स्याङ्जाका नेवार समुदायले मनाए गोठेमंगल जात्रा
स्याङ्जा : स्याङ्जाका नेवार समुदायले शनिवार गोठेमंगल जात्रा मनाएका छन्। पुतलीबजार नगरपालिका-१ प्रगतिनगरस्थित झिगु प्रगति नेवा छे को सक्रियतामा गोठेमंगल जात्रा प्रर्दशनी गरिएको हो।
यहाँका नेवार समुदायले घर तथा समाज शान्तिको कामना गर्दै पूजाआजा गरी गोठेमंगल जात्रा सुरु गरेका हुन्। बाजागाजा सहित गीत गाउँदै जात्राले नगर परिक्रमा गरी नजिकको नदी तथा खोलामा लगेर जलाइएको छ।
विशेषतः नेवार समुदायले आजको जात्राबाट आफ्ना घर तथा परिवारको सुख शान्ति प्राप्ती होस् भन्दै नराम्रा मन, भावनालाई भूतप्रेत संझी भगाउने र आगोमा दहन गर्ने मुख्य उद्देश्य रहेको झिगु प्रगति नेवा छे का अध्यक्ष राजेन्द्र श्रैष्ठले जानकारी दिए।
पराल, छवाली, काठ, बोरा, कागज लगायत विभिन्न लत्ता, कपडा तथा जुत्ता, टोपीको प्रयोग गरी राक्षस स्वरूपमा पुरुष रूपमा (घण्टाकर्म) प्रतीक बनाइएको हुन्छ। त्यसलाई फूलपाती लगायतले सजाइएको हुन्छ।
‘घण्टाकर्णले नेवार बस्तीमा गरेको अत्याचार गरेको र पछि उसलाई भ्यागुताले धाव भएको जमिनमा लगेर फसाएको भन्ने किंवदन्ती छ। दोबाटो चौबाटोमा बसेर दुःख दिने, पैसा असुल्ने, महिला र बालिकामाथि व्यभिचार गर्ने उसको दिनचर्या हुन्थ्यो’, अध्यक्ष श्रेष्ठले भने।