नगरको दिवा खाजा खुवाउने ठेक्का मेयरका छोरा र भान्जालाई
विरारटनगर : मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवाल (बगडिया)को निर्देशनमा सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रम उनका छोरा तथा भान्जाको नाममा रहेको नेपाल स्वास्थ्य फुड ईन्ड्रस्टिज प्रा.लीलाई दिइएको छ।
९० लाख बराबरको सामुदायिक विद्यालयमा दिवा खाजाको जिम्मा मेयर बगडियाको छोरा र भान्जाको कम्पनीलाई दिएको पाइएको हो ।
नगरपालिकाको २९ वटै सामुदायिक विद्यालयमा खुवाइने दिवा खाजामा एकाधिकार जनमाउँदै मेयर बगडियाले एक वर्षमा ९० लाख ८४ हजारको दिवा खाजाको जिम्मा छोरा एस अग्रवाल र भान्जा आन्नद अग्रवाललाई दिएका हुन्। मेयरले २९ वटै विद्यालयका व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकलाई फोन गरेर खाना खुवाउने जिम्मा छोरा र भान्जाको कम्पनीलाई दिन निर्देशन दिएको समाचार स्रोतले जनाएको छ ।
रंगेली नगरपालिकाको २९ वटै विद्यालयमा दिवा खाजा खुवाउने जिम्मा मेयरको छोरा र भान्जालाई मात्र दिनुले एकाधिकार कायम गरेर चरम भ्रष्टाचार भएको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताए।
यसै विषयमा मेयर बगडियालाई सम्पर्क गर्न खोज्दा मेयरको छोरा र आफन्तले उद्योग चलाउने नहुने कुन ऐनमा रहेको छ र भन्ने जवाफ दिए । छोराले गरिखान काम गर्नुलाई अपराध मान्न नहुने बताउँदै उनले भने, ‘ हामी खाजाको पैसा विद्यालयमा पठाउने काम गर्दै छौं ।'
मेरो निर्देशनमा छोराले पाएको भनेर लागेको आरोप भने निराधार भएको उनले बताए । यस अघि पनि मेयरमाथि आफ्नै उद्योगको ईटा प्रयोग गर्न ठेकेदारलाई लगाउने र ज्वाईको कम्पनीको पाइप लगाउन दवाव दिने गरेको स्थानीयहरुले आरोप लगाउँदै आएका छन्।
मेयरको आन्नद ईटा उद्योग सञ्चालनमा छ ।