१९८१ साउन १ गते कास्कीको बाटुलेचौरमा जन्मेका धर्मराज थापा सानै उमेरदेखि नै विद्रोही र कवित्वचेतले परिचित थिए। आमा मनमाया र बाबु हर्कबहादुरका छोरा भएर जन्मे उनी तर नेपाल आमाकै छोरा बन्न पुगे। २००३ मा पहाडी संगीतनामक गीतिरचना प्रकाशित गरी उनी कलासाहित्यका क्षेत्रमा प्रवेश गरिसकेका थिए। भाषासाहित्य, लोकसाहित्य तथा गायनमा समर्पित थापामाथि तारानाथ शर्माले २०१५ सालमा नै नेपाली झ्याउरे कुर्लियो... लेखी सम्मान गरेका थिए। बलशाली देह र मधुर बोलीका धनी थापा नेपाली राजनीतिका पृथक् पात्र डाक्टर डा. केआई सिंहका कट्टर समर्थक थिए। २००७ सालको दिल्ली सम्झौता धोका हो भन्ने सिंहको विचारलाई समर्थन गर्दै थापाले थुप्रै लोकपद्य रचे। यहीँबाट उनमा कलाका माध्यमबाट जनजागरणको स्वर उराल्ने प्रवृत्तिको सुरुआत भयो।
दार्जिलिङबाट अगमसिंह गिरीले नौलाखे तारा उदाए,... भन्दै उरालेको नेपालीत्वको भावलाई भूपि शेरचनले अल्झेछ क्यारे पछ्यौरी...बाट जवाफ दिएका थिए। त्यो जमाना गीतसंगीतको सिद्धान्त र प्रवृत्तिको खोजी गर्नेभन्दा त्यसमार्फत जागरण खोज्ने युग थियो। यही परम्पराको खोजीमा लागेका थापाले केआई सिंहलाई नेपाल आउन..., हरियो डाँडामाथि हलो जोत्ने ... तथा धुरुधुरु नरोऊ आमा... जस्ता भाखाहरू उराले। सिरीमा सिरी नि कान्छी... जस्ता लोकआधुनिक भाकामार्फत अगमसिंह र अम्बर गुरुङकालको दार्जिलिङको संगीतसित मैत्रीपूर्ण प्रतिस्पर्धाको सुरुवात गराउने स्रष्टा पनि रहे थापा। सेतुराम, मित्रसेन तथा मेलवादेवी आदिको संगीतको परम्परालाई धान्ने सर्जक पनि उनै माधवप्रसाद घिमिरे तथा धर्मराज हुन्। सबैका रोजाइमा पर्ने उनका गीतहरू लोकशैलीका उन्नत सिर्जना रहे।
लोकवाङ्मयका शिखर पुरुष थापाले पाँचै वर्षको उमेरमा मातृत्व गुमाए। सानैदेखि भजनकीर्तन, दोहोरी तथा चुड्कामा रमाउने उनी १९९६ सालमा विवाहपछि श्रीमती सावित्रीदेवीसित काठमाडौं छिरे। किशोरावस्थामा नै रउसे स्वभावका उनी गाउँमा मेलाबजारमा आउने नवयौवनासित रातभरि नाच्न पछि पर्दैनथे। मनका भावना निर्धक्क साट्थे तरुनीहरूसित। नेपाली सांस्कृतिक प्रमण्डलको सदस्य भई चीन भ्रमणमा जाँदा कल्कलाउँदा चिनियाँ परीहरूले गालामा म्वाइँ खाएको पनि उनी निर्धक्क सबैसित बताउँथे। एउटा खुल्ला किताब झैं लाग्ने उनले लोकसाहित्यको पत्रिका डाँफे चरी निकाले जो लोकवाङ्मयको अनुपम सामग्री मानिन्छ। गोरखापत्रमा केही समय काम पनि गरे उनले। माधवप्रसाद घिमिरे तथा केदारमान व्यथित आदिसितको हिमचिमले साहित्यिक चेत थप निखारिँदै गयो उनको। डा. सिंहको समर्थनमा लेखिएको क्रान्तिकारी हे वीर केआई सिंह कहाँ गयौं... सडक र गल्लीहरूमा गाउँदै हिँड्दा उनले एक महिना जेलजीवन पनि बिताउनु परेको थियो।
जीवनकालमा तीन दर्जन जति कृति पस्किए थापाले जसमध्ये मंगली कुसुमले मदन पुरस्कार पाएको छ। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सहसदस्यसमेत रहेका थापा लोकभाकामा जागरण गीत प्रस्तुत गर्ने देशदौडाहामा लामो समयसम्म रहे। कुमार बस्नेत, नारायणगोपाल गुरुवाचार्य तथा प्रेमप्रकाश मल्ल मधुकर आदिलाई गायनमा ल्याउन ठूलो सहयोग रहेको छ थापाको। साधारण किसानका सुपुत्र धर्मराज सरस्वतीका वरदपुत्र बने।
राजा महेन्द्रबाट २०१३ सालमा जनकविकेशरीको उपाधि र मासिक जीवनवृत्ति रु. एक सय पाएका उनले त्यो उपाधिलाई सदा शिरोधार्य गरे। गोरखापत्रपछि रेडियो नेपालमा जागिर खान पुगे थापा। २०११ सालमा आयोजित पहिलो राष्ट्रव्यापी कवि सम्मेलनमा प्रथम पुरस्कार पाएका उनी जगदम्बाश्री पुरस्कारका पनि हकदार बने। उनलाई गण्डकी रत्न सम्मान पनि प्राप्त भएको पाइन्छ। ग्रन्थस्तरमा २००३ सालमा रत्न जुरेलीको प्रकाशनबाट साहित्यमा पदार्पण गरेका थापाका तीन दर्जनका हाराहारीमा कृतिहरू प्रकाशित छन्। गीत तथा कविताबाहेक पनि अनुसन्धान र यात्रा संस्मरणका क्षेत्रमा पनि उनको दक्खल देखिन्छ। मरणोपरान्त प्रकाशित नौसिन्दाको जागिरमा उनका लोभलाग्दा संस्मरणहरू प्रकाशित छन्।
पाँचै वर्षमा आफ्नी आमा बित्नु र बाबुले अर्की आमा ल्याएपछि उनी भिर र वनपाखा डुलेर प्रकृतिसित मित्रताको हात बढाउन पुगे। यसको फलस्वरूप हुनुपर्छ उनी यात्राप्रिय हुनु। यही यात्राप्रियताले उनमा स्थलगत अनुसन्धानमा गर्विलो साथ दियो। उनले जातीय चिन्तनमा सांस्कृतिक जागरणको पनि उद्घाटन गरे। यसै प्रसंगमा सगरमाथाका प्रथम आरोही एडमन्ड हिलारी र तेन्जिङ शेर्पाको सम्मानमा उनले लेखे।
श्रम, इमान्दारिता र लगनशीलताको सम्मान उनका कविताहरूमा पाइन्छ भने युवावयमा रहेको क्रान्तिकारी रोमान्सवाद पछिल्लो कालखण्डमा ओझेल पर्दै गयो। किसानप्रति समर्पित उनको गीत हरियो डाँडामाथि हलो जोत्ने... आज पनि पुराना संगीतका पारखीहरूमाझ लोकप्रिय रहेको छ। आज मादल बजेको किन गाउँघर दुनियाँ.... उनको अर्काे युगान्तकारी गीत हो। साइलिरी मै चौरीगाई झर्यो रिमै मधुवनैमा..., आइपुग्यौं रेलैमा नौ बजे बेलैमा, देहरादुनैमा...जस्ता गीतहरू हाम्रो गीतसंगीतको परम्परा र पृष्ठभूमिका कोशेढुंगा हुन्। नेपालीभाषी भारतीय क्षेत्रको भ्रमणमा देहरादुन पुग्दा प्रस्तुत गरिएको आइपुग्यौं रेलैमा नौ बजे बेलैमा, देहरादुनैमा... बोलको गीतले त्यहाँका नेपालीहरूलाई जुरुक्कै उचालेको थियो। प्रकृतिप्रेम, जातीय उद्घोष र लोकसंस्कृतिको संवद्र्धनमा तिरी नसक्नु गुन लगाउने उनी छिन्नलता पुरस्कार गुठीलगायत दर्जनौं संस्थाबाट सम्मानित र पुरस्कृत छन् जो लोकजीवनका खुल्ला विश्वविद्यालय हुन्।
नेपालका सबै जिल्ला र भारतका भाक्सु, हिमाञ्चल प्रदेश, कालिम्पोङ, मणिपुर, देहरादुन, डुवर्स तथा डिब्रुगढ आदिमा सांस्कृतिक यात्रा उनले गरेका थिए। उनका कृतिहरू जति निस्किए ती सबै स्थलगत अनुसन्धानमा आधारित छन्। लोकसाहित्यलाई जनजीवनसित एकाकारिता र वैज्ञानिक रेखांकन गर्ने दम बोकेका थापा हरेक गीत र लोककविता मुखाग्र सुनाउँथे। राजा महेन्द्रले उनलाई रेडियो नेपालको लोकगीत प्रबन्धक बनाएर प्रतिभाको सार्थक कदर पनि गरेका हुन्। २०१५ सालको चुनावमा उनलाई निर्वाचन अफिसर बनाइएको थियो। यो अफिसरको भूमिका निभाउँदै देश दौडाहामा जाँदा पनि उनले आफ्ना लोकभाकाहरू जनतामा पस्किन चुकेनन्।
औसत नेपाली साहित्यकार र कलाकारहरूको भन्दा उनको आर्थिक जीवन सफल रह्यो। कवि कलाकारको अन्तर्य छाम्ने राजा महेन्द्रको पनि उनीप्रति सकारात्मक दृष्टिकोण रहको थियो। उनै महेन्द्रको आग्रहमा लैनसिंह बाङ्देल, हरिभक्त कटुवाल, अम्बर गुरुङ तथा धु्रवनाथ जोशीहरू नेपाल फर्किएका हुन् तर यसको परोक्ष योगदान आफूले प्रवासमा यायावर भई गाएको प्रवासी घामै लाग्यो घमाइलो लौ हेर नेपालमा... जस्ता गीतको पनि रहेको कुरा जीवनकालमा उनले अन्तर्वार्तामा बताएका थिए। युगीन परिस्थिति, परिघटना र पर्यावरणलाई लोकभाकामा उन्ने थापा २०७१ साल असोज २८ गते अनन्त यात्रामा प्रस्थान गरे। मासिक ११ रुपियाँ तलब पाउने गरी मोहनशमशेरले दिएको गुठी बन्दोवस्त कालमोचनमा नौसिन्दाको जागिर खाएका थापाको यो २०८० साल जन्मशताब्दी वर्ष हुन पुगेको छ।