पक्राउ पुर्जी जारीपछि उद्योगीहरू फरार

ललिता निवास प्रकरण : अनुसन्धानविरुद्ध चेतावनीपूर्ण वक्तव्यबाजी

ललिता निवास प्रकरण : अनुसन्धानविरुद्ध चेतावनीपूर्ण वक्तव्यबाजी

विराटनगर : ललिता निवास जग्गा प्रकरणमा भइरहेको अनुसन्धानविरुद्ध औद्योगिक एवं व्यावसायिक संघ संस्थाले चेतावनीपूर्ण हिसाबले वक्तव्यबाजी गर्न थालेका छन् ।  जग्गा घोटालासँग सम्बन्धित अनुसन्धानमा उद्योगी व्यवसायी तानिने अवस्था बनेपछि राज्य संयन्त्रलाई नै चुनौती दिँदै औद्योगिक एवं व्यावसायिक संघ संस्था विरोधमा उत्रिएका हुन् ।

 निजी क्षेत्रसँगको सहकार्य बिना आर्थिक विकास सम्भव नभएको दाबी गरेर समग्र मुलुकको आर्थिक अवस्था झल्काउँदै अनुसन्धानविरुद्ध वक्तव्यबाजी गर्ने काम सुरु भएको हो ।  मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोसी प्रदेश (प्रदेश नम्बर १) ले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले गरिरहेको अनुसन्धानबाट उद्योगी व्यवसायी हतोत्साही हुनु परिरहेको उल्लेख गरेका छन् । उत्पादन, आपूर्ति, रोजगारी र राजस्वमा योगदान पुर्‍याएकै आधारमा उद्योगी व्यवसायीमाथि अनुसन्धान हुन नहुने आशयको विज्ञप्ति जारी भएपछि तरंग पैदा भएको छ । 

अनुसन्धानका नाममा भइरहेको धरपकडको शैली सच्याउन पनि अपिल गरिएको छ । संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल र परिषसंघका प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले जारी गरेको विज्ञप्तिमा मुलुक आर्थिक संकटमा गइरहेका बेला उद्योगी व्यवसायीमाथि त्रास सिर्जना गरिएको उल्लेख छ ।

विज्ञप्तिमा मुलुकको आन्तरिक अर्थतन्त्र नसुध्रिएको,लगानी विस्तार हुन नसक्दा कूल ग्राहस्थ उत्पादन कम भएको, राजस्व संकलन घटेको, मूल्यवृद्धि ७ प्रतिशतमाथि रहेको, जथाभावी कर निर्धारणले व्यवसायी त्रसित बनिरहेको, विद्युत बैंकजस्ता निकायको श्रृंङ्खलावद्ध प्रहार भोग्नु परेको भनिएको छ । 

‘प्रतिकूल वातावरणमा पनि उद्योगी व्यवसायीहरुले उद्योग व्यवसाय सञ्चालन गरी उत्पादन, आपूर्ति, रोजगारी र राजस्वमा योगदान दिइरहेका छन् । विगत केहीदिनदेखि निजी क्षेत्रमाथि राज्य संयन्त्रले लगातार प्रहार गरिरहेको छ,’विज्ञप्तिमा भनिएको छ, ‘राज्य संयन्त्र नियोजित रूपमै निजी क्षेत्रलाई हतोत्साहित बनाउन थालेको महशुस मात्र नभइ स्पष्ट देखिएको छ । यसलाई असफल मुलुक बनाउने खतराको संकेत मान्न सकिन्छ ।’ 

पक्राउ गर्ने, थुन्ने, सुनुवाइको मौका नै नदिइ थुनामा राख्नेतर्फ अग्रसर भएकाले उद्योगी व्यवसायीहरु राज्य संयन्त्रप्रति थप सशंकित हुनु परेको विज्ञप्तिमा जनाइएको छ । क्षतिको कारण र मुल जरो यकिन नगरिकन व्यवसायीलाई पक्राउ गर्ने र थुन्ने सरकारको कदम न्यायसंगत मान्न नसकिने चेतावनी पनि दिइएको छ । 

‘त्रासपूर्ण र विश्वासको संकट उत्पन्न हुँदा मुलुक आर्थिक विकासमा अगाडि बढ्न सक्दैनभन्ने हाम्रो निष्कर्ष छ,’विज्ञप्तिमा भनिएको छ,‘मुलुकको विकासका लागि सरकार र आर्थिक क्षेत्रको बीचमा पारस्परिक विश्वास रहनु पर्दछ ।’ 

ललिता निवास जग्गा प्रकरणमा उद्योगी व्यवसायीलाई ‘टार्गेट’ गरिएको संघ र परिसंघले जनाएका छन् । ‘राज्यको रहोवरमा खरिद बिक्री भएको जग्गामा व्यवसायी समेतलाई दोषी देखाएर पक्राउ पुर्जी जारी गरिएको जानकारीमा आएको छ,’ दुवै निकायले भनेका छन्, ‘पुस्तौं अगाडिदेखि भएका कारोबारमा अहिलेका निर्दोष जोसुकै नागरिकलाई सास्ती दिनु कदापि राम्रो होइन ।’

सरकारी जग्गा एवं सार्वजनिक सम्पतिलाई निजी बनाउने वा अपचलन गर्ने गराउने मुख्य जिम्मेवारलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने विज्ञप्तिमा खुलाइएको छ ।  राज्यसँग भएको रेकर्ड र श्रेस्ताका आधारमा कारोबार गरेको तथा सरकारी निकाय साक्षी राखेर सरकारले नै प्रमाणित गरिदिएको जग्गाको कारोबारमा कैफियत देखिँदा किन्ने मान्छे कसरी दोषी हुन्छ भनेर प्रश्नसमेत गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ,‘आमनागरिकले राज्यलाई विश्वास नगरे कसलाई गर्ने ? हामी राज्यसँग यसको जवाफ माग गर्दछौं । अन्यथा ठहरिएमा कारोबारजन्य जग्गा जमिन वा सम्पतिसम्म सरकारले फिर्ता लिनसक्ने अवस्था रहँदा पनि राज्यसँग भएको रेकर्ड र श्रेस्ताका आधारमा गरिएको कारोबारमा नियोजित तरिकाले अहिलेको पुस्ता–दरपुस्तालाई गर्दै नगरेको अपराधको भागिदार बनाउने षडयन्त्र सह्य हुँदैन ।’

अपराध गर्ने र गराउने वा संगठित गिरोह सञ्चालन गर्ने उपर विधिसम्मत हुने कानुनी कारवाही प्रक्रियामा कुनै अवरोध वा विरोध नहुने जिकिर पनि गरिएको छ । ‘कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही कारबाहीको भागिदार हुनुपर्छ र कारबाही गरिनु पर्नेमा निजी क्षेत्र सहमत छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘तर,उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्नेजस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभइ समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्नसक्नेतर्फ सम्बन्धित निकायको ध्यानआकर्षण गराउन चाहन्छौं ।’ 

दोषी नठहरिँदै दोष प्रमाणित भएजसरी व्यवहार गर्दा त्रसित भइ उद्योगी व्यवसायीमा भागाभागको स्थिति बनाइएको दाबी संघ र परिसंघको छ । दुवै निकायले देशको अर्थतन्त्रको प्रमुख संवाहक उद्यमी व्यवसायीमाथि भइरहेको धरपकडले लगानी थप निरुत्साहित हुनसक्ने चेतावनी दिएका छन् । मुलुकको अर्थतन्त्र संकटमा गएका बेला उद्यमी व्यवसायीप्रतिको व्यवहारले झन् नकारात्मक असर पर्नेतर्फ सचेत रहुनुपर्ने दाबी विज्ञप्तिमार्फत गरिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी)ले ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको छ । यसमा ठूला व्यावसायिक घरनाका व्यक्तिसमेत मुछिएपछि अनुसन्धानविरुद्ध व्यावसायिक संघ संस्थाका नाममा वक्तव्यबाजी हुन थालेको हो । ‘अनुसन्धानलाई निष्कर्षमा पुग्न नदिन र प्रभावित पार्न ठूलो चलखेल भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘अनुसन्धानविरुद्ध उद्योगी व्यवसायीलाई प्रयोग गर्न थालिएको पाइयो ।’ अपराध अनुसन्धानलाई प्रभावित पार्ने वा पार्न खोज्नेविरुद्ध पनि कारबाही हुनसक्ने स्रोतले बतायो । 

निजी क्षेत्रसँगको सहकार्यबिना आर्थिक विकास सम्भव छैन र मुलुक संकटमा जान्छभन्ने सन्देश प्रवाह गर्दै चेतावनीपूर्ण हिसाबले वक्तव्यबाजी गरेर दबाब सिर्जना गरी उद्योगी व्यवसायीमाथि हुनुपर्ने तथा भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने प्रपञ्च भइरहेको सरोकारवालाको बुझाइ छ । 

‘गलत काममा सहभागी भएपनि उद्योगी व्यवसायीमाथि अनुसन्धान एवं कारबाही हुन हुँदैन भनेर दबाब सिर्जना गर्न खोजिएको छ,’ प्रहरीका एक अधिकारीले भने, ‘आरोपीहरु धमाधम पक्राउ पर्न थालेपछि यसरी वक्तव्यबाजी हुनु अनुसन्धानलाई प्रभावित पार्ने खेल हो ।’ 

नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले अनुसन्धान सही ढंगबाट अघि बढिरहेको बताए । ‘विशुद्ध प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ । कसैलाई पनि त्यत्तिकै ल्याएर थुन्ने र दुःख दिने काम भएको छैन,’ उनले भने,‘ढुक्का हुनुस्, अनुसन्धानमा कुनै कमीकमजोरी छैन । प्रहरीले अनुसन्धान नै गर्न नपाउनेभन्ने हुँदैन ।’कोही व्यक्ति निर्दोष हुँदा अदालतबाट सफाइ पाउने प्रहरीको भनाइ छ । 

पक्राउ पूर्जी जारी भएपछि उद्योगीहरू फरार

सीआईवीले पक्राउ पूर्जी जारी गरेपछि विराटनगरका उद्योगी एवं व्यवसायी फरार बनेका छन । प्रतिष्ठित व्यवसायिक एवं औद्योगिक घरना सारडा ग्रुपआवद्ध उद्योगी सम्पर्कविहीन बनेका हुन् । ललिता निवासको जग्गा खरिद गरेको पाइएपछि सारडा ग्रुपका २ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको प्रहरी स्रोतले बतायो । 

स्रोतका अनुसार ग्रुपका अध्यक्ष शिवरतन सारडा र उनका छोरा सन्दीपकुमार सारडाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । व्यवसायी शिद्धिका खेतानविरुद्ध समेत पक्राउ पूर्जी जारी भएको बताइए पनि उनको ठेगाना विराटनगर हो कि हैनभन्ने यकिन हुन सकेन । 

पक्राउ पूर्जी जारी भएको सूचना चुहिएपछि शिवरतन र उनका छोरा सन्दीपसहित श्रीनिवास सारडा, राधेश्याम सारडा र पवनकुमार सारडा फरार भएका हुन् । सार्वजनिक कार्यक्रमदेखि औद्योगिक एवं व्यावसायिक गतिविधिमा सक्रिय उनीहरु असार १५ यता सम्पर्कविहीन छन् । फरार रहेकामध्ये पवन संविधानसभा सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष समेत हुन् । परिवारभित्र उनी कान्छो भाइ हुन् । शिवरतन जेठो, श्रीनिवास माइलो र राधेश्याम साइँलो भाइ हुन् । 

हामी गम्भीर छौं : सीआईबी 

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीले अनुसन्धान प्रभावित पार्ने गरी भइरहेको वक्तव्यबाजी तथा गतिविधिप्रति गम्भीर रहेको जनाएको छ ।  सीआईबीका एसएसपी दिनेशकुमार आचार्यले अनुसन्धानलाई असर पुर्‍याउने गरी भइरहेका गतिविधिलाई ‘नोटिस’मा राखिएको जानकारी दिए । 
‘तथ्यपरक, निष्पक्ष र व्यावसायिक रूपमा अनुसन्धानलाई अगाडि बढाउने कार्यमा सीआईवी प्रतिवद्ध छ,’ उनले भने, ‘अनुसन्धानलाई असर पुर्‍याउने गतिविधि गर्नेमाथि पनि कारबाही हुन्छ ।’ अदालतबाट अनुमति लिएर भइरहेको अनुसन्धानलाई अन्यत्र मोड्न खोज्ने तथा अनर्गल,अतिरञ्जित र भ्रामक हिसाबले प्रचार गर्नेमाथि निगरानी बढाइएको आचार्य बताउँछन् । 
ललिता निवासको १ सय ४३ रोपनी जग्गा संगठित रूपमा सरकारी छाप तथा दस्तखत कीर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरणसम्बन्धी कसूरमा अनुसन्धान केन्द्रित रहेको सीआईवीले जनाएको छ । 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.