दुई सातामै तयार भयो बेलिब्रिज
बेनी : म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तर्गत भुरुङखोलामा दुई हप्तामै बेलिब्रिज जडान गरिएको छ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ खोलामा करिब ३५ लाख रुपैयाँँको लागतमा ३० मिटर लामो बेलिब्रिज जडान भएको जनाएको छ। सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको बेलिब्रिजलाई भुरुङ खोलामा स्थानान्तरण गरिएको आयोजना प्रमुख जगत प्रजापतिले बताए।
‘भुरुङखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो,’ उनले भने ‘बर्खायाममा बाढी आउँदा पनि बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलिब्रिज राखिएको हो।’
असार पहिलो साता सुरु गरिएको बेलिब्रिज जडानको काम सकिएर यातायातका साधन आवतजावत गर्न थालेको अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य बीरबहादुर पौडेलले जानकारी दिए। ‘कल्भर्ट बढाएपछि भुरुङ खोलामा बाढी आउँदा सवारीसाधन आवतजावत अबरुद्ध हुने समस्या थियो,’ उनले भने ‘म्याग्दी र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तिर्थयात्री समस्यामा परेका थिए। बेलिब्रिज सञ्चालन भएपछि सहज भएको छ।’
लेतेखोलामा पक्कि पुल बनेपछि त्यहाँको बेलिब्रिजको सामान सडक डिभिजन कार्यालय पोखरा लगिएको थियो। पोखराबाट बेलिब्रिजको पाटपुर्जा ल्याएर भुरुङ खोलामा राखिएको हो।
बेनी–जोमसोम सडक आयोजनाले हालै बेनी नगरपालिका–८ कालीपुलदेखि पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाँट जोड्ने म्याग्दी नदीमाथि ४५ मिटर लामो बेलिब्रिज जडान गरेको थियो। गत फागुनमा २ करोड ४ लाख रुपैयाँँमा ठेक्का सम्झौता गरेको हिमालयन विल्डर्सले जेठमै बेलिब्रिज जडानको काम सकेर यातायात सञ्चालन भइसकेको छ। बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण–३ दानास्थित रुप्से खोलामा ४५ मिटर लामो बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ।
रुप्सेखोलामा बेलिब्रिज जडान र नजिकैको पहिरो हटाउन मुक्तिनाथ निर्माण सेवाले ३ करोड ५६ लाख रुपैयाँँमा ठेक्का सम्झौता गरेको थियो। असार महिनाभित्रै रुप्सेको बेलिब्रिजमा यातायातका साधन सञ्चालन हुने गरी तिब्रताका साथ जडानको काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए।