'बाल विवाह गरेका ८२ प्रतिशत युवायुवती उमेर पुगेपछि पछुताउँदै'

'बाल विवाह गरेका ८२ प्रतिशत युवायुवती उमेर पुगेपछि पछुताउँदै'
सुन्नुहोस्

उदयपुर : उमेर नपुगी विवाह गरेका अधिकांस युवायुवतीको जीवनशैली कष्टपूर्ण रहेको एक तथ्यांकले देखाएको छ। 

महिला सशक्तीकरण स्रोत केन्द्र र युवा महिला सञ्जाल उदयपुरले जिल्लाका आठ वटा स्थानीय तहमा उमेर नपुगि गरिने विवाह भोगाइमा आधारित रहेर गरिएको खोज अनुसन्धानमा यस्तो तथ्य फेला पारेको हो। 

अनुसन्धानका क्रममा देखिएका अवस्था र चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मंगलबार जिल्लाका सरोकारवाला निकायसँगको अन्तरक्रियामा संस्थाका कार्यकारी निर्देशक बन्दना दनुवारले यस्तो तथ्यांक प्रस्तुत गरेकी हुन्। 

तथ्यांकमा ६५ प्रतिशतले १४ देखि १८ र ३५ प्रतिशतले १८ देखि २० वर्ष बीचको उमेरमा विवाह गरेको देखाइएको छ। यसरी विवाह गरेकाहरूमध्ये ८२ प्रतिशतले उमेर परिपक्व भएपछि पछुताउनु परेको बताएका छन्।

उनीहरूले बेलैमा विवाह गर्दा पढाइ छुटेको, गृहणी जीवन व्यतित गर्नु परेको, छोराछोरीको स्याहार सुसार, खेतीपातीलाई मुख्य पेसा बनाउनु परेको र आफूसँगका साथीसंगी विभिन्न तह र तप्कामा जागिर, व्यापार व्यवसायमा रमाउँदा पछुताउनु परेको बताएका छन्। 

सोधकर्ताहरूले कसरी भेट भयो भन्ने सन्दर्भमा ५० प्रतिशतले एकै विद्यालयमा अध्ययन गरेको, २९ प्रतिशतले गाउँ छरछिमेक र २१ प्रतिशतले सामाजिक सञ्जालमा बताएका छन्। 

स्थलगत रूपमा स्वंयम महिलासँग गरिएको अन्तर्वार्तामा उनीहरूले प्रेम गरेको परिवार र समाजले थाहा पाएपछि डर त्रासले उमेर नै नपुगी भागेर विवाह गर्नु परेको बताएका छन्।

यसरी भागी विवाह गरेका अधिकांसको परिवारको अवस्था सामान्य रहेको र विवाहपछि घर गृहस्थ जीवन व्यतित गर्नु परेको बताएका छन्। सोधकर्ताहरूले शैक्षिक अवस्थाका बारेमा जानकारी लिँदा ४४ प्रतिशतले आठ कक्षा र ३० प्रतिशतले माध्यमिक तहसम्म अध्ययन गरेको बताएका छन्। 

प्रत्यक्ष संवादमा उनीहरूले साथी संगत‍को लहड र हौसला, केटाले आत्महत्या गर्छु, परिवारले स्वीकार नगर्नु, विवाह पूर्व शारीरिक सम्पर्क, प्रेमसम्बन्ध बारे परिवार र छरछिमेकले थाहा पाउँदा विवाह गर्न बाध्य भएको बताएका छन्।

तथ्यांक तयार गर्दा संस्थाले राष्ट्रिय जनगणना २०७८ को स्रोतलाई समेत समेटेको कार्यकारी निर्देशक दनुवारले बताइन्। जनगणनाको तथ्यांकले पाँच वर्षयता तीन हजार ६८२ जनाले २० वर्ष अगावै विवाह गरेको देखाएको छ। 

संस्थाले युवा नेतृत्व र वाल विवाह अन्त्य सम्बन्धी रेडियो उदयपुर, युवा महिला सञ्जाल र सामाजिक गतिविधिको माध्यमबाट कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष ज्योति दनुवारले बताइन्। 

अन्तरक्रियामा कोसी प्रदेशका उपसभामुख सृजना दनुवारले समृद्धिको आधार भनेकै बालबालिका भएकाले उनीहरूको संरक्षण र सम्वर्द्धनमा ध्यान दिनुपर्ने बताइन्। 

उपसभामुख दनुवारले समाजमा विकृति, विसंगति धेरै भएकाले त्यसको अन्त्यका लागि राज्य र सरोकारवाला गैरसरकारी संघसंस्थाको समन्वयमा शिक्षा, स्वास्थ्य र मानव विकासमा लगानी गर्न सुझाब दिइन्। उनले प्रतिफल देखिने गरी काम गर्न सके मात्र बालविवाहलाई निस्तेज बनाउन सकिने बताइन्। 

त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले बालविवाह न्यूनीकरणका लागि सबैसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.