शैलुङमा आलु प्रर्दशनी
दोलखा : आलुका लागि देशभरी नै चर्चा कमाएको दोलखाको शैलुङ गाउँपालिकाले सोमबार वडा नम्बर ८ शैलुङको समन्वयमा आलु प्रर्दशनी गरेको छ। साथै सबैभन्दा ठूलो आलु उत्पादन गर्ने किसानलाई सम्मान गरेको छ।
कार्यक्रममा वडा नम्बर ८ भैसेका किसान तेजबहादुर कार्कीले फलाएको २६ सय ७६ ग्रामको आलु प्रथम भएको थियो।
कार्कीलाई नगद चार हजार पाँच सय रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको छ। त्यसैगरी वडा नम्बर ८ ढाडेका भोला कोइराला २५ सय ७४ ग्रामको एउटा आलु फलाएर द्वितीय भएका छन् भने शैलुङ-८ पैतीका टीकाबहादुर कार्कीले २५ सय ६२ ग्रामको आलु फलाएर तृतीय भएका छन्।
शैलुङ ८ तमाखुबारीका भीमबहादुर बस्नेत २५ सय ३० ग्रामको आलु फलाएर सान्त्वना भएको वडा नम्बर ८ का कर्मचारी दिपेश श्रेष्ठले बताए।
प्रतियोगितामा द्वितीय हुनेलाई नगद तीन हजार र प्रमाणपत्र, तृतीय हुनेलाई नगद एक हजार पाँच सय र प्रमाणपत्र तथा सान्त्वना हुनेलाई नगद एक हजार र प्रमाणपत्र दिइएको वडाका कर्मचारी दिपेशले बताए।
शैलुङबाट जाने आलु मुडेको आलुको नामले देशभरी नै प्रसिद्ध रहेकोले त्यसलाई शैलुङकै ब्राण्ड बनाउन र आलु उत्पादन गर्ने किसानलाई थप प्रोत्साहित गर्न पुरस्कार सहितको आलु प्रर्दशनी कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष धनबहादुर तमाङले बताए।
प्रर्दशनीमा २७ जना आलु उत्पादक किसानको सहभागिता रहेको र प्रर्दशनीमा राखिएका सबै आलुहरू उत्कृष्ट रहेको वडाध्यक्ष तामाङले बताए।