बादिका भिरमा सडक सुधार
बेनी : अक्करे भिर छिचोलेर मार्ग खोलिएको म्याग्दीको धवलागिरी गाउँपालिका-७ मा पर्ने बादिकाको सडक यसअघिको जस्तो कहाली र डरलाग्दो छैन्।
यो म्याग्दीको धवलागिरी गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने मुख्य सडक हो। नयाँ मार्ग खोल्ने, ग्रेड सुधार, विस्तार, नाली निर्माण, ग्रेड, घुम्ति सुधार र ढलान हुन थालेपछि दरवाङ-धारापानी-ताकम-मुना सडकमा पर्ने बादिकाको उकालो खण्डको यात्रा सहज बन्न थालेको छ।
भिरमा खनिएको सडक स्तरोन्नति भएपछि सवारी साधन आवत जावत गर्न सहज हुनुका साथै यात्रुले सुरक्षित महशसु गर्न थालेका छन्। एक वर्षदेखि रोकिएको आयोजना पछिल्लो समय निर्माण व्यवसायीले सडक निर्माणलाई तिब्रता दिएपछि स्थानीयबासीमा आशा पलाएको धारापानीका रिमप्रकाश थापाले बताए।
‘चन्दा जुटाएर जेनतेन गाडी उक्लने गरी खनेको सडक अहिले फराकिलो र ग्रेड मिलाउने काम अन्तिम चरणमा पुगेपछि आवत जावत सुरक्षित र सहज भएको महशुस गरेका छौं,’ उनले भने, ‘सम्बद्ध कार्यालय र निर्माण कम्पनीले अहिलेकै जसरी बाँकी कामलाई पनि तिब्रता र निरन्तरता दिने अपेक्षा गरेका छौं।’
वि.सं २०६७ मा स्थानीय बासिन्दा र तत्कालीन गाविसको अनुदानमा यो सडकको मार्ग खोलिएको थियो। गण्डकी प्रदेश सरकारको पालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गर्ने योजना अन्तरगत वि.स. २०७६ चैत ४ गते दरवाङ देखि फेदी हुदै धारापानी खण्डको छ किलोमिटर ५०० मिटर सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भएको थियो।
१४ करोड ३८ लाख ६७ हजार रुपैयाँमा वि.स. २०७८ असारमा सम्पन्न गर्ने लक्ष्यसहित धुलिखेल-ब्राइट-कुँवर जेभीले पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का लिएको आयोजनाको ४६ प्रतिशत भौतिक प्रगति भएको अवस्थामा सहायक निर्माण व्यवसायीले काम छाडेपछि करिब १० महिना अलपत्र परेको थियो।
गत दसै तिहार लगत्तै कार्यक्षेत्रमा आएको मुख्य निर्माण कम्पनीका कर्मचारी हरिप्रसाद हुमागाईले हाल करिब ८० प्रतिशत भौतिक प्रगति भएको बताए। ‘दरवाङदेखि फेदीसम्म दुई किलोमिटर ५०० मिटर र माथिल्लो खण्डमा थप दुई किलोमिटर ग्राभेल सकिएको छ,’ उनले भने, ‘अप्ठ्यारो र साँघुरो भिरमा ३२४ मिटर सडक ढलान भएको छ।’
बर्खा लागेपछि रोकिएको सडक निर्माणको कामलाई बर्खा रोकिएलगत्तै सुरु गरेर सम्पन्न गर्ने हुमागाईले बताए। साढे तीनदेखि चार मिटर फराकिलो रहेको सडक सरदर साढे ७ मिटरका दरले फराकिलो बनाइएको छ। ग्रेड नमिलेको ठाउँमा चार सय मिटर नयाँ मार्ग खोलिएको छ।
धारापानीतर्फ करिब डेढ किलोमिटर दुरीमा विस्तार र ग्राभेलको गर्ने काम बर्खा लगत्तै गर्ने कम्पनीले जनाएको छ। यही असार मसान्तसम्म रहेको आयोजनाको ठेक्का सम्झौताको म्याद थप गर्ने तयारी भएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए। ‘बादिका भिरमा साँघुरो र उकालो सडक भएका कारण दुर्घटनाको जोखिम थियो,’ उनले भने, ‘सडक फराकिलो र ढलान गरेर यात्रालाई सहज र सुरक्षित बनाउने हाम्रो उद्देश्य हो। उकालो र भिरालो सडकमा गाडी बिग्रिने, दुर्घटना हुने, फस्ने, उक्लन नसक्ने समस्या थियो।’
आगामी वर्ष यो सडकलाई प्रदेश सरकारले पाँच करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। यो सडकलाई मुना हुदै ढोरपाटन र पुर्वी रुकुमसँग जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रूपमा विकास गर्न जोड दिइएको म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताए।