सिन्धुली पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
सिन्धुली : सिन्धुली जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ। बागमती प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीत्रयको उपस्थितिमा आज एक कार्यक्रमका बीच सिन्धुली जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठ र स्वास्थ्य मन्त्री उत्तम जोसीको उपस्थितिमा सिन्धुली जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप सबै बालबालिकाले लगाएकोलाई पूर्ण खोप सुनिश्चित भएको मान्ने गरिन्छ। हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा खोप समावेश गरिएको छ।
तोकिएको मापदण्ड अनुसार सिन्धुली जिल्लाभरका १६ महिनादेखि ५९ महिनासम्मका कुल १४ हजार ३ सय ९२ जना बालबालिका रहेका छन्। ती सम्पुर्ण बालबालिकाहरूलाई राष्ट्रिय खोप तालिकाको मापदण्ड अनुसार खोप दिइसकेको र जिल्लाका नौ वटै पालिकाले पूर्ण खोप पालिका घोषणा भइसकेको छ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक कार्साङ लामा, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजन पोख्रेलले मुख्यमन्त्री शालिकराम जमकट्टेल समक्ष समर्थनसहित पेश गर्नुभएको थियो।