वडा सदस्य शाहलाई कारबाहीको माग
गेरुवा गाउँपालिकामा जनप्रतिनिधिको धम्कीपछि कर्मचारीले गरे सेवा स्थगित
गुलरिया : बर्दियाको गेरुवा गाउँपालिकाका कर्मचारीहरुले कार्यालयबाट सञ्चालन हुने सम्पूर्ण सेवाहरु स्थगित गरेका छन् । जनप्रतिनिधिले मादक पदार्थ सेवन गरी आर्थिक प्रशासन शाखामा कर्मचारीलाई अपशब्द प्रयोग गर्दै गालीगलोजसहित ज्यान मार्ने धम्की दिएपछि कारबाहीको माग गर्दै कर्मचारीले आजबाट सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
गेरुवा गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुको हस्ताक्षरमा संयुक्त प्रेस विज्ञप्ति जारीगर्दै घटनामा संलग्न गेरुवा गाउँपालिका- ५ का वडा सदस्य विनोद शाह भन्ने वीरेन्द्र बहादुर शाहलाई कानून बमोजिम हदैसम्मको कारबाहीको माग गरेका छन्।
महालेखा नियन्त्रकको कार्यालयले जारी गरेको चालु आर्थिक वर्षको भुक्तानी प्रकृया सुत्र प्रणाली बन्द हुने केही घण्टा अगाडि गएराती ११ बजेपछि ठकुरीले आर्थिक प्रशासन शाखाको काउन्टरमा रहेको सिसा तोडफोड गरेको विज्ञप्तिमा उल्लेख छ ।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले घटनाका सम्बन्धमा छलफलको तयारी भैरहेकोले बैठक पश्चात सबैकुरा जानकारी दिने बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वस बहादुर मगरले पालिकामा कर्मचारीप्रति सद्भावको वातावरण निर्माण गर्नुपर्ने माग गरेका छन् । पालिकामा प्रशासनिक सेवा स्थगित छ । महालेखा नियन्त्रण कार्यालयले २४ गते राती १२ बजेदेखि आर्थिक कारोबार हुने सुत्र प्रणाली बन्द भएपछि आर्थिक कारोबार बन्द छ । कर्मचारीलाई निर्वाध काम गर्ने वातावरण बनाईदिन उनले सम्वन्धित पक्षसँग आग्रह गरेका छन् ।