प्रधानमन्त्रीको अभिव्यक्ति घोर आपत्तीजनक, संसद्मा जवाफ दिनुपर्छ : रवि लामिछाने
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति घोर आपत्तीजनक भएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री दाहालले यस विषयमा संसद्मा जवाफ दिनुपर्ने माग गरे।
'प्रधानमन्त्रीले दिएको अभिव्यक्ति घोर आपत्तीजनक छ,'उनले भने,'त्यसका लागि प्रधानमन्त्रीले स्पष्टिकरण दिनुर्छ। खुलेर सदनमा जवाफ दिनुपर्छ।'
उनले अघिल्लो सदनमा रास्वपालाई आफ्नो कुरा राख्न नदिएको भन्दै आपत्ती जनाए। 'राश्वपा आफ्नै मुद्दामा अडिएको छ। हामीले हाम्रा कुरा राख्न पाएनौं। आफ्नै स्वतन्त्रका साथ बाइपास गरेर आफ्ना कुरा राख्न दिइएन। हामीले आफ्ना कुरा राख्न नपाउँदै प्रमुख प्रतिपक्षले जे बोल्यो त्यसैलाई हाम्रो भाष्य हो भन्ने कुरा हो परिमाणित गरिने किसिमको जुन जालसाक्षीपूर्ण कुरा भयो यसमा हाम्रो आपत्ती छ,'उनले भने।
असार १८ गते एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। त्यसपछि प्रधानमन्त्री दाहालको चौतर्फी आलोचना सुरु भएको थियो।
सोही विषयलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित रास्वपा र राप्रपाले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संघीय संसदको दुवै संसदन अवरोध गर्दै आएका थिए।