ’, ‘भौगोलिक समालोचनाको सैद्धान्तिक स्वरूप’, ‘साइबर समालोचना’, ‘अधिआख्यानको सिद्धान्त’ र ‘संकेन्द्रीकरणको सैद्धान्तिक पक्ष र कृति विश्लेषणका आधार’ रहेका छन्। तेस्रो खण्डको अन्तर्विषयक विमर्श शीर्षकभित्र नेपाली साहित्यमा कुसंकेतनता र अपांगता, सीमान्तीकरणको अवधारणा र भारतीय नेपाली कवितामा यसको प्रयोग, उत्तरवर्ती नेपाली कविताको पर्यावरणीय पठन, उत्तरवर्ती नेपाली निबन्धको समाजशास्त्रीय पठन र लैंगिक समालोचनाका सैद्धान्तिक आधार र विश्लेषण गरी पाँच उपशीर्षकका लेखहरू समाविष्ट छन्।
चौथो खण्डको लोकसाहित्यको विमर्श शीर्षक यस खण्डमा ‘लोकसाहित्यको अध्ययनमा प्रगतिवादी पद्धति’, ‘लोकसाहित्यको अध्ययनका प्रमुख पद्धति’ र ‘लोकसाहित्यको सन्दर्भपरक अध्ययन’सँग सम्बन्धित लेखहरू निरूपित छन्। पाँचौं खण्डमा विधागत सौन्दर्यविमर्श शीर्षक दिई ‘आत्मवृत्तान्तको सैद्धान्तिक स्वरूप’, ‘नाटकको रंगशिल्प सिद्धान्त’, ‘समकालीन नेपाली समालोचना ः स्वरूप र प्रयोग’, ‘कविताका आधारभूत मानक र तिनको मूल्यांकनका प्रमुख आधार’, ‘उत्तरवर्ती नेपाली गीतिनाटकमा मञ्चनीयता’, ‘नेपाली आख्यान र कविताको नाट्यायन र जीवनीको सैद्धान्तिक स्वरूप’ सातओटा देहायका उपशीर्षकसँग सम्बन्धित लेख समावेश छन्। अन्तिम खण्डमा विविध विमर्श शीर्षकमा केन्द्रित भई ‘विजय मल्लको ‘कुमारी शोभा’ उपन्यासमा सांस्कृतिक चेतना’, ‘पाठालोचनको सिद्धान्त र नेपालीमा त्यसका प्रारम्भिक प्रयोग’, ‘अलंकार र फिगर अफ स्पिच’, ‘पाठनिर्माणका युक्ति : संसक्ति र संयुक्ति’, ‘स्वैरकल्पना सिद्धान्त र विश्लेषण’, ‘साहित्येतिहास लेखनका सैद्धान्तिक मानदण्ड र नेपाली साहित्यको इतिहासलेखनमा यसको प्रयोग’ र आनुभाविकता विश्लेषणको प्रायोगिक पक्ष गरी सात उपशीर्षकका लेख छन्।
ग्रन्थमा नेपाली समालोचनामा वर्तमानमा कलम चलाइरहेका पुरानो पुस्ताका राजेन्द्र सुवेदी, त्यसपछिको पुस्ताका लक्ष्मणप्रसाद गौतम, कपिल लामिछाने, खगेन्द्रप्रसाद लुइँटेल, एकनारायण पौडेल, दुर्गाबहादुर घर्ती, त्यसपछिको पुस्ताका नारायण चालिसे, रजनी ढकाल, साधना प्रतीक्षा, ज्ञानु अधिकारी, गीता त्रिपाठी, प्रेम चौलागाईं आदिका समालोचना छन्। पेम्पा तामाङ, रेमिका थापा, नवीन पौडेलजस्ता भारतीय नेपाली समालोचकका समालोचनासमेत समावेश हुनु ग्रन्थको उल्लेखनीय पक्ष हो। तर अहिले नेपाली समालोचनामा ‘साझा समालोचना’को युग छैन।
समय गतिशील छ, समयको गतिसँगै सिर्जनाहरूमा पनि नयाँपन आएका छन्। संस्कृत र पाश्चात्य साहित्यका सौन्दर्य–चिन्तनमा आएका नवीन पद्धति र प्रवृत्तिलाई केलाउने यो बृहत् समालोचनाग्रन्थ मानक बनेर आएको छ। अन्त्यमा, प्राज्ञिक अभियानलाई सार्थक बनाउने प्रकाशन गृह रत्न पुस्तक भण्डार धन्यवादको हकदार बनेको छ।