अवैध सुनसहित एक जना पक्राउ
हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१ बस्ने ३५ वर्षीय प्रभु साह सोनार रहेका छन्।
प्रहरीले उनको साथबाट ४७ लाख ३६ हजार ७२९ रुपैयाँ मूल्य बराबरको ४८९ ग्राम ३७ मिलिग्राम सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार हेटौंडा–१५ राटोमाटे चेकपोष्टमा बिहान साढे ११ बजेको समयमा काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना १ ज ७४९० नम्बरको यात्रुवाहक सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा सुमोमा सवार सोनारको साथबाट सो परिमाणको सुन बरामद भएपछि निजलाई पक्राउ गरिएको हो।
पक्राउ परेका सोनारलाई कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।