सुनसरीमा चौकी डुबानमा, प्रहरी विस्थापित

सुनसरीमा चौकी डुबानमा, प्रहरी विस्थापित
बाढीका कारण डुबानमा परेको सुनसरीको सिसुवाधरमपुर प्रहरी चौकी।

विराटनगर :  अविरल वर्षासँगैको बाढीका कारण सुनसरीको सिसुवाधरमपुर प्रहरी चौकी डुबानमा परेको छ। सुनसरी खोलामा आएको बाढी पसेर शुक्रबार बिहान चौकी डुबान हुँदा त्यहाँ कार्यरत प्रहरी विस्थापित भएका छन्। 

प्राकृतिक प्रकोप एवं विपद्का बेला सर्वसाधारणको उद्धारमा सक्रिय हुनुपर्ने प्रहरीले नै बाढीको मार खेप्नुपर्ने अवस्था आएको छ। भोक्राहानरसिंह गाउँपालिका–८ मा रहेको सिसुवाधरमपुर चौकीमा असइ (सहायक निरीक्षक) रमेश परियारको नेतृत्वमा ६ जना प्रहरी परिचालित थिए।  

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले खोलामा आएको बाढी पसेर डुबान भएपछि प्रहरीले चौकी छाड्नु परेको जानकारी दिए। उनका अनुसार सुनसरी खोलाको बाढी पस्दा प्रहरी चौकीको ‘कम्पाउण्ड’भित्र ४ फिटसम्म पानी जमेको छ। सबै प्रहरीले हातहतियार, सञ्चार सामग्री तथा बन्दोबस्तीका सामानसहित बिहान ५:५० बजेतिर चौकी छाडेका हुन्। 

चौकीबाट विस्थापित बनेका प्रहरी हरिनगरा गाउँपालिका–५ स्थित सिसुवाधरमपुर आधारभूत विद्यालयमा गएर बसिरहेका छन्। डुबानका कारण चौकी छाड्दै प्रहरीले विद्यालयमा गएर बस्नु पर्ने अवस्था आएको डीएसपी राईले बताए। उनका अनुसार मानवीय क्षति भने भएको छैन। 

दर्जनौं स्थान डुबानमा 

nullमुसलधरे वर्षापछिको बाढीका कारण मोरङ र सुनसरीका दर्जनौं स्थान डुबानमा परेका छन्। शुक्रबार बिहान लगभग ३ बजेदेखि निरन्तर वर्षा भइरहँदा खोला तथा नदीहरुमा पानीको बहाव उच्च बनेको छ। बाढी एवं डुबानग्रस्त क्षेत्रमा उद्धारका लागि सुरक्षा सक्रियता बढाइएको छ। डुबान एवं कटानबाट क्षति हुने सम्भावित स्थानमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। 

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले ठाउँठाउँमा परिचालन गरिएका सुरक्षाकर्मीले सबैलाई सचेत रहन आग्रह गर्दै जोखिममा परेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न प्रयास गरिरहेको जानकारी दिए। सम्भावित क्षति रोक्न र कोही पीडित भएमा उद्धार गर्नका लागि जोखिमयुक्त क्षेत्रलाई निगरानीमा राखिएको पोखरेलको भनाइ छ। उनका अनुसार बाढी एवं डुबानको जोखिम बढी हुने स्थानमा उच्च सतर्कता अपनाउँदै सुरक्षा सक्रियता बढाइएको छ। 

खोलाहरुमा जल सतह बढेर खतराको तह आसपासमा पुगेसँगै तटीय क्षेत्रमा जोखिम बढेको एसपी पोखरेलले बताए। उनका अनुसार उचित निकास नभएका स्थानमा पानी जम्न थालेको छ। वर्षाका कारण पूर्वी तराईका कैयौं स्थान जलमग्न भएका छन्। कतिपय स्थानमा पानीले निकास नपाउँदा घरहरुमा बाढी पस्न थालेको छ। केही स्थानमा निकास तथा खोलाको बहाव थुनिने अवस्था उत्पन्न भएको छ। 

मोरङका बूढी, सिंघिया, लोहन्द्रा, बक्राहालगायतका दर्जनौं खोलामा बाढी आएको प्रहरीले जनाएको छ। बाढी आएका खोलाले ठाउँठाउँमा कटान सुरु गरेको जानकारी एसपी पोखरेलले दिए। उनका अनुसार डुबानका कारण पूर्वी र दक्षिणी क्षेत्र बढी प्रभावित बन्ने अवस्था आएको छ। 

डुबान, कटान र बाढीको जोखिम बढेका कारण सर्वसाधारणलाई सचेत हुन प्रहरी तथा स्थानीय प्रशासनले आग्रह गरेका छन्। सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंंगानाले जिल्लाको दक्षिण, पश्चिम र उत्तरी क्षेत्रमा डुबानको समस्या निम्तिएको बताए। सप्तकोसी नदीमा बहाव बढ्दै गइरहेको जानकारी उनले दिए। 

null

मोरङको जहदा–३ मा सिंघिया खोलाको बाढीले कटान गर्दा पुगेको क्षति। 
 

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रवक्तासमेत रहेका ढुंगानाका अनुसार सप्तकोसीले सुनसरीको वराहक्षेत्र, रामधुनीलगायतका स्थानमा कटान सुरु गरेको छ। सप्तकोसीले दायाँबायाँको १ सयदेखि १ सय ५० मिटरसम्म जमिन कटान गरिसकेको उनको भनाइ छ। खोला आसपासका क्षेत्रमा डुबान सुरु भएसँगै मानवबस्तीलाई सुरक्षित स्थानतर्फ सार्न प्रशासनले पहल गरिरहेको उनले बताए। 

ढुंगानाका अनुसार सुरसरी खोलाले अलि बढी क्षति गरिरहेको छ। खोलाले दायाँबायाँको क्षेत्रमा कटान तीव्र पारेको र वरपर डुबान हुन थालेको जानकारी उनले दिए। डुबानका कारण हालसम्म मानवीय क्षति भने भएको छैन। ढुंगानका अनुसार इटहरी नगरपालिकाको तरहरासहित अधिकांश क्षेत्र, झुम्का लगायतका स्थान डुबानको जोखिममा परेका छन्। 

बाढीले घर बगाएपछि ३ परिवार विस्थापित  

मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि ३ परिवार विस्थापित भएका छन्। सिंघिया खोलामा आएको बाढीले घर–टहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएकाहरु विस्थापित भएका हुन्। सार्वजनिक जग्गामा घर बनाएर बसेका अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार उनीहरु बस्दै आएको घर–टहरा खोलाको बाढीले भत्काएर बगाएको छ। विस्थापित भएकालाई सुरक्षित स्थानमा सारिएको दाहालले बताए। त्यस्तै, सिंघियाले कटान सुरु गर्दा खोला किनारमा बसोबास गर्दै आएका मञ्जय मुखिया र डब्बी मुखियाको घर जोखिममा परेको जानकारी उनले दिए। मञ्जय र डब्बीको परिवारसहित विस्थापित भएकाहरुलाई रामजानकी मन्दिरको सामुदायिक भवनमा राखिएको दाहालले बताए। 

null

जहदा–३ मा बाढीग्रस्त क्षेत्रको अनुगमन गर्दै मोरङका सुरक्षा प्रमुखहरु। 

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, नेपाली सेनाका प्रमुख सेनानी अमृत थापामगर, जिल्ला प्रहरी प्रमुख एसपी दीपक पोखरेल, सशस्त्र प्रहरी प्रमुख एसपी तीर्थ थापालगायतले बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। अनुगमनपछि सुरक्षा निकायका प्रमुखहरुले बाढीपीडित परिवारलाई सुरक्षित वासस्थान एवं राहतका लागि विभिन्न निकायसँग पहल तथा समन्वय गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.