नगरपालिकाले दियो सर्पदंश केन्द्रलाई निःशुल्क औषधि
उदयपुर : सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केलाई उदयपुरको त्रियुगा नगरपालिकाले शनिबार पाँच लाख मूल्य बराबरको औषधि निःशुल्क उपलब्ध गराएको छ।
चालु आर्थिक वर्षको विनियोजित बजेटबाट नगरपालिकाले सर्पको टोकाइबाट हुने उपचारका लागि ५४ प्रकृतिका औषधि खरिद गरी निःशुल्क उपलब्ध गराएको हो।
औषधि हस्तान्तरण गर्दै मेयर बसन्तकुमार बस्नेतले उपलब्ध औषधि मुलपुँजीका रूपमा लिई आगामी वर्षहरूमा निरन्तरता दिन आग्रह गरे। उनले भने, ‘यो तपाईंहरूका लागि मुल पुँजी हो यसबाट बिरामीलाई सुपथ मूल्यमा बिक्री गरेर आम्दानी गर्नुहोस् र त्यहीँबाट आगामी वर्ष औषधि खरिद गर्नुस्। ‘सधैं मागेर चलाउने भन्दा पनि यसको निरन्तरता आत्मनिर्भर कसरी हुन सक्छ योजना बनाउनुस्,' मेयर बस्नेतले भने, ‘यस्तो पवित्र कार्यमा व्यक्ति, संघसंस्था आजीवन सदस्य र साधारण सदस्य बन्न सक्छन् त्यसका लागि विधानलाई फराकिलो बनाई विस्तार गर्नुस् जसले निरन्तर सञ्चालनमा सहयोग पुग्छ।'
सर्पदंश उपचार केन्द्रलाई प्रभावकारी बनाउने नगरसभाले नीति तथा कार्यक्रम नै पारित गरिसकेकाले स्तरवृद्धिका लागि सहयोग गर्ने उनले बताए। बस्नेतले भने, ‘शिक्षा, स्वास्थ्य र कृषि त्रियुगा नगरको प्राथिमकतामा छ, त्यसका लागि रेफर सेन्टर बनेको जिल्ला अस्पताललाई अहिले छिमेकी जिल्लाको समेत उपचार केन्द्रका रूपमा विकास गरेका छौं र केही दिन भित्रै मुटुका रोगीको डाईलासिस र भेन्टिलेटर सेवा प्रवाह गर्नेछौं।'
नेपाली सेनाको १८ नम्बर वाहिनीको प्राविधिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रमा २०७९ सालमा २ सय ३३ जना महिला, २ सय पुरुष गरी ४ सय २५ जनालाई सेवा प्रवाह गरिएको सचिव यदुप्रसाद ढकालले बताए। त्यसमध्ये ७४ जनालाई विषालु र ३ सय ५१ जना अविषालु सर्पले टोकेका व्यक्तिको उपचार गरिएको उनले बताए।
त्यसैगरी २०८० सालको असार २१ गतेसम्म २९ जना महिला र २३ जना पुरुष गरी ५३ ले सेवा लिएको उनले बताए। उपचार केन्द्रमा बजेट अभावका कारण रङरोगन, विद्युत वाईरिङ, फर्निचर खरिद लगायतका कामहरू अझै बाँकी रहेको बताए।
अध्यक्ष पवित्रा गिरीले सामान्य शुल्कबाट उपचार केन्द्र सञ्चालन गर्नु परेकाले खर्च धान्न गार्हो परेको बताईन्। उनले भनिन्, ‘हरेउ सर्पले टोकेका विरामी एक हप्तासम्म उपचार केन्द्रमा बस्नु पर्छ त्यसमा तीन हजार रुपैयाँको औषधि खपत हुन्छ हामीले एक हजार रुपैँया लिन्छौं, यसले गर्दा धान्न सक्ने अवस्था छैन।'
वडाध्यक्ष तिलक कटुवालले वडाबाट प्रशासनिक खर्चमा सहयोग गर्ने बताए। १८ नम्बर वाहिनीका सेनानी सुवास थापाले प्राविधिक सेवा निरन्तर दिने बताए।