किसानलाई मल पाउनै सकस

किसानलाई मल पाउनै सकस
सुन्नुहोस्

गोरखा : जिल्लाभरका खेतमा रोपाइँ गर्ने यसबेला, किसानले मल नपाउँदा चिन्तामा परेका छन्। उनीहरू मल पाउँदा जति पनि मूल्य तिर्न तयार भए पनि पाउनै मुस्किल परेको सुनाउँछन्। 

सिरानचोक गाउँपालिका– ४ चोरकाटेकी इन्दिरा पोखरेलले यो रोपाइँमा ५० केजी मलको माग गरेकी थिइन््, तर पाइनन्। उनको भागमा पाँच केजीमात्रै पर्‍यो। उनी आबद्ध जन्मभूमि बहुउद्देश्यीय सहकारी संस्थाका करिब १४ सय किसान सदस्यले सय–सय किलो मल मागेका छन्। तर अहिलेसम्म पालिकाले पाँच–पाँच किलो मात्र उपलब्ध गराएको छ।

‘मल तेब्बर बढी मूल्य तिरेर पसलमै किनेर चलाउनु परेको छ’, सहकारीकी व्यवस्थापकसमेत रहेकी पोखरेल भन्छिन्, ‘सहकारीले १८ सय बोरा मल माग गरेको छ। तर अहिलेसम्म जम्मा ६६ बोरा मात्र पाइएको छ।’ अनुदानको मल पाउन नसक्दा किसानले प्रतिकिलो २५ रुपैयाँमा पाइने युरिया मललाई ७५ रुपैयाँसम्म तिर्नु परेको उनले सुनाइन्। ‘व्यापारीले सीधै नारायणगढबाट ल्याएर प्रतिकिलो ७५ रुपैयाँमा बेच्छन्’, उनी भन्छिन्, ‘किसानलाई चोट्टे परेको छ, सरकार दिन सक्दैन। अनि जति पनि तिरेर किसान किन्न बाध्य छन्।’ 

अनुदानको मल कृषि सामग्री संस्थानले प्रतिबोरा ७ सय ५० र साल्ट ट्रेडिङले प्रतिबोरा ८ सयमा उपलब्ध गराउँछ। व्यापारीले नारायणगढको पसलबाट प्रतिबोरा १८ सयमा ल्याएर २४ सयमा बेच्ने गरेको उनले सुनाइन्। पालुङटार नगरपालिका– ९ बिर्दीको खहरे कृषि सहकारी संस्थाले युरिया मल पाएको छैन। संस्थाले पाएको २३ बोरा डीएपी मल प्रहरी राखेर ८५ किसानलाई वितरण गरेको अध्यक्ष उमेश ढकालले बताए। प्रतिबोरा २५ सय २० रुपैयाँमा ल्याएर प्रतिकिलो ५८ रुपैयाँका दरले वितरण गर्‍यौं’, उनले भने, ‘युरिया मल भने अझै आएको छैन।’ खाँचो परेका बेला बर्सेनि मलको हाहाकार हुन्छ।’

पालुङटार नगरपालिकामा अहिलेसम्म आधाजसो मात्रै रोपाइँ भएको छ। पर्याप्त पानी नपरेको र बाँध कुलोका प्रशस्त पानी नभएकोले पनि रोपाइँ हुन नसकेको हो। यसअघि मलको वितरण गर्दै आएको उपभोक्ता सहकारी संघले पनि हात झिकेको अध्यक्ष ऋषिराज धौरालीले बताए। ‘किसान पैसा जति परे पनि तिर्छौं, बोरा–बोरा मल चाहिन्छ भन्छन्, तर सरकारले दिने मल हात्तीको मुखमा जिराजस्तो मात्रै हुन्छ’, उनले भने, ‘हामीले जति कराए पनि काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ जस्तो मात्र भएको छ। किसानको मलको माग पनि पूरा गर्न सकिएन।’ कुनैबेला सहकारीले प्रतिबोरा ११ सय रुपैयाँमा उपलब्ध गराएको मल अहिले २४ सयमा कालोबजारी भइरहेको उनले बताए। 

अहिलेसम्म गोरखा नगरपालिकाले युरिया ९३.१५ टन र डीएपी ५४ टन पाएको छ। पालुङटार नगरपालिकाले १०१.०५ टन युरिया र ४८.५ टन डीएपी पाएको छ। त्यस्तै गण्डकी गाउँपालिकाले ८१.३५ टन युरिया र ५४ टन डीएपी प्राप्त गरेको छ। सहिद लखन गाउँपालिकामा ५५.९५ टन युरिया, २७.७ टन डीएपी, भीमसेन थापा गाउँपालिकामा ४१ टन युरिया र ३५.२५ टन डीएपी, आरुघाट गाउँपालिकामा ३५.१५ टन युरिया र २१ टन डीएपी प्राप्त भएको छ।

त्यस्तै  सिरानचोक गाउँपालिकामा ४६.७५ युरिया र २३ टन डीएपी, बारपाक सुलिकोट गाउँपालिकामा २४.२ टन युरिया र ११.६५ डीएपी मल प्राप्त भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.