अब जानुपर्दैन कालापहाड
सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिका–२, च्युरीखेतका बासिन्दाको मजदुरीका लागि कालापहाड (भारत) धाउनुपर्ने बाध्यता अचेल छुटेको छ। उनीहरू तरकारी खेतीमा लागेपछि गाउँमै आम्दानी बढेकाले मजदुरीका लागि बिदेसिने क्रम रोकिएको हो।
च्युरीखेतका बासिन्दा पछिल्लो समय तरकारी खेतीमा आकर्षित भएका छन्। च्युरीखेत निवासी लक्ष्मी रोकायालाई घर खर्च धान्न धौ–धौ हुन्थ्यो। गाउँमा उत्पादन भएको अन्नले वर्षभरि खान पुग्थेन। एकातिर छाक टार्ने पिरलो, अर्कोतर्फ रोजगारी नहुँदाको चिन्ताले लक्ष्मीलाई वर्षौंसम्म सतायो। तर, हिजोआज व्यावसायिक तरकारी खेतीमा लागेपछि उनको अवस्था बदलिएको छ।
धान र गहुँको साटो तरकारी खेती गर्न थालेपछि उनको आम्दानी बढेर तेब्बर भएको छ। उनले वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्न थालेकी छन्। ‘पुरानो खेती छोडेपछि हाम्रा दिन पनि फेरिए,’ लक्ष्मी भन्छिन्। ‘पहिले यही जग्गामा फलेको धान र गहुँले वर्षभरि छाक नै टर्थेन, छोराछोरीको पढाइ खर्च पनि जुटाउनै हम्मेहम्मे हुन्थ्यो।’
- गाउँमा आम्दानी नभएकाले च्युरीखेतका बासिन्दा पहिला मजदुरी गर्न भारतको कालापहाड जान्थे
- तरकारी खेती थालेपछि आम्दानी तेब्वरले वृद्धि
- च्युरीखेतका छिमेकी गाउँका किसान पनि तरकारी खेतीको सिको गर्दै
गाउँमा हिजोआज अधिकांशले आधुनिक प्रविधिको प्रयोग गर्दै व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेको वडा सदस्यसमेत रहेका किसान भीमराज बुढाले बताए। उनकाअनुसार स्थानीयले हिउँदमा प्याज, लसुन, बन्दा र काउली लगाउने गरेका छन्। बर्खाको समयमा भने टमाटर, खुर्सानी, बोडी, काँक्रा, सिमी र करेलाको व्यावसायिक खेती हुने गरेको छ। नर्सरी नै स्थापना गरेर किसानले तरकारीका बेर्ना पनि बिक्री गर्दै आएका छन्। उनी भन्छन्, ‘टमाटर र लसुनको खेतीबाटै वर्षमा ४ लाख रुपैयाँसम्म आम्दानी हुन्छ। घरमै बसेर तरकारी खेतीबाटै तेब्बरभन्दा बढी आम्दानी हुन थालेपछि अब जागिर नै किन चाहियो ? मजदुरीका लागि कालापहाड (भारत) धाउनुपर्ने गाउँलेको बाध्यता पनि अचेल छुटेको छ।’ तरकारी खेतीमा लागेपछि गाउँमै आम्दानी बढेको र युवायुवती पनि मजदुरीका लागि विदेशीनेक्रम रोकिएको उनको भनाइ छ।
स्थानीयले हरियाली कृषि तथा पशुपालन कृषक समूह गठन गरेर व्यावसायिक तरकारी खेती थालेका छन्। समूहमा १९ परिवार आबद्ध छन्। समूहमा संगठित भएका किसानले गाउँमा उत्पादन भएको तरकारी संकलन गरेर वीरेन्द्रनगर, बाबियाचौर र बड्डीचौर लगायतका बजारसम्म पठाउने गरेका छन्। गाउँमै तरकारी संकलन केन्द्र स्थापना भएको छ भने तरकारी ढुवानीका लागि समूहले गाडी पनि खरिद गरेको छ। कृषक समूहकी कोषाध्यक्ष कमली रोकाया भन्छिन्, ‘संकलन केन्द्र स्थापना भएपछि गाउँमा उत्पादन भएको तरकारी बिक्री गर्नलाई कुनै समस्या छैन।’
किसानलाई व्यावसायिक रूपमा तरकारी खेतीमा आकर्षित गर्दै उनीहरूको जीवनस्तरमा सुधार ल्याउनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्राविधिक तथा भौतिक सहयोग गरेको छ। कृषक समूहका अध्यक्ष नन्दे बुढाका अनुसार परियोजनाले गाउँमा तरकारी संकलन केन्द्र स्थापनाका लागि पाँच लाख रुपैयाँ, तरकारी ढुवानीका लागि एउटा गाडी, डिजिटल तराजु, मिनी टिलर, प्लाष्टिक घर र सिँचाइ कुलोसमेत निर्माण गरिदिएको छ। आफूहरूले तरकारी खेतीबाट आम्दानी गर्न थालेपछि त्यसको सिको छिमेकी गाउँका किसानले पनि गर्न थालेको बुढाले बताए। उनका अनुसार तरकारी खेतीबाट आम्दानी हुन थालेपछि स्थानीयले पछिल्लो समय छोराछोरीलाई सहरमा राखेर पढाउन थालेका छन् भने विगतमा मजदुरीका लागि कालापहाड धाउने युवाहरूले बाध्यता पनि हटेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुर्खेतमा २०७३ सालदेखि किसानलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। परियोजनाले जिल्लाका विभिन्न पालिकामा तरकारी, अदुवा, बेसार र मकै खेतीको पकेट क्षेत्र तथा जोन नै तोकेर किसानलाई सहयोग गर्दै आएको छ। परियोजना कार्यान्वयन इकाई सुर्खेतका प्रमुख पुष्पराज पौडेलका अनुसार परियोजना सुरु भए यता किसानको जीवनस्तरमा सुधार भएको र उनीहरू व्यावसायिक खेतीमा आकर्षित भएको उनको भनाइ छ।