रामायणको मनोसामाजिक विवेचना

समीक्षा

रामायणको मनोसामाजिक विवेचना

संस्कृत भाषा—साहित्यका आदिकवि वाल्मीकि विरचित ‘रामायण’ महाकाव्य हाम्रो सनातन संस्कृतिको महŒवपूर्ण धरोहर हो। सीता—जन्मस्थल जनकपुर (नेपाल) अनि राम—जन्मभूमि अयोध्या (भारत) दुवै स्थान रहेको भारतवर्षका बासिन्दा हाम्रा लागि रामायणको सान्दर्भिकता अझै बढी छ। बाल्यकालदेखि नै रामायण—कथा श्रवण, श्लोक वाचन, दोहा—चौपाया भजनकीर्तन गरेर हुर्किएका हौं हामी। ‘रामायण’लाई धर्मग्रन्थमात्र नभई नैतिक दृष्टान्त, सौन्दर्यशास्त्र, नाट्यकौशल अनि काव्य—साहित्यको अनुपम संयोजनका रूपमा पनि मानिन्छ। तर यसका मनोसामाजिक पक्षहरूका बारेमा भने खासै चर्चा भएको पाइँदैन। 

कुनै पनि काव्य—ग्रन्थको मनोचिकित्सकीय कोणबाट विश्लेषण गर्नुपर्दा सर्वप्रथम यसका पात्रहरू (विशेषगरी ‘नायक’)को मनोविज्ञानको अध्ययन गर्नुपर्ने हुन्छ। नायकत्वको मामलामा संस्कृत काव्यकथाहरू अलिकति पृथक् नै छन्। यिनमा एकल नायक नभई बहुनायकको उपस्थिति देखिन्छ। जस्तैः श्रीमद्भागवद् महापुराणमा कृष्ण—बलराम, महाभारतमा पाँच पाण्डव, अन्य पुराणहरूमा त्रिदेव, सप्तशतीमा नवदुर्गा।

‘रामायण’मा अयोध्याका राजा दशरथका चारवटै छोरा समग्र नायकत्वको हकदार छन्। अझ रामलक्ष्मण जोडीले काव्यनायकको व्यक्तित्व परिपूरण गरेका छन्। जन्मेदेखि नै एकसाथ रामलक्ष्मण दाजुभाइ यत्ति अभिन्न छन् कि एकको अभावमा अर्कोको अस्तित्व नै रहँदैन। राजकुमारका रूपमा दरबारी सुखसयलमा रहँदा होस् या किशोरावस्थामा विश्वामित्र आश्रममा लगिँदा। अनि वनबासको कठिन अवस्थामा होस् या युद्धको त्रासदीपूर्ण समयमा, हरपल हरक्षण साथसाथ। अन्त्य पनि कस्तो दुवैको ? लक्ष्मणले योगबलद्वारा शरीर त्याग गर्नासाथ रामले पनि बाँकी भाइहरूका साथ सरयु नदीमा देहत्याग गरे। अतः लक्ष्मणलाई समावेश नगरी भनौं या लक्ष्मणबिना रामको व्यक्तित्वको पूर्ण सिंहावलोकन हुनै सक्दैन।

रामलाई मर्यादा पुरुषोत्तम, आदर्श पुत्र/दाजु/पति, सफल राजा, विष्णुका अवतार मानिएको छ। तर पृथ्वीमा मानवरूपमा जन्मिएका व्यक्तिको मनोवैज्ञानिक परीक्षण भने मानवकै रूपमा नै गर्नुपर्छ। धार्मिक—सांस्कृतिक—साहित्यिक अवयवहरूबाट पूर्णरूपमा निरपेक्ष रहेर अनि मनोवैज्ञानिक—मनोचिकित्सकीय चश्माबाट हेर्दा भने रामको व्यक्तित्वमा सक्रियता, आक्रामकता र दृढताको अभाव देखिन्छ। पिताप्रतिको असामान्य नतमस्तकताका कारण उनले मनका भावनालाई निर्ममतापूर्वक दबाएर आत्मबलिदानकारी तवरले काम—कर्तव्य निभाएको देखिन्छ।

पारिवारिक षड्यन्त्रका कारण वनबास जानु परेको यथार्थ ज्ञात हुँदाहुँदै पनि पितृआज्ञा शिरोधार्य गरेका थिए रामले। तर उनैले नै पितालाई ‘स्त्रीको वशमा परेर आफूजस्तो छोराको त्याग गर्ने धर्मच्युत मूर्ख’ आरोपित गरे। सखातुल्य प्रिय भाइ लक्ष्मणसितका यस्तै एकान्त—संवादका समयमा हुने तिक्ततापूर्ण अभिव्यक्तिको आधारमा रामको द्विविधाग्रस्त मनस्थितिको सफल प्रस्तुतीकरण गरेको पाइन्छ रामायणमा। यसरी वाल्मीकिले निश्चित उद्देश्यका साथ धर्तीमा अवतरित भएका रामभित्र लुकेर रहेका मानवीय कमजोरीहरूको यथार्थ चित्रण गरेका छन् महाकाव्यमा।

सीतासँगको प्रेम अनि वैवाहिक सम्बन्धमा रामको मानसिक द्विविधा स्पष्ट झल्कन्छ। त्यस समयका अन्य राजाहरू, पितापुर्खाले समेत गर्दै आएका स्त्री—प्रसंगका चलनविपरीत उनले एक पत्नी धर्म निभाएको पाइन्छ। वनबासको समयमा सीताहरण भएपछि उनको मनोदशा अत्यन्त विचलित बन्यो। सीता पुनः प्राप्तिका लागि ठूलो युद्ध पनि गरे उनले। त्यसैका लागि सेना तयार पार्दा बाँदर—भालुहरूसँग मित्रता गाँस्नसमेत हिच्किचाएनन् उनले। स्वधर्मविपरीत छलपूर्वक बालिवध गरेर उनैका भाइ सुग्रीवसँग मित लगाउन पुग्छन् उनी। लंका पुग्न अत्यन्त अप्ठ्यारोका साथ सागरमा सेतुबन्धन पनि गराउँछन्।

राजनीतिमा प्रयोग हुने साम, दाम, दण्ड, भेद सबै यसमा पनि प्रयोग भएको छ। तर युद्धमा विजयी भएपछि सीतालाई फिर्ता लैजाने समयमा सीताको पवित्रतामा आफू पूर्णतया विश्वस्त रहँदारहँदै पनि फगत लोकरिझ्याइँका खातिर अग्निपरीक्षाजस्तो कठोर कार्य गराउँछन् उनी। अझ पछि त, फगत केही व्यक्तिको कानेखुसीको भरमा गर्भवती सीतालाई त्याग गर्नसमेत तयार भएका थिए उनी। भाइहरूसितको सम्बन्ध, रघुकुलधर्म, सत्यवादिता अनि राजनीतिको दाउमा सीता–रामबीच परस्पर समर्पण अनि प्रेमको अतिशय अवमूल्यन गरेका थिए रामले। स्त्री—चरित्रलाई कमजोर मापन गर्ने ‘रामायण’मा सीताको त्यत्ति दर्बिलो स्थान छैन। तसर्थ सीताराम जोडीको आलोकमा रामको नायकत्वको पहिचान हुँदैन, यो ‘रामायण’ काव्यको उल्लेख्य कमजोरी हो।

रामको निष्क्रियता अनि किंकर्तव्यविमूढताका विपरीत उनका विश्वस्त सहयोगी, सल्लाहकार एवं जीवनभरका साथीका रूपमा रहेका भाइलक्ष्मण हरदम सक्रिय, दृढसंकल्पी, तत्पर अनि धर्मपरायण देखिएका छन्। रामलाई पितातुल्य मान्ने लक्ष्मण उनका लागि आफ्ना पिता दशरथ, सौतेनी आमा कैकेयी, अनि भाइ भरतसँग युद्ध गर्न पनि पछि नपर्ने निःसंकोच घोषणा गर्छन्। १४ वर्षे 
वनबासको समय भोकनिद्रा, कामेच्छा, भावना, वैयक्तिक कर्तव्य सबै दाजुभाउजूकै सेवाका लागि त्याग गर्ने लक्ष्मणले पत्नीवियोगको पीडामा दिग्भ्रमित रामलाई सम्हाल्न तर्कसंगत सल्लाह साथै हौसला पनि दिएको पाइन्छ। लक्ष्मणबिनाका रामलाई एकल नायक मान्न मिल्दैन।

फेरि, लक्ष्मणकी विवाहिता पत्नी उर्मिलाको त्याग, समर्पण, प्रेमलाई अत्यन्त गौण मान्ने गम्भीर भूल गरेका छन् वाल्मीकिले। हुन त तत्कालीन समाजको प्रतिविम्बको आलोकमा दृष्टिबोध गर्दा उर्मिलाले पतिबिना खासगरि १४ वर्ष सासूूहरूको स्याहारसुसार गरेर बस्नुलाई विवाहिता स्त्रीको धर्म नै मानेर नजरअन्दाज गरिएको हुन सक्छ। वर्तमान परिप्रेक्ष्यमा यो विषयको समालोचनात्मक चिन्तन गर्दा भने वास्तवमा ‘उर्मिलाले त दिदी सीताभन्दा पनि ठूलो दुःख खपेकी हुन्’ भन्नुपर्छ। किनभने, सीता वनबासमा नै रहे पनि पतिसँग नै थिइन्, अनि उर्मिला दरबारमा नै रहे पनि पति उनीसँग थिएनन्।

वनबासपछिको समय भने उर्मिलालाई सुखमय हुन थाल्यो, अनि सीतालाई कष्टकर। गर्भवती अवस्थामा सीतालाई अनाहकमा वनतिर लखेटिनु पर्‍यो। यी सब हुँदाहुँदै पनि केही कथानक या घटना हेर्दा तत्कालीन समयमा ‘पत्नीको स्थानलाई त्यत्ति अवमूल्यन गरिएको भने होइन कि ?’ भन्ने प्रश्न पनि खडा हुन्छ। नत्र त रामले अश्वमेध यज्ञ गर्दा पत्नीको आवश्यकता परेको अनि सीताको स्वर्ण मूर्ति बनाइएको किन त ? तर फेरि, ‘त्यसको सट्टा सीतालाई नै वनबाट फिर्ता किन नगरिएको होला ?’ भन्ने प्रश्न पनि जायज नै छ। यो कुरा भने अस्पष्ट छ रामायणमा। मैले नै पो बुझ्न नसकेको हो कि ? यी सबै तथ्यका बाबजुद पनि मानवीय चरित्रका अँध्यारा—उज्याला, उदार—अनुदार, दैवी—आसुरी सबै किसिमका जटिल अनि विरोधाभाषपूर्ण पक्षलाई काव्यात्मक रूपमा पस्कन सफल छ ‘रामायण’। यसको कथात्मकतालाई मनोचिकित्साका विभिन्न चरणमा सफलतापूर्वक उपयोग गर्न पनि सकिन्छ।

दशरथको सत्यवादिता एवं कामदुर्बलता, मन्थराको दूषित सल्लाह, कैकेयीको भ्रष्ट मति आदिका कारण भएको पारिवारिक विग्रह देखाएको ‘रामायण’मा परिवारको समग्र मनोवैज्ञानिक अध्ययनका सामग्री छ। फेरि, सामाजिक लाञ्छनाबाट जोगिन रामले गरेका अग्निपरीक्षा अनि सीता परित्यागजस्ता उदाहरणले पति—पत्नीबीचको सम्बन्धको मनोसामाजिक धरातललाई पनि प्रष्ट्याउँछ। त्यस्तै, झुटो सुनौलो मृगप्रतिको लालसा अनि लक्ष्मणको असल मनसायलाई नकारात्मक मनस्थितिका आधारमा बुझ्दा सीता आफैं ‘विनाशकाले विपरीत बुद्धि’को प्रतिबिम्ब बन्न पुगेको विषय पनि रोचक छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.