बैतडीमा हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातीको मृत्यु, अर्का गम्भीर
बैतडी : बैतडीको पुर्चौडी नगरपालिका–६ मुडेलीधारमा हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातीको मृत्यु भएको छ भने अर्का ८ वर्षीय नाती भने गम्भीर घाइते भएका छन्।
बिहीबार दिउँसो हेरचाहाका क्रममा ५० वर्षीय गणेश साउँदले दुई वर्षीय आफ्नै नाती रेसम साउँद र ८ वर्षीय रिजन साउँदलाई कुटेर गम्भीर घाइते बनाएका थिए गम्भीर घाइते भएका दुई वर्षीय रेसमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु् भएको हो ।
अर्का उनका दाजु ८ वर्षीय रिजनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । रिजनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
हजुरबुवाको निर्घात कुटपिटबाट दिपक साउदका दुई वर्षीय छोरा रेसम र ८ वर्षीय रिजन गम्भीर घाइते भएका थिए । हेरचाहा गर्न हजुरबुवासँग छोडेर आमा र हजुरआमा घाँस काट्न गएको बेला साउदले नातीहरुलाई निर्घात कुटपीट गरेका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।
कुटपीट गर्ने बाजे गणेश साउदलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।