सिंघिया खोला सुकुमबासी बस्तीमा पस्यो : तीन घर बगे, बाढी प्रभावितको पालमुन बास
विराटनगर : प्रदेश १ को राजधानी विराटनगरको पूर्व भएर बग्ने सिंघिया खोला सुकुमबासी बस्तीमा पसेको छ । दुई दिनदेखि निरन्तर भएको वर्षाले खोलाको पानी सतह बढ्दै सुकुमबासी बस्तीमा पसेको हो । खोलाले तीन घर समेत बगाएको छ ।
जहदा गाउँपालिका वडा न –३ सिंघिया नदी किनारमा बसोबास गर्दै आएका सुकुमबासीहरूका ३ घर खोलाले बगाएको हो । आफ्नो घर खोलाले बगाएपछि उनीहरु अहिले खोला किनारमै पालमुनि बस्न बाध्य छन् र सहयोगको पर्खाइमा छन्।
सिंघिया खोला किनारमा बसोबारा गर्ने हजारौं मानिस जोखिममा रहेको वडा अध्यक्ष अनिल ठाकुरले जानकारी दिए ।विराटनगर र कटहरी गाउँपलिका सयौ परिवार विस्थापित समेत भएका छन् । अविरल वर्षापछि आएको बाढीका कारण विराटनगर महानगरपालिकाको सिंघिया खोला किनारका बासिन्दाको घरआँगनमा बाढीको पानी पसेको छ ।
शुक्रबार बिहानैदेखि खोलाको जलस्तर बढदै गएर सुकुमबासी परिवारका घरहरुमा बाढी पसेको थियो । लगातार बाढीको जलस्तर बढदै गएपछि उनीहरु घरभित्रका सरसामान लिएर सुरक्षित स्थानतर्फ लागेका छन् ।
बाढीको पानी पसेपछि विराटनगर १ को गंगाटोल र विराटनगर २ को सुकुमबासी टोलका सय बढी घरपरिवारका बासिन्दा अन्यत्र सरेका छन् । बाढीका कारण बालबालिका र ज्येष्ठ नागरिक सबभन्दा बढी प्रभावित भएका छन् ।
सिंघिया खोलामा बाढी आएपछि विराटनगर महानगरपालिकाको तटियक्षेत्रका अन्य सुकुमबासी टोलबस्ती समेत डुबानमा परेका छन् । पहिल्यैदेखि सर्तकता नअपनाएका कारण अकस्मात गाईवस्तु र मालसामान लिएर अन्यत्र सुरक्षित स्थानमा सर्नुपर्ने भएपछि पीडित थप समस्यामा परेका छन् ।
अचानक बासस्थान छाडेर अन्यत्र सर्नुपरेपछि भाडाको घर पाउन समस्या भएको विराटनगर २ का दिनेश सहनीले बताए । खोला किनारको घरबाट सरसामानसहित निस्किएका सुकुमबासी परिवार ठेला र टेम्पुमा त्रिपालले छोपेर आफ्ना सामान सुरक्षित गर्ने प्रयास गरिरहेका छन् ।
लगातार पानी परिरहेका कारण उनीहरुलाई खानपिनको समेत समस्या भएको छ । बालबालिकाहरु भोकभोकै बस्नुपर्ने अवस्था सृजना भएको छ । अधिकांश परिवार दैनिक ज्याला मजदुरी गर्ने वर्गका रहेपनि उनीहरु आफ्नो रोजगारीमा जान सकेका छैनन् ।
महानगरपालिकाको तटीय क्षेत्रमा प्रत्येक वर्ष बाढी र डुबानका घटनाहरू दोहरिने गरेको छ ।