एकीकृत बस्ती, बस्नलाई सास्ती
नेपालीका लागि घर भनेको केवल चार पर्खालभित्रको कोठा र त्यसमाथिको छानोमात्रै होइन भन्ने बुझेनौं। बस्ती त एकीकृत नै जाति हो, तर त्यसलाई पूर्वाधारहरूसँग पनि जोड्नुपर्छ, जीविकोपार्जनसँग जोड्नुपर्छ।
प्राकृतिक विपद्बाट विस्थापितहरूलाई पुनस्र्थापनाका लागि एकीकृत बस्ती बनाउने कुरा सुन्दा कर्णप्रिय हुन्छ। ठाउँ–ठाउँमा एकीकृतमात्रै होइन, एकीकृत नमुना बस्ती पनि बनाइएका छन्। नमुना भनेको त्यो हो, जुन अनुशरणीय हुन्छ। हाम्रो मुलुकमा बनाइएका एकीकृत नमुना बस्ती भने असफलताका नमुना अर्थात् उदाहरण बनेका छन्। कालिकोटको रास्कोट–७ पोखरीकोटको एकीकृत बस्ती होस् या गोरखा लाप्राकको एकीकृत बस्ती अथवा इटहरी उपमहानगरमा मुसहरका लागि बनाइएको एकीकृत बस्ती या सुर्खेत गुर्भाकोटमा निर्मित मुक्त हलियाको बस्ती। सबै बिफल भएका छन्।
वास्तवमा, एकीकृत बस्ती विकास विदेशी सापटी ज्ञान हो, त्यो पनि अर्धनक्कल। नेपालको र विदेशको चरित्र फरक छ, संस्कृति फरक छ, जीवनशैली फरक छ। नेपालकै सहर र गाउँको चरित्र र जीवनशैली फरक छ। सहरमा व्यवसाय वा पेसामा मानिसहरू व्यस्त हुन्छन्। गाउँमा कृषिमा निर्भर जीवन छ। सहरमा एउटा दुईचार कोठाको एउटा घर भएपछि व्यवसाय वा जागिरका भरमा जीवन सजिलै चल्छ। गाउँमा घरमात्रै भएर पुग्दैन, खेतबारी पनि चाहिन्छ, आखिर गाउँमा न रोजगारीको अवसर छ न अरू कुनै उद्यम धन्दाको।
गोरखाका भूकम्प प्रभावितलाई गुम्सीपाखामा घर बनाइयो र भनियो— एकीकृत नमुना बस्ती। तर, त्यहाँ न फराकिलो आँगन छ, न गाईभैंसी वा भेडाबाख्रा पाल्ने गोठका लागि ठाउँ। झन् कालिकोट रास्कोट पोखरीकोटको नमुना बस्तीका घर नै कमसल गुणस्तरका भइदिए। भीरपाखामा ठडिएका घर बाहिरबाट हेर्दा चिटिक्क छन्, त्यहाँ बसेर जीवन चिटिक्क पार्ने उपाय छैन। घरसँगै जीविकोपार्जनसँग जोडिने आधार छैन। अरू पूर्वाधार केही छैन। त्यसैले कर्णाली प्रदेश सरकारले ५ करोड खर्चेर पहिरो प्रभावितलाई बनाइदिएका ७३ मध्ये अधिकतर घर खण्डहर बन्दै छन्।
चिन्तक प्रदीप गिरीले अमेरिका वा कुनै विकसित देशमा विद्यावारिधि गरेर आएका विद्वानको प्रसंगमा भन्थे, ‘बाहिरबाट पढेर आएका र नेपालको हकमा धान र गहुँको फरक नबुझ्ने, आलु र प्याजलाई पानी चाहिन्छ कि चाहिँदैन ? यो दुइटा कुरा भन्न नसक्ने।’ हो, हामीले धेरै मानिसलाई भीरपाखामा छरिएर बस्न दिनुभन्दा एकै ठाउँमा बस्ती बसाल्नु राम्रो हुन्छ भन्ने विदेशी ज्ञान सिक्यौं वा नक्कल त गर्यौं तर हाम्रो आफ्नै जीवनशैली र संस्कृति भुल्यौं।
त्यसैले नमुना भनेर निर्मित रास्कोट वा लाप्राकका एकीकृत बस्ती व्यर्थ भए। नेपालीका लागि घर भनेको केवल चार पर्खालभित्रको कोठा र त्यसमाथिको छानोमात्रै होइन भन्ने बुझेनौं। बस्ती त एकीकृत नै जाति हो, तर त्यसलाई पूर्वाधारहरूसँग पनि जोड्नुपर्छ, जीविकोपार्जनसँग जोड्नुपर्छ।