वीरगन्जमा भँगेरा चरा बचाउ अभियान
वीरगन्ज : विश्वबाटै लोप हुँदै गइरहेको गौरैया (भँगेरा) चराको संरक्षणका लागि वीरगन्जमा एक परोपकारी संस्थाले अभियान थालेको छ।
ज्वाइनिङ ह्याण्डस् फर गुड रिजन ( फोरजीआर ) नामक संस्थले लोपोन्मुख अवस्थामा रहेको भँगेरा चराको संरक्षणका लागि ‘गौरैया (भँगेरा) बचाउ अभियान’ थालेको हो।
त्यसका लागि संस्थामा आबद्धहरूले भँगेरा बस्ने घोसला (गुँड ) बनाएर घर घरमा वितरण गर्न सुरु गरेका छन्। पहिलो चरणमा वीरगन्ज महानगरपालिकाको सहकार्यमा ५ सय थान घोसला महानगरका विभिन्न वडाका घरधुरीमा निःशुल्क वितरण गर्न थालिएको संस्थाका सदस्य अनिशकान्त कुशवाहाले बताए।
नेपाल र भारतमा हिन्दू धर्म संस्कृतिमा शुभ संकेतका रूपमा मानिने भँगेरा चरा बासस्थानको अभावमा लोप हुन थालेको अवस्था देखिएपछि उक्त चराको संरक्षणका लागि आफूहरूले अभियान नै सुरु गरेको उनले बताए।
कुशवाहाले भने,‘ भँगेरा चरा खासगरि फुसका घरहरूको छाना र पालीमा गुँड बनाएर बस्छ तर बढ्दो शहरीकरणका कारण फुसका घरहरू देखिन छाडे, जताजतै कंक्रिटका घरहरू बन्न थाले, जसका कारण बासस्थान नपाएर भँगेरा चराहरू अहिले लोप हुन थालेका छन्।
त्यसैले संस्थाले पक्की घरकै बार्दली, झ्याल र भेन्टिलेसन भएका कोठा इत्यादि ठाउँमा राख्न मिल्ने भँगेरा चराले बास बस्न अनुकुल हुने खालको गुँड ((सानो घर) बनाएर वितरण गर्न थालेको कुशवाहाले बताए।
पहिलो चरणमा महानगरपालिकाको सहकार्यमा ५ सय थान गुँड निःशुल्क वितरण गरिने र त्यसपछि इच्छुक व्यक्तिलाई सशुल्क वितरण गरिने संस्थाका सदस्य कुशवाहाले बताए।
शुक्रबार वीरगन्जमा लागेको रात्रि बजारमा थापिएको स्टलबाट वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले ५ सय थान गुंडका लागि अर्डर गरेको जानकारी पनि उनले दिए।