पुल जीर्ण, हिँड्न जोखिम

पुल जीर्ण, हिँड्न जोखिम
सुन्नुहोस्

गोरखा : वर्षौंअघि निर्माण भएको गोरखाको आरुपोखरी र आरुघाट जोड्ने र आरुपोखरी र तान्द्राङ सिमलाफेद जोड्ने झोलुंगेपुल जीर्ण भएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। आरुघाट गाउँपालिका–८ आरुपोखरीबाट आरुघाट बजार जाने टुहुरेस्थित स्तुल खोलाको पुल तथा आरुपोखरीबाट सिमलाफेद जोड्ने बेलौंतेभट्टीको पुल अति जीर्ण भएको स्थानीयबासीले बताएका छन्।

‘हाम्रो मुख्य बजार आरुघाट जाने झोलुंगेपुल अति जीर्ण भएको छ’, स्थानीय किसान बुद्धि तिमिल्सिना भन्छन्, ‘ठाउँ–ठाउँको फलेक कुहिएर झरिसकेको छ। कतै सालको बोक्रा ओछ्याएर काम चलाइएको छ, कतै उत्तिसको लाँक्रा ओछ्याइएको छ। ठूलाठूला प्वाल छन्। लठ्ठा समात्दै तर्नुपर्ने भएको छ।’ 

सो पुल साविक आरुपोखरी गाविसका ढाँडगाउँ, लामबगर, कौसिनी, आहाले, ढकालगाउँ, सुनारगाउँका बासिन्दाले उपभोग गर्ने गर्छन्। ‘दैनिक एक सय जनाभन्दा धेरैले यो पुल तर्छन्’, उनी भन्छन्, ‘हामी दूध बेच्न आरुघाट बजार जाँदा पनि यो पुल तर्नुपर्छ। हाइस्कुल पास गरेर ११, १२ पढ्न आरुघाट जाने विद्यार्थीले पनि यही पुल तर्नुपर्छ। लास बोकेर बूढीगण्डकी घाट जाने बाटो पनि यही हो। बिरामी बोकेर आरुघाट जाने बाटो पनि यही हो। यो पुल जोखिम हुँदा हामीलाई धेरै समस्या छ।’ ३०, ४० वर्षअघि निर्माण भएको सो पुल समय–समयमा मर्मत सम्भार नहुँदा जीर्ण भएको उनले बताए।

त्यस्तै, साविक आरुपोखरी गाविसको आहाले, कौसिनी, ढाँडगाउँ र साविक तान्द्राङ गाविसको सिमलाफेद र मजिनथोक गाउँका बासिन्दा वारपार गर्ने झोलुंगे पुल जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय गोविन्द खनाल बताउँछन्। ‘यताका किसानको खेतबारी उता पनि छ, उताका किसानको खेतबारी हाम्रोतिर पनि छ’, उनी भन्छन्, ‘किसानले घाँस–दाउरा ओसार्ने बाटो यही हो। दैनिक कम्तीमा पनि वारिका ५० र पारिका ४० घरका बासिन्दाले यो पुल तर्छन्। शिक्षक विद्यार्थी पनि यो पुल तरेर वारपार गर्छन्।’ हिउँदका बेला खोला तरेर आवतजावत गरे पनि बर्खाका बेला यो पुल तर्नुको विकल्प नरहेको उनले बताए। 

‘तर, पुल जीर्ण हुँदा अति जोखिम छ’, अर्का स्थानीय ठाकुर खनाल भन्छन्, ‘राजेश्वर देवकोटा राष्ट्रियसभाका सांसद हुँदा सांसदकोषको २५ हजार रुपैयाँमा थपथाप गरेर यो पुल बनाइएको हो। समय–समयमा मर्मतसम्भार नहुँदा पुल जोखिम भएको हो।’ चुनावका बेला सबै उम्मेदवारले यो पुल पुनर्निर्माण गर्ने आश्वास दिए पनि चुनाव सकिएपछि कसैले वास्ता नगर्ने उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.