‘विकासमा दक्षिण कोरिया झैं पाइला चाल्दैछ नेपाल’
काठमाडौं : नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङ्ले आफू नेपाल र दक्षिण कोरियाबीच स्थापित जनस्तरको सम्बन्धलाई थप उचाइ दिने प्रयासमा रहेको बताएका छन्। नेपालमा कार्यभार सम्हालेको डेढ महिनामा अन्नपूर्ण मिडिया नेटवर्क मुख्यालयको भ्रमणका क्रममा गरिएको अन्तरक्रियामा उनले नेपाल र कोरियाबीच धेरै कुरामा समानता रहेको उल्लेख गरे।
राजदूत पार्कलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापा, अन्नपूर्ण पोस्ट्का प्रधानसम्पादक अखण्ड भण्डारीलगायत नेटवर्कअन्तर्गतका मिडियाका सम्पादकीय नेतृत्वले स्वागत गरेका थिए। स्वागतका क्रममा अध्यक्ष थापाले नेपाल–कोरिया दौत्य सम्बन्ध थप मजबुत बनाउन नेटवर्कका मिडियामार्फत महत्त्वपूर्ण भूमिका निर्वाह भइरहेको उल्लेख गरे। ‘कोरिया हाम्रो अनन्य मित्र मुलुक हो। दुई देशबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पुग्दै गरेको छ। नेपाल–कोरिया भाइचारा झन् प्रगाढ भइरहेको छ’, अध्यक्ष थापाले भने, ‘कोरियाका राजदूतलाई मिडिया हाउसमा स्वागत गर्न पाउँदा हामी हर्षित छौं।’
त्यसपछि अन्नपूर्ण मिडियाअन्तर्गतका सम्पादकहरूसँग भएको अन्तरक्रियामा राजदूत पार्कले दौत्य सम्बन्ध स्थापनाको ५० वर्षबीच उल्लेख्य उपलब्धि भएको उल्लेख गरे। उनले कोरिया सरकार नेपाललाई विकास सहायता गर्न सधैं तत्पर रहेको भन्दै कोरियाली लगानीकर्तालाई नेपाल आउन प्रोत्साहन गरिरहेको बताए। कोरियाको लगानीमा दुई जलविद्युत् निर्माण भएको र एउटा निर्माणाधीन रहेको परिवेशमा कोरियाली लगानीकर्ता प्रसारण लाइन निर्माणमा पनि आकर्षित रहेको जानकारी दिए।
‘कोरियाली कम्पनीहरू अन्य क्षेत्रमा भन्दा नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न बढी उत्साहित छन्,’ उनले भने, ‘कोरियाली कम्पनीको लगानी रहेको दुई वटा जलविद्युत् निर्माण सम्पन्न भएको छ भने २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना निर्माणाधीन छ।’ उक्त आयोजना सन् २०२७ मा निर्माण सम्पन्न हुनेछ। यसले नेपालको विद्युत् क्षेत्रमा ठूलो योगदान गर्नेछ।
‘जलविद्युत् उत्पादनमा मात्र नभएर प्रसारण लाइन निर्माण गर्न पनि इच्छुक छौं। यसका लागि ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणसँग पनि समन्वय भइरहेको छ,’ राजदूत पार्कले भने। उनले विकासशील राष्ट्र बन्नुअघि कोरियालीले पनि वैदेशिक रोजगारीमा पसिना बगाएको सम्झना गर्दै नेपालीले विदेशमा आर्जन गरेको रकम र सीप उद्योग स्थापना तथा रोजगारी सिर्जनामार्फत देश विकास गर्न उपयोगी हुने धारणा राखे।
नेपालसँग सुदृढ श्रमशक्ति रहेको चर्चा गर्दै पार्कले कोरियालीहरूले पनि खाडी मुलुक र जर्मनीमा वैदेशिक रोजगारी गरी सीप तथा आम्दानी आर्जन गरेको र देश विकासमा परिचालन गरेको चर्चा गरे। ‘आज नेपाली नागरिकहरू कोरियालगायत विभिन्न मुलुकमा रोजगारीको क्रममा हुनुहुन्छ। त्यहाँबाट आर्जन सीप र आम्दानी नेपाललाई कोरिया झैं विकसित मुलुक बनाउन उपयोग हुनेछ,’ उनले भने।
उनले आफू नेपालका लागि कोरियाली राजदूत बनेर काठमाडौं आएको केही दिनमै नेपाली सञ्चारमाध्यममा कोरियाबाट फर्किएका एक जनाले उद्योग खोलेर आम्दानी गरेको र रोजगारी पनि सिर्जना गरेको समाचार पढेर हर्षित भएको सम्झना गरे।
‘त्यतिबेला कोरियामा उद्योग थिएनन्, रोजगारी थिएन। नेपालीझैं कोरियालीहरू पनि वैदेशिक रोजगारीमा जान्थे,’ उनले भने, ‘मेरो आफ्नै बुवाले खाडी मुलुकमा निर्माण मजदुरको रूपमा काम गर्नुभयो। कोरियाली नागरिकहरू साहुजी बनेर नामदार राख्ने सपना देखे, सोहीअनुसार मिहिनेत गरे। नेपालीमा पनि सोही ऊर्जा पाएको छु।’