अमेरिकामा पुनर्स्थापित भुटानी शरणार्थीसहित चारदेखि पाँच लाखसम्मको संख्यामा नेपाली हुनुपर्छ भन्ने छ।
कोरोना कहरले परोक्ष बनेका बालबालिकाका नेपाली भाषाकक्षाहरू प्रत्यक्ष भएसँगै उत्तर अमेरिकामा भाषा पुस्तक प्रकाशकहरू सल्बलाउन थालेका छन्। यस्ता पुस्तक प्रकाशनको इतिहास लामो नभए पनि पटकपटक, ठाउँठाउँमा प्रयास भएका छन्, अनि नेपालबाट आएका नेपाली र नेपालीभाषी भुटानी दुवैले। त्यसो त पाठ्यक्रम निर्माणमा पनि पटकपटक, ठाउँठाउँ र संस्थासंस्थाबाट प्रयास भएका छन्।
सल्बलाएका एउटा प्रकाशक हुन्, पेन्सलभेनिया राज्यको पिट्सबर्गस्थित एस एन्ड के एजुकेसनका कृष्ण रेग्मी। उनी भन्छन्, ‘हामी यस्ता भाषा पुस्तकका दुई पाण्डुलिपि लिएर बसेका छौं।’ उता अमेरिका नेपाल सहयोगी समाजका पाँच पुस्तक संशोधनका लागि तयार हुँदै गरेको यसका लेखक शिव लामिछाने बताउँछन्। कोभिड महामारीमा भाषाकक्षाहरू बन्द भए पनि प्रकाशनका काम जारी नै रहे। नेपालीभाषी भुटानीको संस्था साहित्य परिषद्, भुटानले ‘डायस्पोराको लागि नेपाली भाषाको पाठ्यक्रम’ (दैनिक पाठयोजनासहित) सन् २०२१ जनवरी २३ मा सार्वजनिक गर्यो।
पाठ्यक्रमबारे तयारी समिति सदस्य डा. लक्ष्मीनारायण ढकाल भन्छन्, ‘के, कति, कसरी पढाउने ? शिक्षकलाई सहयोग गर्ने किताब हो। सबै शिक्षक प्रशिक्षित हुँदैनन्। घरमै, वा साना समूहमा पढाइ भइरहेको अवस्थामा यसले शिक्षक निर्देशिकाको काम गर्छ। विद्यार्थीका हातमा होइन, सके अभिभावकले लिने पुस्तक हो। यसमा शब्दहरू छन्।
भाषा शिक्षामा संवाद हुन्ुपर्छ भनेर शब्द सूची बनाइएको हो। ४५ हप्ता, दिनको दुई घण्टाका लागि सामग्री पर्याप्त छ। यो क्रियाकलापमा आधारित छ। यसले दुईवटा परीक्षा लिने भनेर तोकेको छ। एउटा बीचमा र अर्काे अन्तिममा जुन ७० प्रतिशत मौखिक (संवाद परीक्षा) र ३० प्रतिशत लिखित परीक्षा।’ उनले यो पहिलो तहको पुस्तक भएको र एकपटक प्रयोग गरेपछि त्यसको मूल्यांकन गरेर अर्काे पुस्तक तयार पार्ने बताएका छन्।
डा. ढकालले नेपाली शिक्षणबारे एकल लेखनमा एउटा पुस्तकै तयार पारेका छन्, ‘डायस्पोरामा भाषा शिक्षण’ (एक सैद्धान्तिक विवेचना)। उनको अर्को पुस्तक हो, ‘बासदेखि पुनर्बाससम्म’। कोभिडकै महामारीमा प्रकाशक रेग्मी र उनका मित्र सञ्चमान राईको नाममा स्थापित उक्त संस्थाले तीन पुस्तक सन् २०२०–२१ मै ल्यायो। संस्थाका ती पुस्तक ‘राम्रो नेपाली किताब लेभल १’ तथा नैतिक शिक्षाका लागि ‘प्रार्थना माला’ र ‘राम्रा नैतिक कथाहरू’ हुन्। नेपाली अक्षर चिनाउने ‘राम्रो नेपाली किताब लेभल १’ मा १ सय ९३ पृष्ठ छन्।
‘प्रार्थना माला’ ११० पृष्ठको छ, जसमा पुस्तकमा संस्कृतका प्रार्थनाहरू छन् भने ‘राम्रा नैतिक कथाहरू’ करिब १०७ पृष्ठको छ, जसमा नीतिकथा, पूर्वीय दर्शनका कथा, पञ्चतन्त्रका कथा आदि छन्। कथापछि अभ्यास समावेश गरिएको छ। यी तीनै पुस्तक दुई वर्षअघि कोरोनाको आँधी नरोकिएकै बेला प्रकाशनमा आएका हुन्।
भर्जिनियाको अमेरिका नेपाल सहयोगी समाजका पाँच पुस्तक पनि कोभिडकालकै हाराहारीमा आएका हुन्। सन् २००८ मा स्थापित समाजले नेपाली भाषाशिक्षाका लागि सन् २०१६ मा अमेरिका–नेपाल शिक्षा सदनको स्थापना गरेपछि बालबालिकाका निम्ति यस्ता पुस्तकको खाँचो महसुस गरी प्रकाशन थालेको हो। ‘मेरो मातृभाषा नेपाली’ शृंखलामा आधारभूत तह (यसका दुई), मध्यम तह, उच्चमध्यम तह, उच्च तह गरी ५ पुस्तक छन्। लेखक लामिछाने भन्छन्, ‘खुसीको कुरा भनौं न, पुस्तकहरूले आफ्नो बाटो अमेरिकाबाहिरसम्म तय गरे।’
‘डायस्पोराका लागि नेपाली भाषाको पाठ्यक्रम’का निर्देशक खिम खतिवडाले भने व्यक्तिगत प्रयासमा सन् २०१७ र २०१८ मा ‘हाम्रो नेपाली भाषा’ भाग १ र २ प्रकाशन गरेका थिए। भाग १ मा तीन संवाद, ६ गीत र कविता, २ कथा, ४ गद्य र निबन्ध आदि गरी १६ पाठ छन्। पुस्तक ७६ आवरणका ४ गरी ८० पृष्ठको छ।
त्यस्तै, दोस्रो भागका १३ वटा पाठमध्ये ४ संवाद, ३ गीत र कविता, २ गद्य र निबन्ध, ३ कथा, र एक जीवनी छन्। यो भाग भित्री ९६ आवरण ४ गरी १०० पृष्ठको छ। यी सानातिना प्रयासका साथै गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिका र क्यानडाले पुस्तक प्रकाशन गरे। एनआरएन क्यानडाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (ओटावा)सँग मिलेर निकालेको ‘प्रवासमा नेपाली शिक्षा’का दुई भाग छन्। सन् २०१७ मा प्रकाशित यी दुई पुस्तकमा पहिलो भाग कक्षा १–४ र दोस्रो भाग ५–८ का निम्ति हुन् भने पहिलो २४४ पृष्ठ र दोस्रो १९६ पृष्ठको छ।
एनआरएन अमेरिकाले भने भाषा पुस्तकलाई पीडीएफमा उपलब्ध गरायो। संस्थाले सन् २०१८ मा कक्षा १ देखि ६ सम्मका पुस्तक निकालेको हो। यी सबै पुस्तक करिब १ सय ३० पृष्ठका छन्। टेक्सस च्याप्टरको सहायतामा सन् २०२० मा ‘अभिभावकलाई जानकारी’ (यो पुस्तक होइन), ‘मेरो नेपाली अक्षरमाला’ (८१ पृष्ठ), ‘नेपाली नैतिक ज्ञान दर्शन’ (७६ पृष्ठ), ‘पाठ्यक्रमको प्रारूप (नैतिक ज्ञान दर्शन र नेपाली भाषा– आधारभूत तह’ (१९ पृष्ठ) र ‘पाठ्यक्रमको प्रारूप नैतिक ज्ञान दर्शन र नेपाली भाषा मध्यम तह’ (१९ पृष्ठ) ल्याएको हो। संस्थाका पुस्तक यसको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ। पुस्तक आकर्षक बनाउन सबैले रंगीन पृष्ठ समावेश गरेका छन्। सबैको मेहनत देखिन्छ। एनआरएन अमेरिकाका पुस्तकका तुलनामा एनआरएन क्यानडाका कमजोर देखिन्छन्। पुस्तकमा साना मसिना त्रुटि स्वाभाविक मान्नुपर्छ।
यतिका पुस्तक र पाठ्यक्रम किन फरक व्यक्ति वा संस्थाबाट आए ? संख्याका आधारमा यति आउनु आवश्यक थियो। पछिल्ला जनगणनाका कुरा गर्दा सन् १९९० ले अमेरिकामा नेपालीको संख्या २ हजार ६ सय १६, सन् २००० ले ९ हजार ३ सय ९९ र सन् २०१० को अमेरिकी जनगणनामा ५९ हजार ४ सय ९० देखाएको थियो। यता सन् २०२० को अमेरिकन कम्युनिटी सर्भेले १ लाख ५२ हजार ९ सय ९३ नेपाली भनेको छ, यो जनसंख्या विभागले बर्सेनि गर्ने सर्भे हो। जुन वास्तविक नेपालीको संख्याभन्दा निकै कम हो।
उता एनआरएन अमेरिकाले अमेरिकामा रहेका नेपालीको संख्या सन् २०१७ जनवरीमा पहिलोपटक प्रतिवेदन सार्वजनिक गर्दै भनेको थियो, ‘अमेरिकामा २ लाख ५१ हजार नेपाली छन्।’ संस्थाले वार्षिक १५ हजार पाँच सयका दरले नेपाली थपिँदै गएको अनुमान गरेको पनि थियो। यसो भनेको पनि ६ वर्ष भइसक्यो। एनआरएनको अनुमानलाई हिसाबमा उतार्दा ३ लाख ४४ हजार पुगेको हुनुपर्छ। जे जसो देखिए पनि अमेरिकाका आधिकारिक निकायहरूको अनौपचारिक बुझाइमा यहाँ ४ देखि ५ लाख नेपाली हुनुपर्छ भन्ने छ। यस्तै नेपाली भाषी दोस्रो ठूलो समूह हो, पुनस्र्थापित भुटानी शरणार्थी। अमेरिकी सरकारले ९६ हजार २ सय १३ नेपालीभाषी भुटानीलाई सन् २००८ पछि बसोबास गराएको छ। आखिर भाषा सबैको एकै हो।
यति ५–६ लाखको संख्यामा १८ वर्षमुनिका २२ प्रतिशतलाई चाहिने पाठ्यसामग्री तयार पार्न दुवै आप्रवासी समूहबाट एक सय जनाको समूह बनाउन किन नखोज्ने ? पुस्तक र पाठ्यक्रम एकथलोबाट किन ननिकाल्ने ? विज्ञहरू एउटा गाँठोमा किन नबाँध्ने ? अब पुस्तकमा जोड दिने वा नयाँ प्रविधिमा आधारित एपहरूमा पठनपाठन गर्ने भन्नेमा विज्ञता खर्चिन पो पर्छ कि ? त्यसको विकासमा लाग्ने कि ?