... अनि गुड्यो रेल
महोत्तरी : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झन्डा हल्लाएपछि महोत्तरीको भंगहा स्टेसनबाट नेपालको एकमात्र रेल्वे भारतको जयनगरका लागि प्रस्थान गरेको थियो।
पूर्वनिर्धारित समयमा भंगहाको नवनिर्मित रेल्वे स्टेसन पुगेका मन्त्री ज्वालाले आइतबार दिउँसो १ः३० बजेको समयमा हरियो झन्डा देखाएपछि रेल्वे सेवा विधिवत् रूपमा शुभाराम्भ भएको हो।
यो सँगै नेपालको एक मात्र रेल्वे सेवाले थप १७ किलोमिटर सेवा विस्तार गरेको हो। भंगहासम्म सेवा विस्तार गर्न रेललाई नव दुल्ही झै सिंंगारिएको थियो। रेल्वे हेर्नका लागि स्थानीयको घुइँचो लागेको थियो। थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल्वे सेवा विस्तार भएको हो।
भारत सरकारको आर्थिक सहयोगमा रेल्वेको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएको हो। गत जेठ १८ गतेका दिन भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरिएको थियो। सुरुमा दुईपटक मात्र सेवा दिँदै आएको रेल्वे सेवा गत मंसिरको विवाहपञ्चमीको दिनदेखि दिनहुँ आउने जाने गरी चारपटक सञ्चालनमा दिँदै आएको थियो।
अब सोमबारदेखि दैनिक रूपमा दुवै रेल्वे तीनपटक आउने र जाने गरी ६ पटक सेवा दिने नेपाल रेल्वे विभागका महाप्रवन्धक निरञ्जन झाले बताए। भंगहा स्टेसनबाट मात्र दिनको दुईपटक अर्थात् साँझ र बिहान सेवा दिने भएको छ।
उद्घाटन समारोहमा मधेस प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री गोबिन्द न्यौपाने, भंगहा नगरपालिकाका मेयर सञ्जीव साह, भारतीय राजदूतावासका प्रतिनिधिलगायतको सहभागिता थियो। ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि कुर्थादेखि जयनगरसम्म सञ्चालनमा आएको थियो।