धरानमा घरैपिच्छे डेंगु संक्रमित

धरानमा घरैपिच्छे डेंगु संक्रमित
डेंगु संक्रमित भएपछि विजयपुर अस्पताल धरानमा उपचारका लागि भर्ना भएका बिरामीहरू । तस्बिर : रत्नप्रसाद आचार्य ।
सुन्नुहोस्

धरान : धरान उपमहानगरपालिकामा पाँच वर्षपछि पुनः डेंगु रोगको संक्रमण फैलिएको छ। यहाँको प्रत्येक घरमा अहिले संक्रमित भेटिन्छन्। महिना दिनदेखि फैलिएको डेंगु संक्रमण समयमै नियन्त्रण गर्न नसक्दा यो समस्या आएको हो। 

डेंगु नियन्त्रणका लागि सम्बन्धित वडा कार्यालयहरूले फगिङ(धुँवा) छर्कने काम गरिरहेको भए पनि सफा हुन सकेको छैन। धरानमा अव्यवस्थित बसोबास, जथाभावी फोहोरमैला थुपार्ने र खानेपानी खुला भाडामा जम्मा गर्ने गरेका कारण संक्रमितको संख्या वृद्धि भएर भएको विज्ञ बताउँछन्। महिना दिनको अवधिमा धरानमा ३ हजारभन्दा बढी सर्वसाधारण डेंगुबाट संक्रमित भएका छन्। 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले धरानका २० वटै वडाहरूमा डेंगु रोग फैलिएको बताए। उनले नियन्त्रणका लागि जनचेतना फैलाउने र लामखुट्टे नष्ट गर्ने काम भइरहेको बताए। मेहताले संघीय सरकार र प्रदेश सरकारले सहयोग नगरेका कारण डेंगु नियन्त्रणमा गम्भीर समस्या उत्पन्न भएको बताए। यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंसँग किट, आवश्यक जनशक्ति र प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाबाट विशेषज्ञ टोली झिकाइएको भए पनि दुवै निकायले माग गरेअनुसार सहयोग नगरेको मेहताको गुनासो छ।

डेंगुकै कारण धरान १७ की ३७ वर्षीया महिलाको निधन भएको धरान स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए। उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगत परीक्षण गर्दा दैनिक ६० देखि ८० जनासम्म डेंगु संक्रमित भेटिने गरेको बताए। तर, उपमहानगरले निजी अस्पताल र निजी क्लिनिकहरूमा परीक्षण गरिएको संख्या संकलन गर्न नसक्दा संक्रमितको एकिन तथ्यांक सार्वजनिक गर्न सकिएको छैन।

धरानको निजी अस्पताल विजयपुर अस्पतालमा २ हजारभन्दा बढी डेंगु संक्रमित बिरामीको उपचार गरिएको प्रमुख अस्पताल व्यवस्थापक इन्दुनेपाल योन्जनले बताए। उनले हाल अस्पतालमा ४० जना डेंगु संक्रमित बिरामीको उपचार भइरहेको जानकारी दिए। 

धेरैजसो बिरामीहरू अस्पताल भर्ना नभई घरमै बस्ने गरेका कारण निको हुन धेरै समय लाग्ने गरेको पाइएको छ। डेंगु रोग पोथी लामखुट्टेले टोकेपछि सर्ने रोग हो। धरानमा खानेपानीको हाहाकार भएपछि स्थानीयले खाली भाडामा पानी जम्मा गर्ने गरेकाले लामखुट्टेको संख्या वृद्धि भएर डेंगुको संक्रमण फैलिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए। 

लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने, शरीरमा दादुराजस्ता फोका देखिने, कलेजो पुल्ने, टाउको दुख्ने, पखला लाग्ने, जोर्नी दुख्ने र शरीर कमजोर हुने डेंगु संक्रमणका लक्षण भएको उनले बताए। डेंगु संक्रमणका कारण विरामीको रगतमा प्लेटलेट्स कमी हुने भएकाले विरामीले पोषिलो र झोलिलो पदार्थ बढी मात्रामा खानुपर्ने मेहताको सुझाव छ।

धरानमा डेंगुको संक्रमण सबैतिर फैलँदासमेत यसको नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिएको डेंगु पीडित धरान १३ का रमेश हतुवालीले बताए। विजयपुर अस्पतालमा उपचार गराइरहेका उनले डेंगु कोरोना भाइरसभन्दा पनि खतरनाक भएको बताए।

डेंगुका कारण साता दिनदेखि उपचार गराइरहँदासमेत तन्दुरुस्त हुन नसकेको उनले जनाए। विजयपुर अस्पताल धरानका मेडिसिन विभाग प्रमुख डा. विवेक साहले विहान घाम झुल्किने र अस्ताउने बेलामा डेंगु संक्रमित लामखुट्टे बढी सक्रिय हुने र मानिसलाई टोक्ने भएकाले यो समयमा सबैले सजक भएर डेंगु सक्रमणबाट बच्न सुझाव दिए। 
 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.