न्यायाधीश नियुक्ति छिट्टै हुन्छ : प्रधानन्यायाधीश कार्की
विराटनगर : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानन्यायाधीश कार्कीले न्याय परिषदको बैठक बसेर यसलाई छिटो टुंगोमा पुर्याउने बताए।
उनले न्यायपरिषद्को संरचनामा केही परिवर्तनको आवश्यकता भएको बताए। आफ्नो नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार कार्यान्वयन जरुरी रहेको उनको भनाइ छ। उनले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली लागू भएपछि सहज भएको दावी गरे।
'जिल्ला तथा उच्च अदालतमा दुई जोड शून्य अभियान सञ्चालनबाट दुई वर्ष नाघेका मुद्दा नगन्य अवस्थामा छन्। आगामी दिनमा मुद्दाको प्रकृतिअनुसार छ महिना, एक वर्ष र १८ महिनाको पात्रो बनाएर काम गर्नुपर्छ,'उनले भने।