१४ मेगावाटको घारखोलाले परीक्षण थाल्यो
बेनी : म्याग्दी हाइड्रोपावर प्रालीले निर्माण गरेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सुरु भएको छ।
भौतिक संरचना, प्रसारण लाइन, स्विचार्ड निर्माण र उपकरण जडानको काम सकेर मंगलबारदेखि परीक्षण थालेको आयोजनाले जनाएको छ।
आयोजनाले सूचना जारी गरेर ‘असार २६ गतेदेखि अन्नपूर्ण गाउँपालिका-६ पोखरे हुँदै वडा नम्बर २ भुरुङ र वडा नम्बर ३ दानाको सबस्टेसनसम्म ३३ केभी प्रसाारण लाइनमा विद्युत् प्रसारण हुने भएकोले विद्युतीय तार, पोल तथा स्टेसन आदि संरचना नछुन्’ अनुरोध गरेको छ।
हेडर्वक्स, टनेल, पेनस्टक पाइप तथा टर्बाइनहरूको परीक्षण, पुनः परीक्षणपछि विद्युत् प्राधिकरणको प्रत्यक्ष निगरानीमा परीक्षण सुरु गरिएको आयोजनाका प्रमुख विनोद देवकोटाले बताए।
‘एक हप्तादेखि आयोजनाले हाइड्रोमेकानिकल र इलेक्ट्रो मेकानिकलतर्फका सबै कम्पोनेन्टहरूको एक महिनासम्म अनुगमन गरेका थियौ,’ उनले भने ‘सबै सूचकहरू न्युट्रल भएपछि परीक्षण उत्पादन सुरु गरेका हौं। १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुन्छ।’
आयोजनाले अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरस्थित विद्युत् गृहबाट सोही गाउँपालिका-२ भुरुङ तातोपानी हुँदै ३ नम्बर वडामा पर्ने दाना सबस्टेसनसम्मको ८ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन बनाएको छ।
परीक्षणका क्रममा प्रशारण लाइनमा देखिएको समस्या पहिचान गरेर समाधानका लागि प्राविधिक टोली परिचालन गरेको आयोजनाका प्रशासन प्रमुख अनिल तिवारीले बताए। विद्युत गृहमा रहेका दुई वटै युनिटका टर्वाइन र जेनेरेटरको परीक्षण सफल भएको छ।
अन्नपूर्ण गाउँपालिका-५ कुरिलाखर्कमा बाँध बनाइ घारखोलाको पानी ३ हजार ५ सय मिटर लामो सुरुङबाट सोही गाउँपालिका, ६ अमिलाकाफलस्थित आउटलेटबाट १२ सय मिटर पेनस्टक पाइपमा ४ सय ८५ मिटर हेडबाट बेनी-जोमसोम सडक छेउको पोखरेबगरमा रहने विद्युत् गृहमा खसालिएको छ।
दुई अर्ब ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना २०७४ चैतदेखि निर्माण थालिएको थियो। २०७८ सालमा सक्ने लक्ष्य रहे पनि कोरोना, पहिरो, सडक यातायातको असुविधा लगायतका कारणले निर्माण अवधि दुई वर्ष लम्बिएको प्रवर्द्धकले बताएका छन्।
इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्राली इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालीका प्राविधिकले विद्युतगृहमा उपकरण जडान गरेका हुन्।
सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चरले भौतिक संरचना निर्माण सकेको हो। विद्युत् गृहको नजिकै स्वचार्ड बनाइएको छ। आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन्।
नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन्। आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवर्द्धकले बताएका छन्।