सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
धनगढी : बजेट माथिको असन्तुष्टिले चरम रुप लिएपछि २५ दिनपछि बसेको सुदूरपश्चिमको संसद बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ। संसद बैठक असार १ गते बजेट प्रस्तुत गर्दै स्थगित भएपनि २५ दिनपछि सोमबार बसेको थियो।
सोमबारको बैठक आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बीबहादुर सिंहको शोक प्रस्ताव पारित गर्दै अनिश्चितकालका लागि स्थगित भएको छ। असार १ गते बजेट प्रस्तुत गरेर स्थगित भएको संसद बैठक सोमबार दिउँसो ४ बजे बसेको थियो।
बैठक बसेको १० मिनेटमै सडक दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानून मन्त्री सिंहको शोक प्रस्ताव पारित गर्दै अनिश्चितकालका लागि स्थगित भएको हो।
सुदूरपश्चिमको बजेट प्रति सत्ता पक्षकै दलहरू खुलेर विरोध गर्न थालेका छन्। सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्र र सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकै सांसदहरूले बजेटको चरम विरोध गरेका छन्। उनीहरूले बजेटमा सन्तुलन नमिलाए, यथास्थितिमा बजेट पास हुन नदिने चेतावनी समेत दिएका छन्।
संसद बैठक पछि प्रतिक्रिया दिँदै नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता अक्कल रावलले यथास्थितिमा बजेट पास नहुने बताए। ‘यथास्थितिमा बजेट पास हुँदैन। दलका शीर्ष नेताहरू पनि बजेट संसोधनको पक्षमा छन्। बजेटमा संशोधन भएन भने माओवादीले पास गर्दैन’, उनले भने।
नेपाली कांग्रेसका १९ जना सांसदमध्ये ७ जना सांसद आफ्नै नेतृत्वको सरकारले ल्याएको बजेटको विरोधमा छन्। नेकपा एकीकृत समाजवादीका अर्थमन्त्रीले ल्याएको बजेट उनकै पार्टीका अरू सांसदहरूले रुष्टता देखाएका छन्। गठबन्धनमै भएर पनि सरकारमा सहभागी नभएको नागरिक उन्मुक्ति पार्टीले पनि यथास्थितिमा बजेट पास हुन नदिने बताउदै आएका छन्।
‘बजेटमा बदमासी भएको छ। हाम्रै पार्टीको सरकार भएपनि बजेटमा प्रदेश सभा सदस्यहरूलाई बाईपास गरिएको छ। हामीले बजेट संसोधन हुनुपर्ने माग गरेका छौं, सरकार अरू सत्ता गठबन्धन र प्रतिपक्षसँग छलफलमा छ। केही निकास आउला’, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य मेखराज खडकाले भने।
सुदूरपश्चिम सरकरको नेतृत्व नेपाली कांग्रेसले नै गरिरहेको छ। कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री छन्। प्रतिपक्षी दल नेकपा एमालेले त सत्ता गठबन्धनकै दलहरूले विरोधमा उत्रिने गरी कस्तो बजेट आयो होला भनेर सहजै अनुमान लगाउन सक्ने प्रतिक्रिया दिएको छ। ‘सरकारमा रहेकै दलहरूको चरम विरोध छ। उनीहरू नै प्रतिपक्षको जस्तो भूमिकामा देखिएका छन्। यसमा प्रतिपक्षले केही गर्नु नै परेको छैन, तर हामी बजेटको सन्तुलनको पक्षमा छौं, यथास्थितिमा बजेट पास हुन दिन्नौं’ प्रमुख प्रतिपक्षी दलका नेता राजेन्द्र सिंह रावलले भने।
तर बजेटको विरोध भइरहेका बेला पनि मुख्यमन्त्री शाहले बजेट असारभित्रै पास हुने दाबी गरे। ‘आ–आफ्नो पार्टीका नेताहरूलाई भेट्नु कुनै नौलो कुरा होइन, सत्ता गठबन्धन र प्रतिपक्षसँग कुराकानी र छलफल भइरहेको छ। असारभित्रै बजेट पास हुन्छ’ मुख्यमन्त्री शाहले भने।