पिसाब गर्न निस्किएका वृद्ध मृत फेला
विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–७ का एक जना वृद्ध शनिबार बिहान मृत फेला परेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले ९७ वर्षीय श्रीनारायण साहलाई मृत भेटिएको जानकारी दिए।
उनका अनुसार साह पिसाब गर्न भनेर शुक्रबार राति ९ बजेतिर घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घर फर्किएर नआएपछि परिवारका सदस्यले भोलिपल्ट बिहान प्रहरीलाई खबर गरेका थिए। खोजी गर्ने क्रममा साहले प्रयोग गरेको लौरो घरबाट २५ मिटरजति उत्तरमा रहेको चतरा मूल नहरको डिलमा फेला परेको थियो।
स्थानीयको सहयोगमा वृद्धको खोजीमा जुटेको प्रहरीले शनिबार बिहान ६ बजेतिर शव फेला पारेको हो। डीएसपी दाहालका अनुसार नहरबाट करिब ३ किलोमिटर पूर्व–दक्षिणमा रहेको बूढीगंगा–७ र ग्रामथान गाउँपालिका–७ स्थित सीमा क्षेत्रमा रहेको खदम खोलामा साहलाई मृत फेला पारिएको हो। खोलाको पानीमा अल्झिएर तैरिरहेको अवस्थामा वृद्धको शव फेला परेको उनले बताए।
दाहालले पिसाब गर्ने क्रममा नहरमा आएको बाढीले बगाएर वृद्धलाई खोलामा पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए।