म्याग्दीमा ५६ प्रतिशत पुँजीगत बजेट खर्च असारमा
बेनी : म्याग्दीमा आर्थिक वर्ष २०७९/०८० मा ७४.६५ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ८२.७७ प्रतिशत र प्रदेशको ६९.८० प्रतिशत बजेट खर्च भएको हो ।
पुजिगत शीर्षकमा दुईवटै सरकारका निकायको १ अर्ब ९ करोड १२ लाख ४३ हजार ८१४ रुपैयाँ बजेट विनियोजन भएकोमा ८१ करोड ४६ लाख २१ हजार ७०६ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । विकास योजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकमा बजेट विनियोजन हुनेगर्छ । म्याग्दीमा प्रदेशका १० र संघीय सरकारका ३० वटा कार्यालय छन् ।
कोलेनिकाका लेखापाल तथा सूचना अधिकारी भीष्म थापाका अनुसार पुँजीगत शीर्षकमा खर्च भएको मध्ये ५६.७२ प्रतिशत अथवा ४६ करोड २१ लख १७ हजार ९४२ रुपैयाँ असार महिनामा खर्च भएको हो ।
संघीयतर्फ पुँजीगत शीर्षकमा ४० करोड ७७ लाख ७२ हजार रुपैयाँ विनियोजन भएकोमा असार महिनामा २४ करोड २४ लाख ६१ हजार ९६२ रुपैयाँसहित कूल ३३ करोड ७५ लाख २३ हजार ६९ रुपैयाँ खर्च भएको छ । ८२.७७ प्रतिशत पुँजीगत बजेट खर्च गरेका संघीय कार्यालयहरुले आर्थिक वर्षको अन्तिम असार महिनामा मात्रै ७१.८३ प्रतिशत खर्च गरेका छन् ।
प्रदेशका कार्यालयमा पुँजीगत शीर्षकमा ६८ करोड ३४ लाख ७१ हजार ९१४ रुपैयाँ विनियोजन भएकोमा ४७ करोड ७० लाख ९८ हजार ६३७ रुपैयाँ खर्च भएको छ । खर्च भएको मध्ये ४६.०३ प्रतिशत् अथवा २१ करोड ९६ लाख ५५ हजार ९८० रुपैयाँ असार महिनाको हो ।
चालुतर्फ कूल ४ अर्ब १८ करोड ८५ लाख ३३ हजार ७३२ रुपैयाँ बिनियोजन भएकोमा ९२.४६ प्रतिशत अथवा कूल ३ अर्ब ८६ करोड ९१ लाख १९ हजार ९०० रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
संघीय र प्रदेशको चालु बजेटमा तलबभत्ता, प्रशासनिक खर्चका साथै स्थानीय तहलाई दिइने अनुदान समेत समेटिएको छ । समग्रमा म्याग्दीमा भित्रिएको कूल ५ अर्ब २७ करोड ५७ लाख ७७ हजार ५४६ रुपैयाँ बजेट मध्ये ८८.७७ प्रतिशत अथवा ४ अर्ब ६८ करोड ३७ लाख ४१ हजार ६०८ रुपैयाँ खर्च भएको छ ।
२०७८/०७९ मा पुँजीगत शीर्षकमा विनियोजन भएको मध्ये ७१.२३ प्रतिशत बजेट खर्च भएको थियो । त्यसअघिको वर्ष ६६ प्रतिशत खर्च भएको थियो । पुँजीगत खर्च राष्ट्रिय रुपमा भन्दा जिल्लाको अगाडि छ । संघीय सरकारको ५५ प्रतिशत र प्रदेश सरकारको ६६ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ ।
स्थानीय तहहरुले भएको खर्च विवरण र बचत भएको रकम फिर्ता गरी नसकेकाले यथार्थ खर्च विवरण प्राप्त हुन र समग्र जिल्लाको बजेट परिचालनको वास्तविक अवस्था पहिचान गर्न अझै केही दिन लाग्ने कोष तथा लेखा नियन्त्रक रामभक्त रानाभाटले बताए ।
पुँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृति सुधार नहुनु बजेट परिचालनको प्रमुख चुनौतिका रुपमा रहेको छ । म्याग्दीमा सबैभन्दा धेरै पुँजीगत बजेट भएको पूर्वाधार विकास कार्यालयको कूल ४३ करोड ६९ लाख १ हजार रुपैयाँमध्ये २७ करोड ७० लाख २६ हजार ७२९ रुपैयाँ खर्च भएको छ ।
पुँजीगततर्फ ३३ करोड १७ लाख ६२ हजार रुपैयाँ बजेट रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २८ करोड ४० लाख ३७ हजार ५७० रुपैयाँ खर्च गरेको छ । कूल १६ करोड ३६ लाख दश हजार रुपैयाँ पुँजीगत बजेट भएको खानेपानी जलस्रोत तथा सिचाइ विकास डिभिजन म्याग्दीले १२ करोड ८५ लाख ८० हजार ६ रुपैयाँ खर्च गरेको छ ।