हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दाको फाइल खोल्न रास्वपा सभापतिको चुनौती
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारविरोधी फाइल खोल्ने कामलाई सरकार र सत्ता टिकाउने खेलमात्र बनाउन नहुने बताएका छन्।
शनिबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिने स्पष्ट पारे।
रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उनले जनताको मुद्दामा निःस्वार्थ र निःसर्तरूपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न आग्रह पनि गरे।
उनले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे। उनले रास्वपाले निर्वाचनका बेला जनतासँग गरेको बाचा नभुलेको पनि बताए।