सामाजिक सञ्जालबाट अर्बौं ठगी, एक वर्षमै बैंक खातामा अर्ब बढी रकम जम्मा

भारतीय नागरिकसहित सात जना पक्राउ

सामाजिक सञ्जालबाट अर्बौं ठगी, एक वर्षमै बैंक खातामा अर्ब बढी रकम जम्मा
ठगीको आरोपमा पक्राउ परेका आरोपितहरूलाई सार्वजानिक गर्दै प्रहरी। तस्बिर : भरत खड्का

उदयपुर : सामाजिक सञ्जालमार्फत् ७० हजार अमेरिकी डलर पठाएको छु भन्दै ठगी गर्ने सात जना पक्राउ परेका छन्। तीमध्ये तीन जना इन्जिनियर र एक जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ। 

गुडनेस इशराल नामको फेसबुक आइडीबाट उदयपुरको कटारी नगरपालिका-४ की ३६ वर्षीया सरिता तामाङलाई साथी बनाइ एक लाख तीस हजार ६२७ रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय कटारीको टोलीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा भारतको उत्तराखण्ड राज्य, जिल्ला पौडीगढवाल व्लक एमकेश्वर, पोष्ट अफिस भृगुखालका ३६ वर्षीय प्रविण भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए। आइटी इन्जिनियर रहेका भट्ट पछिल्लो समय ठगी गर्ने उद्देश्यले झापाको विर्तामोड नगरपालिका-५ इन्द्रटोल बस्दै आएको अनुसन्धानबाट खुलेको छ। 

त्यसैगरी सप्तरीको राजविराज नगरपालिका-१ डुम्रिका २५ वर्षीय डम्बर साह, बिष्णुपुर गाउँपालिका-२ सिम्रहा सप्तरीका २० वर्षीय निरजकुमार साह रहेका छन्। उनीहरू दुबै जना आइटी इन्जिनियर हुन्। प्रविण जेठ ८ गते, डम्बर असार १० र निरज जेठ २१ गते पक्राउ परेका हुन्। 

त्यस्तै गुल्मीको इस्मा गाउँपालिका-५ का ३२ वर्षीय ध्रुव थापा, मोरङको विराटनगर महनागरपालिका-२० का ३७ वर्षीय हेमराज साह, झापाको झापा गाउँपालिका-१ बेलैतिवारीका ३१ वर्षीय वरजहान श्रेष्ठ र बारहको कलैया उपमहानगरपालिका-२० बसतपुरका २३ वर्षिी रुस्तम मन्सुरी रहेको एसपी फुयाँलले बताए। ध्रुव असार ४, हेमराज, वरजहान र रुस्तम तीनै जना असार १३ गते पक्राउ परेका हुन्। 

पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी फुयाँलले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजानिक गरेका हुन्। एसपी फुयाँलले पक्राउ परेका व्यक्तिहरू विज्ञसहितको संगठित अपराधमा संलग्न रहेको बताए। 

आरोपितहरूसँगको बयानलाई उद्धृत गर्दै उनले भने, ‘नेपालको राजश्व ठगीमा यस्ता अपराधीहरू धेरै छन्। विदेशबाट आउने रेमिट्यान्स कम गर्ने र आफूहरूमार्फत् नै हुण्डीको कारोबार गरी संगठितरूपमै मुलुकको राजश्व छली गर्ने गरेको पाइयो।' 

एसपी फुयाँलले थपे, ‘रगत नदेखिने र घाउचोट नलाग्नेगरी अपराधको स्वरुप परिवर्तन भएको र त्यसमा पनि सबैभन्दा बढी आर्थिक अपराध रहेको छ। पार्सल आयो, उपहार चिठ्ठा पर्‍यो भन्दै फोन, मेसेज, फेसबुक, वाट्सएपजस्ता सामग्री प्रयोग गरी ठगीका स्वरुपहरू परिवर्तन हुँदै गएको छ।' 

सुक्ष्म अध्ययन र फराकिलो अनुसन्धानबाट गिरोह पक्राउ पर्न सफल भएका इप्रका कटारीका प्रमुख डीएसपी रविन कार्की भन्छन्, ‘घटनालाई जति अनुसन्धान गर्‍यो उत्ति नै एकपछि अर्को तानिँदै जाँदा केही ढिलाई भए पनि उपलब्धि राम्रै रह्यो।'

अनुसन्धानको प्रक्रिया नयाँ र प्रविधिको प्रयोग गर्नुपर्ने भएकाले ५२ दिन हिरासतमा राख्न पाँचपटक अदालतबाट म्याद थप गर्नुपरेको उनले बताए। उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) साथै संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए।

आरोपितहरूले फेसबुकबाट लगेजलगायत अमेरिकी डलर ७० हजार पठाइदिएको छु, एयरपोर्टमा उक्त सामान रोकिएकाले जतिसक्दो चाडो एक लाख तीस हजार ६२७ रुपैयाँ  पठाउनुस् अनि तपाईँको सामान पाउनु हुन्छ भन्दै प्रलोभनमा पारेका डीएसपी कार्कीले बताए। उक्त रकम अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कर वापतको रकम रहेको बताउने गरेको अनुसन्धानबाट खुलेको छ। 

डीएसपी कार्कीका अनुसार पक्राउ परेका व्यक्तिहरूको खातामा अवैध रकम जम्मा हुने र आफूले पाउने प्रतिशत राखी पुनः अर्को खातामा पठाउने गरेको तथ्य खुलेको छ। यसरी विभिन्न व्यक्ति तथा निजहरूले खोलेको संस्थाको खातामा एक वर्षमा एक अर्ब नौ करोड एक लाख ४२ हजार ३९३ रुपैयाँ ट्रान्जेक्सन देखिएको उनले बताए। 

प्रहरीको अनुसन्धानमा अपराधीहरूले सामाजिक सञ्जालको प्रयोग गरी सुक्ष्मरूपमा मानिसको आर्थिक हैसियत, सोचाई तथा व्यवहारिक ज्ञान र भावना बुझी विधि अपनाएको, विदेशी मुद्रा तथा सामग्रीको फोटो खिची फेसबुक मेसेन्जरबाट पठाउने गरेको खुलेको छ। 

त्यसैगरी फेसबुकमा साथी बनाइ प्रलोभनमा पारी विभिन्न व्यक्तिको नामा खोलिएको खातामा रकम जम्मा गर्न लगाउने, सामान्य व्यक्तिलाई अग्रभागमा देखाइ ठगी गर्ने मुख्य गिरोह सुरक्षित हुने प्रयास गरेको, जुवा, हुण्डी, युएसडीटीमा संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ। 

यसअघि प्रहरीले यस्तै प्रकृतिका घटनामा तीन जनालाई पहिलोपटक पक्राउ गरेको थियो। सामाजिक सञ्जालको दुरुपयोग गरी अपराधका घटना बढ्न थालेपछि प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। 

प्रहरीले सरोकारवाला निकायसँग समन्वय गरी गाउँ, टोलबस्ती, विद्यालयमा प्रचार, पम्प्लेट बाँड्ने, विद्यालय तथा सार्वजानिक स्थलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको एसपी फुयाँलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.