यातायात क्षेत्रलाई लागूऔषध मुक्त बनाउन कोसीमा ट्राफिक सक्रियता
विराटनगर : सार्वजनिक यातायातको क्षेत्रलाई लागूऔषध मुक्त बनाउन कोसी प्रदेशमा ट्राफिक प्रहरीको सक्रियता बढाइएको छ।
सार्वजनिक यातायातका चालकले लागूऔषध सेवन गरेर सवारीसाधन चलाउने गरेको जनगुनासो बढेसँगै ट्राफिक कारबाही तीव्र पार्न अभियान सञ्चालन गरेको हो। यसअघि विभिन्न स्थानमा परीक्षण गर्दा चालकले लागूऔषध सेवन गरेर सवारीसाधन चलाउने गरेको पत्ता लागेको थियो। सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक, सहचालक तथा परिचालकलाई लक्षित गरेर आइतबारदेखि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सुरु गरेको हो।
कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले झापाको काँकडभिट्टामा अभियानको उद्घाटन गरे। उनले सार्वजनिक सवारीको क्षेत्रलाई सुरक्षित बनाउन र बढ्दो दुर्घटना न्यूनीकरण गर्न अभियान फलदायी हुने अपेक्षा गरिएको बताए। बास्तोलाका अनुसार चालकले लागूऔषध र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढिरहेको पाइएको छ।
कोसी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोका अनुसार प्रदेशका १४ वटै जिल्लामा एकैसाथ अभियानको उद्घाटन गरिएको हो। ‘१४ वटा जिल्लाका विभिन्न २० स्थानमा अभियानको सुरुवात गरिएको छ,’ उनले भने, ‘अभियानलाई सफल बनाउन र दुर्घटनाबाट हुने मानवीय एवं भौतिक क्षति रोक्न सबै पक्षको सहयोग अपरिहार्य छ।’
प्रदेश राजधानी विराटनगरमा पनि सवारीसाधनका कर्मचारीलाई लक्षित गरेर लागू पदार्थ सेवन (लापसे) चेकजाँच अभियानको सुरुवात गरिएको छ। अभियानको उद्घाटन मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले गरे। ‘सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक)लाई लक्षित गरेर लापसे चेकजाँच अभियान सुरु भएको छ,’ पोखरेलले भने, ‘अभियानले बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने अपेक्षा छ।’ उनले ट्राफिकको महत्वपूर्ण र विशेष अभियानमा सबै पक्षले साथ दिनुपर्ने पनि बताए।
सवारी चालकलाई लक्षित गरेर मादक पदार्थ सेवन (मापसे) नियन्त्रण अभियान ट्राफिक प्रहरीले लामै समयदेखि सञ्चालन गरिरहेको छ। ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे/नगरेको पत्ता लाग्छ। मापसेसँगै अब लापसे अभियान पनि सुरु गरिएको हो। कोसीमा दुर्घटना न्यूनीकरण एवं सडकमा लेन अनुशासनको पालना गराउने उदेश्यले ट्राफिक सप्ताह पनि चलिरहेको छ।
मोरङ ट्राफिक प्रमुख इन्सपेक्टर सुनीलकुमार श्रेष्ठका अनुसार चेकजाँचबाट सार्वजनिक सवारीका चालक, सहचालक तथा परिचालकले लागूऔषध सेवन गरे/नगरेको पत्ता लाग्छ। मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको उनको भनाइ छ। तर, मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको पाइएपछि नियन्त्रणका लागि अभियान सुरु गरिएको जानकारी श्रेष्ठले दिए।
‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका एउटा कारण यो पनि हो।’ श्रेष्ठका अनुसार लागूऔषधको सेवनका कारण समाजमा विभिन्न अपराधिक घटना पनि बढिरहेका छन्। एक प्रकारको विशेष किटको प्रयोग गरेर लागूऔषध सेवन सम्बन्धी जाँच गर्ने गरिएको उनले बताए।
यातायात क्षेत्रलाई लागूऔषध मुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने अभियानको उदेश्य रहेको जानकारी श्रेष्ठले दिए। अभियानलाई मोरङका सबै ठाउँमा विस्तार गरिने उनको भनाइ छ। चेकजाँचका लागि आवश्यक पर्ने किट मोरङमा ट्राफिक प्रहरीलाई नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले उपलब्ध गराएको छ। थप किट आवश्यक परेमा प्रदेश सरकार र प्रहरी प्रधान कार्यालयसँग पहल गरिने भएको छ।
किटमा मानिसको पिसाब मिसाएर जाँच गर्दा लागूऔषध सेवन गरे/नगरेको पत्ता लाग्ने इन्सपेक्टर श्रेष्ठले बताए। उनका अनुसार पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ। ‘एउटा मात्रै धर्का देखिँदा लागूऔषध सेवन गरेको पुष्टि हुन्छ। अर्थात रिपोर्ट पोजिटिभ आयो भन्ने मान्नुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘दुईवटा राता धर्का देखियो भने लागूऔषध सेवन गरेको छैन भन्ने यकिन हुन्छ। त्यो रिपोर्ट नेगेटिभ हो।’