कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

नक्कली शरणार्थी प्रकरण एजेन्डा बनाउने कि नबनाउने विवाद

नक्कली शरणार्थी प्रकरण एजेन्डा बनाउने कि नबनाउने विवाद
फाइल तस्बिर।

संस्थापन पक्षीय केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि त्यसलाई बैठकको एजेण्डा बनाउने कि बनाउने भन्नेमा दुई धार देखा परेको छ।

काठमाडौं : कांग्रेसमा नक्कली शरणार्थी प्रकरणको विषयलाई केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा बनाउने कि, नबनाउने भन्नेमा तीव्र विवाद देखिएको छ। संस्थापन पक्षीय केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि त्यसलाई बैठकको एजेण्डा बनाउने कि बनाउने भन्नेमा दुई धार देखा परेको छ। संस्थापन पक्ष यो विषयमा मौन छ भने संस्थापन इतर पक्ष यो विषयलाई बैठकको एजेन्डा बनाएर खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने पक्षमा छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २ गते बस्दैछ। बैठकको औपचारिक एजेण्डामा नक्कली शरणार्थी प्रकरणको विषय त छैन। तर, संस्थापन इतर पक्ष भने यो विषय एजेण्डा बनाउनुपर्ने भन्दै तीव्र लविङमा छ। उता, देउवा निकट एक नेताका अनुसार खाँणलाई निलम्बन गर्ने विषय सभापति देउवाले बैठकमा राख्न चाहेका छैनन्। लामो समय देउवाको विश्वसनीय कार्यकर्ताका रूपमा चिनिएका खाँणका विषयमा केन्द्रीय कमिटी बैठकमा चर्चा छलफल भए पनि निलम्बन गर्ने विषयमा सहमति हुने पक्षमा देउवा नरहेको उनी निकटका अर्का नेताले बताए। 

देउवा निकट सहमहामन्त्री किशोरसिंह राठोरले अदालतमा विचाराधीन रहेको मुद्दाको विषयमा पार्टीमा छलफल गर्नुको कुनै अर्थ नभएको बताए। ‘अदालतमा विचाराधीन रहेको मुद्दाको विषयमा बोलेर कुनै निष्कर्षमा पुग्ने हैन,’ राठोरले भने, ‘यो कुरा सबैले बुझ्नुभएको छ। यही विषयमा अड्किएर सभापतिजीले गरेका अन्य राम्रा कामका विषय छायामा पार्न खोजिएको पनि हो।’

अर्का नेता रामहरी खतिवडाले भने, ‘केन्द्रीय समितिको बैठकमा उक्त विषयमा कसरी जाने के निर्णय गर्ने भन्ने सभापतिजीको हातमा छ। खाँणजीको विषयलगायत अन्य एजेन्डाहरूमा के कसरी जाने भन्नेबारे पूर्वतयारी गरेर केन्द्रीय समितिमा प्रस्तुत हुनुहुन्छ।’ 

सभापति देउवाले केन्द्रीय समिति बैठकअघि बैठकमा उठ्न सक्ने विभिन्न विरोधका आवाजलाई रोक्ने दाउ गरेको पनि कांग्रेस इतर पक्षका नेता बताउँछन्। संस्थापन इतर नेता मधु आचार्य भ्रष्टाचारीलाई निलम्बन गर्नबाट रोक्न संस्थापन पक्षले किन्तुपरन्तुका विषय ल्याए पनि मान्य नहुने बताए। उनले भने, ‘बाहिर जनतामा भ्रष्टाचारीलाई ढाकछोप गर्ने कांग्रेसको पुरानै संस्कार हो भन्ने छाप परेको छ। यति अहिले पनि ढाकछोप गर्ने उपाय गरियो 
भने कांग्रेस जनतासामु कसरी जान्छ ? के भनेर जाने ?’

यसबीचमा पटक–पटक पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर केन्द्रीय समितिको बैठक सार्दै आएका देउवाले अब पनि सीमित एजेन्डा तय गर्ने र तिनै एजेन्डामा मात्र बैठक केन्द्रित गर्ने तयारीमा छन्। त्यसकै लागि पदाधिकारी र पूर्वपदाधिकारीसँग बैठक राखिएको हो। सभापति देउवाले दुई महामन्त्रीलाई यस अघिनै एजेन्डा तयार गरेर ल्याउन भनेका थिए। बैठकका एजेन्डा तय गर्ने विषयमा पार्र्टीमा छलफल भइरहे पनि सोमबार बस्ने बैठकले मात्रै एजेन्डाको टुंगो लाग्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

कांग्रेसले २०७८ मंसिरमा भएको १४औं महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो। ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनेर डेढ वर्षसम्म मिति तय गर्न नसकेको कांग्रेसले यो बैठकमा मिति तोक्ने तयारी पनि गरेको कांग्रेसका अर्का एक पदाधिकारीले बताए ।

यसअघि असार २७ को तयारीका लागि देउवाले अनौपचारिक रूपमा पदाधिकारी बैठक डाकेर केन्द्रीय समिति बैठकमा लैजाने एजेण्डाका विषयमा सभापति, उपसभापति, महामन्त्री र केही सहमहामन्त्रीहरू बसेर तय गरेका थिए। यसपटक भने देउवाले पार्टी पूर्वपदाधिकारी र अहिलेका पदाधिकारीको संयुक्त बैठक आज ३ बजे आफ्नै निवास धुम्बाराहीमा बोलाएका छन्। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा के–कस्ता एजेन्डा लैजाने भन्ने विषयमा छलफल गर्नका लागि पूर्वतयारी बैठक बोलाइएको हो।  

यसबीचमा कार्यसम्पादन समितिले गरेका निर्णय केन्द्रीय समितिको बैठकमा अनुमोदनका लागि पेस गर्ने तयारी कांग्रेसको छ। केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने कांग्रेस विधानको व्यवस्था छ। कांग्रेसले एक वर्षअघि असार २७ गतेदेखि साउन २ गतेसम्म चार दिनको केन्द्रीय समिति बैठक गरेको थियो।

यद्यपि कांग्रेसमा पार्टीको विधानअनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। त्यसो त महत्वपूर्ण निर्णयहरू केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको कांग्रेसले केन्द्रीय समिति ठूलो भएको र राष्ट्रिय राजनीतिमा आएका उतारचढावका कारण समयमा बैठक बस्न नसकेको सहमहामन्त्री किशोरसिंह राठोरले बताए। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.