स्थानीय सरकारलाई बलियो बनाउँछौं : मुख्यमन्त्री जम्कट्टेल
सिन्धुली : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका स्थानीय तहलाई बलियो बनाउने बताएका छन्।
आइतबार सिन्धुलीमाढीमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री जमकट्टेल आधारभूत स्वास्थ्य र माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी लिएको स्थानीय सरकारलाई बलियो, सवल र सक्षम बनाउन बागमती प्रदेश सरकार लागिपरेको बताएका हुन्। ‘स्थानीय सरकारलाई बलियो बनाएर मात्र संघीयताको पूर्ण रूपमा कार्यान्वयन हुन्छ। स्थानीय तहबाट प्रत्यक्ष रूपमा नागरिक लाभान्वित हुने भएकाले स्थानीय सरकारलाई बलियो बनाउन नसके प्रदेश सरकारको पनि औचित्यमाथि प्रश्न उठ्छ,’ उनले भने।
मुख्यमन्त्री जम्कट्टेलले पालिकाहरूले स्वास्थ्य, शिक्षा र खानेपानीलाई प्रमुख प्राथमिकतामा राखेर पाँच वर्षमा पाँचवटा मुख्य योजना सम्पन्न गर्ने लक्ष्य लिए दिगो विकास गर्न सकिने समेत सुझाव दिए।
प्रदेश सरकारले सरकारका मन्त्री,कार्यालय प्रमुखहरूका टेबलमा आवश्यकताका आधारमा कार्यान्वयन गर्न सकिने मात्र योजना राखिने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले काम नहुने कुनै पनि योजना तर्जुमा नगरिने स्पष्ट पारे।
आवश्यकता र कार्यान्वयन गर्न नसकिने कुनै पनि योजना प्रदेश सरकारबाट स्वीकृत नगरिने उनले बताए। मुख्यमन्त्री जम्कट्टेलले खुर्कोट–चियावारी सुरुङमार्ग उत्तर दक्षिण जोड्ने निकै महत्वपूर्ण मार्ग हुने भएकाले सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए।