बर्दिया पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
गुलरिया : बर्दियालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। बर्दियामा १६ देखि ५९ महिना उमेर समूहका कुनै पनि बालबालिका खोपबाट बञ्चित नभएकाले यसलाई दिगोपन राख्ने प्रतिबद्धता गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
संघीय संसद एवम् पूर्व सिँचाइ मन्त्री संजयकुमार गौतमले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै यसलाई दिगो राख्न सबै चनाखो हुनुपर्ने बताए।
बर्दियाका गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका तथा गेरुवा र बढैयाताल गाउँपालिकाले पूर्ण खोप निश्चितता घोषणासँगै दिगोपन कार्यक्रम गरेपछि स्वास्थ्य कार्यालयले समग्र बर्दियालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेको हो।
जिल्ला भित्रका स्वास्थ्य अवस्थालाई उचाइमा पुर्याउन उपचारात्मक सेवासँगै जनस्वास्थ्यका कार्यक्रम तथा गतिविधिलाई थप प्रभावकारी बनाउँदै लगिने स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए।
स्वास्थ्य कार्यालयको सर्भेक्षणका क्रममा जिल्लामै सबैभन्दा बढी गुलरिया नगरपालिकामा २६५, बढैयाताल गाउँपालिकामा ३०, बाँसगढी नपामा २९, ठाकुरबाबामा १२, मधुवनमा ११, राजापुरमा ८, बारबर्दियामा ५ र गेरुवा गाउँपालिकामा ४ जनागरी ३६४ जना ड्रपआउट बच्चा फेला परेका थिए।
२०७८ सालमा बर्दियालाई पहिलो पटक पूर्णखोप सुनिश्चित जिल्ला घोषणा र ०७९ सालमा दोस्रो पटक घोषणा गरिएको थियो।