कोसी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादीबाट दुई र कांग्रेसबाट एकजना मन्त्री थपिए

कोसी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादीबाट दुई र कांग्रेसबाट एकजना मन्त्री थपिए
शपथ लिँदै नवनियुक्त मन्त्रीहरू । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले विस्तार गर्दै मन्त्रिपरिषद् ६ सदस्यीय बनाएका हुन् । मुख्यमन्त्री थापाले आइतबार थप ३ जना मन्त्री नियुक्त गरे । नेकपा (माओवादी केन्द्र)बाट मोरङका जीवन आचार्य र संखुवासभाका राजेन्द्र कार्की तथा नेपाली कांग्रेसबाट उदयपुरका रामकुमार खत्रीलाई मन्त्री नियुक्त गरिएको हो । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

आचार्यको नेतृत्वमा माओवादी सरकारमा सहभागी भएको हो । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी यसअघि नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि पर्यटन,वन तथा वातावरण मन्त्री थिए । 

यसअघि शुक्रबार नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगू र कांग्रेसबाट प्रदीप सुनुवार मन्त्री बनिसकेका छन् । आचार्यबाहेक अरु मन्त्रीहरु बिना विभागीय छन् । कांग्रेसबाट मन्त्री बनेका खत्री संस्थापनइतर अर्थात डा.शेखर कोइराला समूहका हुन् । 

पूर्वसहमतिविपरीत मुख्यमन्त्री थापाले मन्त्री नियुक्त गरेको भन्दै गठबन्धनभित्र विवाद सुरु भएको छ । मन्त्री नियुक्तिलाई लिएर एकीकृत समाजवादीले आपत्ति जनाएको हो । समाजवादी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईका अनुसार सुरुमा सबै दलबाट एक–एकजना मन्त्री नियुक्त गर्ने सहमति थियो । पूर्वसहमति तोडेर मुख्यमन्त्री थापाले मन्त्री नियुक्त गरेको राईले बताए । 

सहमति तोडेर अघि बढ्ने हो भने गठबन्धनबीचको सहकार्य तोडिनसक्ने र मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने चेतावनी उनको छ । मुख्यमन्त्री थापाले शुक्रबार गठबन्धनका सबै दलबाट एक–एकजना मन्त्री नियुक्तिको तयारी गरेका थिए । 

तर, माओवादीले मन्त्रीको नाम पठाउन नसक्दा जबेगू र सुनुवार मात्रै मन्त्री बने । जसपाले भने मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागी हुने जनाएको छ । कांग्रेस संसदीय दलका नेता थापालाई गत बिहीबार प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । 

कांग्रेस, माओवादी,समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का ४६ प्रदेशसभा सदस्य र सभामुख बाबुराम गौतमसमेतको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । असंवैधानिक हिसाबले मुख्यमन्त्री नियुक्त गरिएको र तटस्थता बिर्सिएर सरकार गठनमा सभामुख सहभागी भएको भन्दै तीव्र विरोध भइरहेको छ  । 

कोसीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले)ले सर्वोच्च अदालतमा रिट दिएको छ। रिटमाथि आज सुनुवाइ हुँदैछ। सुनुवाइअघि नै आजै मुख्यमन्त्री थापाले तीनजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.